कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिरोमा पुरिए ५ मजदुर, गाउँमा रुवाबासी

लालप्रसाद शर्मा

(पोखरा) — सडक स्तरोन्नतिका क्रममा माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर आइतबार ५ कामदारको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगर–२०, मौजास्थित बिसौनामा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जितबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी पुरिएका हुन् ।

पहिरोमा पुरिए ५ मजदुर, गाउँमा रुवाबासी

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनीहरू सबै सल्यान, बागचौर नगरपालिका–४ फेदीखोलाका हुन् ।


महानगरको कनेक्टिङ रोडअन्तर्गत मनिपाल–बिसौना–सिकलेस–मनाङ सडक खण्डको उक्त स्थानमा रिटेनिङ वाल बनाउने क्रममा पहिरो खसेको थियो । कास्कीमा उपनिर्वाचनका कारण शुक्रबार र शनिबार मजदुरलाई बिदा दिइएको थियो । रिटेनिङ वाल बनाउन दुई दिनअघि जग खनिएको थियो । आइतबार बिहान ७ मजदुर गएर सोइलिङको काम गर्न लागेको १० मिनेटमै माथिबाट ढिस्को खसेर पुरेको ठेकेदार कम्पनी रोयल/सनीदेव जेभीका इन्जिनियर सोवित केसीले बताए ।


बिहान ८ बजेर ५ मिनेटको समयमा ३० मिटर माथिबाट आएको पहिरोले उनीहरू पुरिएका थिए । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र सर्वसाधारणले करिब २ घण्टा लगाएर उनीहरूको शव निकालेका हुन् । इन्जिनियर केसीले ‘यसरी काम गर्नू है’ भनेर अर्कोपट्टि लाग्नासाथै पहिरो खसेको बताए । ‘एकैछिन त्यहीँ भएको भए म पनि पर्ने रहेछु,’ उनले भने । मजदुरद्वय खिमलाल बस्नेत र सुकबहादुर बस्नेत भने भाग्न सफल भए । खुट्टा मात्र माटोले चेपेकाले उनीहरू बचेको केसीले बताए ।


पाँचै जनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी प्रहरीको छ । पोखरा–२० का अध्यक्ष सीम गुरुङका अनुसार उक्त सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको छ ।


गाउँमा रुवाबासी

सल्यान– मजदुरीका लागि पोखरा पुगेका बागचौर नगरपालिका–४, शिवरथका पाँच जनाको मृत्युको खबरले पेदीखोला र सिमखोली गाउँ शोकमग्न भएका छन् ।


सडक निर्माणमा खटिएका मजदुरको आइतबार बिहान मृत्यु भएको थियो । खबर पाउनेबित्तिकै मृतकका परिवारजन अचेत रहेको स्थानीय हरिकिरण बस्नेतले बताए । ‘केहीलाई स्लाइन चढाइएको छ,’ उनले भने, ‘गाउँमा यति धेरै मान्छे एकैपटक मरेपछि सन्नाटा छाएको छ ।’ गाउँभरि रुवाबासी मच्चिएको उनले बताए । मजदुरी गर्न गाउँका सात जना गएका थिए । दुई जना घाइते छन् ।


जिल्ला सदरमुकामदेखि करिब १० कोस उत्तरमा अवस्थित पेदीखोला र सिमखोली गाउँका यी स्थानीय कात्तिक अन्तिम साता पोखरा पुगेका थिए । मृतकको पोस्टमार्टमका लागि परिवारका सदस्य पोखरा गएका छन् ।


उनीहरूको शव गाउँमा ल्याउन जिल्ला समन्वय समितिले सहयोग गर्ने समिति प्रमुख केशबहादुर विष्टले बताएका छन् ।


प्रकाशित : मंसिर १६, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?