तिब्बतका मुख्यमन्त्री पोखरामा

गण्डकी — भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले गण्डकी प्रदेश र नेपाल सरकारको विशेष निमन्त्रणामा चीनको तिब्बत प्रदेशका जनसरकार प्रमुख (मुख्यमन्त्री) शीतला पोखरा आएका छन् । शीतलासहित १६ जनाको चिनियाँ टोली सोमबार पोखरा आएको हो ।

शीतलाले मंगलबार पोखराको सराङ्कोट पुगेर पाराग्लाइडिङको अवलोकन गरे । सराङ्कोटबाट हिमालको दृश्यालोकन गर्दै फेवातालको सुन्दरतामा रमाए । उनले डेढ घण्टासम्म फेवातालमा डुंगा सयर गरेका थिए । मुख्यमन्त्री शीतलालाई पोखराको लेकसाइडमा ढाकाटोपीले स्वागत गरिएको थियो ।


गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत र प्रदेशसभा सदस्य राजीव पहारीले स्वागत गर्दै पोखरा भ्रमणमा रमाएका हुन् । ‘हाम्रो निमन्त्रणा स्वीकार गरेर भ्रमण वर्ष मनाउनकै लागि नेपाल आउनुभएको हो,’ पहारीले भने, ‘सोही क्रममा पोखरा पनि आउनुभएको हो ।’ पहारीका अनुसार चीन र नेपालको दुई प्रदेश प्रमुखले मंगलबार साँझ भेटवार्तासमेत गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शीतलालाई गण्डकी प्रदेशका बारेमा जानकारी गराएका थिए । सोही क्रममा दुई प्रदेशबीचको मित्रता र सहकार्य कसरी गर्ने भन्ने विषयमा पनि छलफल चलेको पहारीले जानकारी दिए ।


भेटवार्ताको क्रममा शीतलाले दुई प्रदेशबीच सहकार्य गर्न आफू पनि इच्छुक रहेको बताएका छन् । उनले गण्डकीलाई आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित : मंसिर १८, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?