कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्तरिक पर्यटकको रोजाइ तालबाराही

(कास्की) — यतिबेला पर्यटकीय शहर पोखरा घुम्न आउनेको चाप बढ्दो छ । यहाँ आउने पर्यटकमा फेवाताल नपुग्ने सायदै होलान् । ताल जाने, डुंगा चढ्ने उनीहरूको एकमात्र चाहना हुन्छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न सकभर कसैले छुटाउँदैनन् ।

आन्तरिक पर्यटकको रोजाइ तालबाराही

प्राकृतिक सुन्दरता र सफा भएकाले बालकदेखि पाकासम्मको रोजाइमा पोखरा पर्ने गरेको छ । ‘पोखराको फेवातालमा घुम्ने रहर ५० वर्ष अघि देखिको हो, आज बल्ल पुरा भो,’ सुनसरीको इटहरीबाट आएकी ७२ वर्षीया कृष्णमाया विमली भन्छिन्, ‘घुम्न नपाउँदै मर्छु की भन्ने थियो । रहर पुरा भो खुसी छु ।’ उनले पोखराको सुन्दरताले यतै बसौबसौ लागेको बताइन् ।


जनकपुरदेखि आएकी विद्यार्थी रेजीना साहले पनि पोखरा साँच्चिकै रमाइलो अरहेको बताइन् । सुन्दा र सामाजिक सञ्जालमा देखेर साथीसँग घुम्न आएको उनले सुनाइन् । ‘घुमेको ठाउँ मध्य पहिलो नम्बरमा पोखरा राम्रो र रमाइलो लागेको छ,’ उनले भनिन्, ‘सफा र प्रकृतिक दृष्टिले पनि घुम्नलायक रहेछ ।’


त्यसो त विभिन्न काममा पोखरा आउने तालबाराहीको दर्शन गरेर मात्र फर्किने गर्छन् । आफन्तलाई भेट्न आएको मौकामा छिरिङ शेर्पाले फेवाताल घुम्न आएको बताइन् । उनी काठमाडौंबाट आएकी हुन् ।

‘अरूले पोखरा फेवातालको कुरा गर्दा निकै घुम्न रहर लागेको थियो,’ उनी भन्छिन्’, ‘घुमे पनि इच्छा पूरा भएको छैन, अर्को पटक आमा समूह लिएर आउने विचार गरेकी छु’ ।


विदेशीभन्दा पनि आन्तरिक पर्यटक वढी भएको र त्यसमा पनि विद्यार्थी धेरै आएको फेवा डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । नेपालीका अनुसार फेवातालमा ८ घाटका गरि ८ सयवटा डुंगा छन् । यतिबेला दैनिक ३ देखि ५ हजारसम्मको संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । तीमध्ये अधिकांश तालबाराहीको पूजामा सरिक हुन्छन् ।

प्रकाशित : मंसिर १७, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?