जो बेलायत गएनन्

आश गुरुङ

(लमजुङ) — सन् १९३९ बाट विश्वयुद्ध भयो । विश्वयुद्ध हुनुअगावै बखानसिंह गुरुङ सन् १९३४ मा बेलायती सेनाको गोर्खाली समूहमा अनुबन्धित भइसकेका थिए । बेलायती गोर्खा सैनिकमा रहेर १५ वर्ष सेवा गरेका उनले विश्वयुद्धका ६ वर्ष गोला, बम र बारुदका साथ बहादुरीपूर्वक लडे । त्यसपछि बेलायतमै बसेर बेलायती सरकारको सेवा गरे । बेलायत सरकारले उनलाई गाँस, बास र कपासको व्यवस्था गर्‍यो । उनले पाउने पेन्सन छँदै छ । तर उनी बेलायत बसेनन् । आफ्नै गाउँघर फर्के । नेपाली गाउँघरमै बस्दै आएका १ सय ३ वर्षीय गुरुङको सोमबार मध्यरातमा आफ्नै घर मर्स्याङदी गाउँपालिका–७ ताङलीचोकमा निधन भएको छ । कान नसुन्ने समस्या रहेका उनी केही दिनयता बिरामी रहेको उनका नाति सरोजले बताए ।

जो बेलायत गएनन्

१९७३ कात्तिक ९ मा जन्मिएका बखानसिंहले बेलायती सेनाका १/६ जीआर पल्टनमा रहेर काम गरे । उनले मलाया (मलेसिया), बर्मा (म्यानमार), भारत, पाकिस्तान, सिंगापुरलगायत देशमा बेलायतका तर्फबाट लडेका थिए । बर्मामा उनले ‘बर्मा स्टार वार मेडल’ प्राप्त गरे । बेलायत सरकारले विश्वयुद्ध लडेबापत उनलाई विभिन्न सम्मान दियो ।


उनका अर्का नाति नन्दराजका अनुसार बखानसिंहले गाउँघरको सेवा गरे । आफ्नो जग्गा विद्यालयमा दान गरे । आएको पेन्सनले विद्यालयमा अक्षयकोष स्थापना गरे । ‘प्राय: बेलायती सेना बेलायतमै बसेका छन् । बाजे बेलायत बस्नुभएन । आफ्नै जन्मभूमिमा सास छाड्नुभयो,’ उनले भने ।


गाउँकै तराँचेस्थित महेन्द्रदेव माविका प्रधानाध्यापक सोमबहादुर भण्डारीका अनुसार बखानसिंह विद्यालयका वरिष्ठ आजीवन सदस्य र भूमिदाता हुन् । विद्यालयलाई उनले ११ आना २ पैसा २ दाम जग्गा प्रदान गरेका थिए । आर्थिक सहयोग पनि गर्दै आएका थिए । आफ्नो गाउँमा मात्रै नभएर मर्स्याङदी गाउँपालिका–६, नाइँचेस्थित नयाँ ज्योति आधारभूत विद्यालयमा १ लाख २२ हजार १ सय ११ रुपैयाँको ‘बखानसिंह अक्षय कोष’ स्थापना गरेको नन्दराजले जानकारी दिए ।


बखानसिंहका ५ भाइ छोरा र एकजना छोरी छन् । नातिनातिना मात्रै १३ जना छन् । पत्नी शिरकुमारीको भने ५ वर्षअघि निधन भइसकेको छ । बखानसिंहको निधनले गोर्खालीको जिउँदो इतिहासको अवसान भएको पूर्वसांसद जमिन्द्रमान घलेले बताए ।


प्रकाशित : मंसिर १८, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?