१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुलको त्रुटि सच्याउँदै ठेकेदार

आश गुरुङ

(लमजुङ) — सवारी गुडिरहेको भोटेओडार–बेलघारी स्टील ट्रस ब्रिजमा प्राविधिक समस्या देखिएपछि त्यसलाई सच्याउन थालिएको छ । चार वर्षदेखि चलिरहेको पुलको ४ महिनाभित्र रेक्टिफिकेसन (त्रुटि सच्याउन) गर्न ठेकेदार सहमत भएका हुन् । 

पुलको त्रुटि सच्याउँदै ठेकेदार

पुल निर्माणकै क्रममा त्रुटि देखिए पनि नियमन निकाय तत्कालीन सडक डिभिजन कार्यालय दमौली र स्थानीय प्रशासनले चासो नदिएको स्थानीयको गुनासो छ । पुल निर्माण गर्ने ठेकेदार सम्पर्कबाहिर थिए । मन्त्री, सांसद, नेतालगायतले पटकपटक पुलमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई खबरदारी गर्दा पनि ठेकेदार फर्केका थिएनन् ।


डिभिजन सडक कार्यालयले भुक्तानी रोकेपछि ठेकेदार पुलको त्रुटि सच्याउन सहमत भएका हुन् । निर्माण सकेको भन्दै चार वर्षअघि नै ठेकेदारले भुक्तानी माग गरेके थिए । पुलमा प्राविधिक त्रुटि रहेको भन्दै दबाब दिइएपछि डिभिजन सडक कार्यालयले भुक्तानी रोकेको थियो । ‘हामीले खबरदारी गर्दै आयौं । सबै निकायमा पुग्यौं । बल्ल ठेकेदारले त्रुटि सच्याउने सम्झौता गरेको छ,’ नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले भने । उनका अनुसार ठेकेदारले शुक्रबारदेखि त्रुटि सच्याउने कार्य अघि बढाएको छ ।


नेकपा मुख्य सचेतक देवप्रसाद गुरुङ, गण्डकी सचेतक अधिकारीलगायतको रोहवरमा पुल निर्माण गर्ने प्यासिफिक निर्माण कम्पनीका प्रबन्ध निर्देशक ठाकुर कँडेलले प्रशासन, स्थानीय तह, डिभिजन सडक कार्यालयसँग ४ महिनामा त्रुटि सच्याउने गरी काम गर्न सम्झौता गरेका छन् । मंसिर १ देखि त्रुटि सच्याउने भनिएकोमा पुल मर्मतका बेला सवारीसाधन वारपार नहुने भन्दै स्थानीयले विरोध गरेका थिए । पहिले एप्रोच रोड र मर्स्याङ्दीमा डाइभर्सन बनाएर मात्रै पुलको काम गर्ने गरी कँडेलले बिहीबार सम्झौता गरेका छन् ।


महालक्ष्मी, आशिष, प्यासिफिक, माछापुच्छ्रे र उत्तम जेभीले २०६४ फागुन २ मा २ वर्षमा पुल निर्माण सक्ने भन्दै सडक कार्यालय दमौलीसँग सम्झौता गरेको थियो । ६० मिटर लम्बाइको पुल बनाउन निर्माण कम्पनीले ५ करोड ५४ लाख ९६ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । पुलको करिब ८० प्रतिशत सकिएका बेला पुल मर्स्याङ्दीमा खसेको थियो । म्याद थप गरी पुल निर्माणकै क्रममा २०६८ असार १ मा पुल भाँचिँदा २ जना कामदारको मृत्यु भएको थियो । त्यसपछि पुल उठाएर निर्माण सकेको भनी ठेकेदारले डिभिजन सडक कार्यालयमा रकम भुक्तानी मागेको थियो । पुल निर्माण गर्दा नयाँ सामग्री प्रयोग गर्नुपर्नेमा खसेको सामग्री मर्मत गरेर राखिएको थियो । निर्माण कम्पनीले पुल निर्माण सकेको दाबीसहित २०७२ जेठबाट काम छोडेको हो ।


कँडेलले चैत १५ भित्र पुलको त्रुटि सच्याउने काम सक्ने दाबी गरे । ‘पुल खस्यो । मेरो २ करोड घाटा लाग्यो । अब जति घाटा लाग्ला, म पुल बनाएरै छोड्छु,’ उनले भने । करिब ३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले बताए । समयमा पुल निर्माण नसकेपछि ठेकेदारलाई १० प्रतिशत हर्जाना तिर्न लगाएको डिभिजन सडक कार्यालय दमौलीका सिनियर डिभिजन इन्जिनियर विष्ण्ाुप्रसाद काफ्लेले बताए ।


उनका अनुसार पुल धान्न प्रयोग गरिएको २ वटा मेम्बर परिवर्तन गर्नुपर्ने देखिएको छ । यसका लागि मर्स्याङ्दीको भुइँ भागबाट नै स्ल्याबलाई उचाल्नुपर्ने हुन्छ । ‘१६ एमएमको फलामे पाता राख्नुपर्ने ठाउँमा १२ एमएमको राखिएको छ । १२ एमएमको राख्नुपर्ने ठाउँमा १६ एमएमको राखिएको छ,’ उनले भने, ‘यो झोलुंगे पुलजस्तै लट्ठाले धान्ने प्रकृतिको पुल हो । त्यसैले समस्या आयो ।’


प्रकाशित : मंसिर १५, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?