१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मापदण्ड मिच्ने क्रसर बन्द गरिँदै

प्रदेश सरकारले नगरभित्रका क्रसर उद्योगको मापदण्ड निश्चित गरी व्यवस्थित नगरेसम्मका लागि जमिन उत्खनन बन्द गरिएको छ
सम्झना रसाइली

(तनहुँ) — जिल्लाको शुक्लागण्डकी नगरपालिकामा सञ्चालन गरिएका मापदण्डविपरीतका क्रसर उद्योग बन्द गरिने भएको छ । नगरपालिकाले आयोजना गरेको नगर क्षेत्रभित्र सञ्चालित क्रसर उद्योग नियमन तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बन्द गर्ने तयारी भएको जनाइएको हो । 

मापदण्ड मिच्ने क्रसर बन्द गरिँदै

पटकपटक ताकेता गर्दा पनि क्रसर व्यवसायीले अटेर गर्दै आएको शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताए । उनले भने, ‘क्रसर व्यवसायीलाई पटकपटक मापदण्डभित्र रहेर उद्योग सञ्चालन गर्नु भन्दा पनि टेरिएन । उद्योगका कारण वातावरण दिनानुदिन प्रदूषित हुँदै गएको छ । अब मापदण्डभित्र रहेर क्रसर सञ्चालन नगर्ने हो भने उद्योग नै बन्द गरिदिनेछौं ।’


प्रमुख गुरुङले अहिले उत्खनन कार्य रोकेको बताए । प्रदेश सरकारले नगरभित्रका क्रसर उद्योगको मापदण्ड निश्चित गरेर व्यवस्थित नगरेसम्म जमिन उत्खनन कार्य बन्द भएको उनले जनाए । ‘उद्योग नै वैधानिक छैन भने हामीले उद्योगका लागि ढुङ्गा, गिटी, बालुवा उत्खननका लागि स्वीकृति दिन सकिन्न,’ उनले भने, ‘उद्योग स्थान्तरण गर्ने विषय पनि तत्कालै सम्भव छैन ।’ शुक्लागण्डकी–२, ५ र ७ वडामा सञ्चालित क्रसर उद्योगबाट निस्कने लेदोले सेती नदी प्रदूषित हुँदा जलचर प्राणी र वातावरणमा समेत प्रभाव परेको उनले बताए ।


शुक्लागण्डकीमा अहिलेसम्म १३ क्रसर सञ्चालनमा छन् । यी उद्योगले लेदो सीधै नदीमा मिसाउँदा सेती नदीमा सधैं वर्षायामजस्तो धमिलो पानी बग्ने गरेको छ । नदीमा भएको प्रदूषणले जलचर प्राणी हराउँदै गएकाले प्रदूषण न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । उनले भने, ‘क्रसर उद्योगका कारण नदी प्रदूषित हुनु, वातावरणमा असर पर्नुका साथै उद्योगमा प्रयोग हुने टिप्पर, ट्याक्टर निर्बाध रूपमा गुडाउँदा पृथ्वी राजमार्गको सडकखण्डमा खाल्डाखुल्डी हुने र दुर्घटना निम्त्याउने गरेको छ ।’ क्रसर उद्योग अवैधानिक रूपमा सञ्चालनमा आएको भन्दै नीतिगत रूपमा सञ्चालन गर्न क्रसर उद्योगीलाई उनले आग्रह गरे ।


यस्तै, क्रसर व्यवसायी देवबहादुर ज्वारचनले नगरको पहलमा उद्योग अन्यत्रै स्थान्तरण गर्न उद्योगी तयार रहेको बताए । उनले भने, ‘व्यावहारिक कानुन बनाएर सबै क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’ ज्वारचनले सेती नदीको प्रदूषण रोक्न उद्योगबाट निस्कने लेदो संकलन गर्न आवश्यक पर्ने ट्याङ्की निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउनुपर्ने माग गरेका थिए । ‘पटकपटक नगरपालिकाबाट प्रदूषण नियन्त्रणका कुरा आए तापनि प्रभावकारी भएको छैन,’ उनले भने, ‘प्रदेशको कानुन आउँदै छ भनेर हामीले नियन्त्रणका लागि ठूलो लगानी गरेनौं ।’


शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले वातावरणलाई प्रभाव नपर्ने गरी उपभोक्ताले सर्वसुलभ मूल्यमा उपभोग गर्न सक्ने र उद्योग पनि सञ्चालन हुने गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : मंसिर १८, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?