कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुइला नाका सञ्चालनमा ल्याइँदै

गण्डकी प्रदेश सरकारले नाकाका लागि बजेट विनियोजन गरी चिनियाँ सरकारसँग छलफल अघि बढाएको छ 
प्रतीक्षा काफ्ले

(गण्डकी) — गोरखासँग जोडिएको चीनको रुइला नाका सञ्चालनमा ल्याइने भएको छ । गण्डकी प्रदेश सरकारले यसबारेमा चिनियाँ सरकारसँग छलफल भइरहेको जनाएको छ ।

रुइला नाका सञ्चालनमा ल्याइँदै

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार चीनसँग जोडिएका सबै नाका खुलाउने योजनाअनुरूप सहकार्य भइरहेको हो । यसैक्रममा रुइला नाकाका लागि छुट्टै बजेटसमेत विनियोजन गरेको मुख्यमन्त्री गुरुङले बताए । गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले नाकाको अनुगमन गरेका छन् । गोरखाको हिमाली भेगमा बसोबास गर्ने स्थानीयलाई मध्यनजर राख्दै प्रदेश सरकारले रुइलालाई पनि सम्बोधन गरेको हो । रुइला नाका सञ्चालनका लागि सरकारले चालु आवमा २ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘यो नाका सञ्चालनमा ल्याउन नसक्दा यहाँका बासिन्दाले कहिलै विकासको अनुभूति गर्न सकेनन्,’ मन्त्री बस्नेतले भने, ‘जिल्ला सदरमुकाम आउन टाढा पर्छ । त्यति मात्र होइन असजिलो पनि छ । यसैले नाका खुलाउने प्रयासमा छौ ।’ उनले हिमाली भेगका जनताले रुइला नाकाबाट नै खाद्यान्न भित्र्याउने गरेको बताए ।


‘अन्य नाकाको तुलनामा रुइला नाका खुलाउन सजिलो भएता पनि अहिलेसम्म ओझेलमा परेको छ,’ उनले भने, ‘पहिलो पटक यो नाकाको सम्बोधन भएको छ । हामी अर्को आर्थिक वर्षसम्म यो नाका खुलाउने योजनाका साथ अघि बढेका छौं ।’ रुइला नाका अर्थात् भन्ज्याङबाट गोरखा सदरमुकाम १ सय ७५ किलोमिटर टाढा छ । नाकाको ३५ नम्बर पिलरसम्म चीनबाट बाटो आएको छ । उक्त सडक २ लेनको छ । सोही सडकसँग जोडेर ९ किलोमिटर नेपालतर्फ सडक खन्ने तयारीमा प्रदेश सरकार छ । रुइला पुग्न स्थानीयलाइ नै ४/५ दिन हिड्नुपर्ने अवस्था छ । संचार सेवा, मोटरेबल र झोलुङ्गे पुल निर्माण भएको छैन । खानेपानीको समस्या उस्तै छ । हिउँका कारण पाइपलाइन फुट्छन् । मर्मत सम्भारमा गाह्रो छ ।


दुई वर्षपछि निर्वाचन क्षेत्रमा

मन्त्री बस्नेत निर्वाचित भएको दुई वर्षपछि मात्र निर्वाचन क्षेत्र पुगेका छन् । गोरखाको क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित उनी रुइला नाका खोल्ने योजनासहित निर्वाचन क्षेत्र पुगेका हुन् । हिमाली क्षेत्र, यातायातको असुविधाले प्रायः उम्मेदवार भोट माग्नका लागि गोरखाको हिमाली क्षेत्रमा पुग्दैनन् । चुनावको समयमा भोट माग्नसमेत नपुगेको बताउँदै उनले फोनको भरमा भोट मागेर निर्वाचित भएको बताए । आफ्नै योजनामा प्रदेश सरकारले रुइला नाका खोल्ने योजना तय गरेको उनको दाबी छ ।


केहीअघि साता दिन उत्तरी गोरखाको हिमाली क्षेत्रमा बिताएका बस्नेतले साविकका ६ वटा गाविसमध्ये ३ मा मात्र घुमफिर गरेको बताए । ‘बाँकी ३ वटा साविकका गाविसमा पनि भ्रमण गर्ने र त्यहाँको वस्तु स्थितिबारे बुझ्ने योजना छ । सायद हिउँदपछि जान्छौ होला,’ उनले भने । चुनाव हुदाँ नगएका उनी चुनाव जितेको २ वर्षसम्म हिमाली क्षेत्र पुगेका थिएनन् ।


प्रकाशित : मंसिर १७, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?