सुन्तला बगैंचामा सीसी क्यामेरा !

दमौली — लटरम्म फलेको सुन्तला बगैंचा छ । टिपेर बजार लैजाने बेला हुन लाग्यो । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने खानीगाउँका ६७ वर्षीय सुकनारायण श्रेष्ठलाई यी सुन्तला कसरी जोगाउने भन्ने चिन्ता भयो । त्यसैले उनले जुक्ति निकाले, सुन्तला बगैंचामा सीसी क्यामेराको जडान । ‘रातिको समयमा चोरी हुने डर भयो,’ उनले भने, ‘त्यसैले सीसी क्यामेरा राखेको हुँ ।’

म्याग्दे–२ खानीगाउँ र उमाचोक सुन्तलाका पकेट क्षेत्र हुन् । यहाँका किसानले बर्सेनि सुन्तला बेचेर लाखौं आम्दानी गर्दै आएका छन् । सुन्तलाका अगुवा किसान श्रेष्ठले गत वर्ष मात्र ३१ लाख रुपैयाँमा सुन्तलाको बगानै बिक्री गरेका थिए । ४० रोपनी क्षेत्रफलका ७ सय बोटबाट बर्सेनि सुन्तला उत्पादन गर्दै आएको उनले बताए । ‘यस वर्ष लटरम्मै सुन्तला फलेको छ,’ उनले भने, ‘रातको समयमा चोरी हुन्छ कि भन्ने डरले बगानको निगरानीका लागि सीसी क्यामेरा जडान गरें ।’ ५० हजार रुपैयाँ खर्च गरेर बगानभित्र ३ वटा सीसी क्यामेरा जडान गरेको उनले सुनाए ।


बगान प्रवेशद्वार, बगान बीचमा र घर नजिकै सिसीक्यामरा जडान गरेका हुन उनले । दिनरात सिसी क्यामराबाट सुन्तलाको बगानको रेखदेख गर्छन् । यसले सुन्तला चोरी नहुनेमा ढुक्क छन् उनी । बगान ठूलो भएकाले सबैतिर रेखदेख गर्न आँखाले नभेटिने भन्दै यस्तो जुक्ती निकालेको उनले बताए । ‘जमानै प्रविधिको छ,’ उनले भने, ‘किन प्रयोग नगर्ने भनेर सिसी क्यामेरा जडान गरेको हुँ ।’


सुन्तला बगानको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेकाले नमुना प्रयोग भएको कृषिज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यो नमुना प्रयोग हो,’ उनले भने, ‘सुरक्षाको दृष्टिले पनि राम्रो छ ।’ सुन्तला बगान क्षेत्रमा मानव बस्ती छैन । बगान एकान्त ठाउँमा छ ।


सुन्तला चोरी नहोला भन्न सकिन्न । म्याग्देको खानीगाउँ, उमाचोक, गन्जरा, डुनडाँडा सुन्तलाका लागि उपयुक्त ठाउँ भएकाले सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी केन्द्रको छ ।


पकेट क्षेत्र हुनासाथ किसानलाई फाइदा हुन्छ । बीउबिजन, मलखाद, ढुवानीलगायत शीर्षकमा अनुदानको व्यवस्था छ । किसान आफैं अग्रसर हुनु आवश्यक रहेको उनले बताए ।

प्रकाशित : मंसिर २०, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?