कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वाधार विकास साझेदारी : बढी बजेट मन्दिर–मस्जिदलाई

नवीन पौडेल

(परासी) — स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीबाट प्रतिनिधिसभाका सांसदले अधिकांश बजेट भौतिक निर्माणमा खर्च गर्ने भएका छन् । उनीहरूले मन्दिर, मस्जिददेखि सडक र भवन निर्माणमा बजेट विनियोजन गरेका छन् । गत वर्ष मठ–मन्दिर र भौतिक निर्माणमा धेरै खर्च गरेका थिए । यसपटक पनि निरन्तरता दिएका हुन् । दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा सांसदले १२ करोड रुपैयाँ सडक र भवन निर्माणका लागि विनियोजन गरेका छन् । 

जिल्लामा परामर्श समितिको स्थानीय तहको सिफारिसमा बजेट विनियोजन गर्नुपर्ने व्यवस्था छ । यहाँ सीधै सांसदको निर्देशनमा योजना तर्जुमा गरिएको छ । उनीहरूले भनेकै क्षेत्रमा बजेट खर्च गरिएको छ । क्षेत्र १ का सांसद एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले १८ वटा योजनामा बजेट बाँडफाँट गरेका छन् । जसमा ६० प्रतिशतभन्दा बढी रकम सडक निर्माणका लागि छुट्याइएको छ । जर्गाहादेखि बर्दघाट–२ सुखौरासम्मको सडक स्तरोन्नतिका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रतापपुर–५ बैदौली–श्रीरामपुर–प्रसौनी भन्सारसम्म सडक स्तरोन्नतिका लागि ५० लाख, प्रतापपुर–९, अठीलही पुलदेखि प्रतापपुर–२, सोनवर्षा सडक स्तरोन्नतिका लागि ५० लाख, सुस्ता–४, नर्सही पश्चिमदेखि नारायणी बाँधसम्म सडक स्तरोन्नतिका लागि ५० लाख, बर्दघाट–१४ गंगाबस्ती–कुकुरमारा वडा कार्यालयसम्म सडक स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


सरावल–६ वडा कार्यालयदेखि सडक स्तरोन्नति, सरावल–७, भुजहवा र भटबलिया टोलको आरसीसी बाटो निर्माण, सरावल–५, दुवौलिया चोकदेखि धनगढवा बाटो र ढल निर्माणलगायत योजना रहेको सांसद त्रिपाठीले बताए । सडकबाहेक विद्यालय, आमा समूह र सामुदायिक वनको भवन निर्माणमा खर्च गरिने भएको छ । यसैगरी क्षेत्र २ का सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले २९ योजना छनोट गरेका छन् । उनले सडकसँगै धार्मिक कार्यका लागि बजेट विनियोजन गरेका छन् । जिल्ला समन्वय समितिका अनुसार सरावल गाउँपालिकामा रहेको लोपोन्मुख कोलवृक्ष रहेको पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका लागि ७५ लाख र पाल्ही भगवती मन्दिरको भौतिक संरचना निर्माणका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ । रामग्राममा पर्ने काडर माई मन्दिर क्षेत्रका लागि १० लाख विनियोजन भएको छ ।


सडकतर्फ सरावल–३, हुलासी–जनकपुर सडक निर्माण तथा स्तरोन्नतिका लागि ५० लाख विनियोजन भएको छ । सुनवल–६, विसासय गाहा टोलबाटो स्तरोन्नति, रामग्राम–१७ स्थित गण्डकबाट विष्णुमार्ग आरसीसी ढलान, रामग्राम–१६, अमहवास्थित बाइपास सडकदेखि दक्षिण गाउँ जाने बाटो स्तरोन्नतिका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


परासीस्थित डा. विनोद निता कँडेल आँखा अस्पतालका लागि ५० लाख, सुक्रौली सामुदायिक सिकाइ केन्द्रको भवनलाई १० लाख, रामग्राम–१८ को रेडक्रस भवन निर्माण, रामग्राम–१५ को रामजानकी मन्दिर धर्मशाला निर्माण, सुनवल–१३ को गढ महावीर बौद्ध विहार क्षेत्रलाई, सुनवल–१२ को योग पतञ्जली शिविर भवन निर्माण, सुनवल–२ को ओमकारेश्वर शिवालय मन्दिरलाई र सुनवल–८ को विश्वकर्मा बाबा मन्दिरलाई १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ । पाल्हीनन्दन–२ स्थित गोरखनाथ मन्दिर, पाल्हीनन्दन–५ को भगतपुर कब्रिस्तान र पाल्हीनन्दन–१ को मस्जिदलाई पनि १०/१० लाख रुपैयाँ विनियोजन भएको छ ।


स्थानीय तहमा आएका विकासका माग, आफूले निर्वाचित हुँदा गरेका प्रतिबद्धता र आवश्यकताको मूल्यांकन गरेर बजेट विनियोजन गरेको सांसद कँडेलले बताए । आ–आफ्नो क्षेत्रका प्रतिनिधिसभा सदस्य संयोजक रहने परामर्श समितिमार्फत बजेट विनियोजन हुने गरेको छ ।


प्रकाशित : मंसिर १०, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?