कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपनिर्वाचन : शीर्ष नेताको लर्को

बागलुङ — मंसिर १४ मा हुने बागलुङ २ (ख) को उपनिर्वाचन मिति नजिकिँदै छ । प्रदेशसभा निर्वाचन भए पनि यहाँ आफ्नो पहिचान जोगाउने वा भत्काउने भन्ने राजनीतिक मुद्दाले ‘हेवीवेट’ नेताहरू आउने क्रम बढेको छ । 

उपनिर्वाचन : शीर्ष नेताको लर्को

मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच देखिन्छ । त्यसैले यी पार्टीका शीर्ष नेताहरू आउने क्रम सुरु भएको हो । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शनिबार बुर्तिबाङमा आएर राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मत मागे । संघीयताका लागि जीवनभर लडेका दाहालले पहिलोपल्ट संघीयताविरोधी दलको उम्मेदवारलाई मत मागेका हुन् । यहाँ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई नेकपाले समर्थन गरेर संयुक्त वाम उम्मेदवार बनाएको छ । शाहीको पक्षमा मत माग्न दाहाल गुल्मीको वामीटक्सारसम्म हेलिकोप्टरमा आएर मोटर चढेर बुर्तिबाङ पुगेका थिए ।


गत निर्वाचनमा नेकपाकै समर्थनमा निर्वाचन जितेको राजमोले योपल्ट पनि निरन्तरता दिने पक्षमा छ । कांग्रेस त्यो किल्ला भत्काउने दाउमा छ । सबै वाम मिलेकाले आफ्नो सुरक्षित ठान्ने राजमोविरुद्ध कांग्रेसले भने नेकपाको आन्तरिक कलहमा खेलेर जित्ने दाउ बनाएको छ । यहाँ आन्तरिक कलहले निर्वाचनको मुखमा नेकपाका दुई नेता पार्टीबाटै निष्कासित भएका छन् ।


दाहालले राजमो उम्मेदवारको पक्षमा मत मागे पनि संघीयता ल्याउन संघर्ष गरेको इतिहास भन्न छुटाएनन् । तर संघीयताविरोधी दलका उम्मेदवारलाई जिताउन आग्रह पनि गरे । उनले आफ्नो राजनीति थालनी गरेको नेकपा मसालको चुनावी मोर्चा भएकाले निकटता रहेको पनि भन्न छुटाएनन् । राजमो अध्यक्ष चित्रबहादुर केसी उपस्थित मञ्चमा उभिएर दाहालले केही एजेन्डा फरक भए पनि पार्टीको सबैभन्दा नजिकको मित्र भनेर सम्बोधन गरे । राजनीतिक रूपमा अगुवा र गुरु भएकाले उनले केसीको दललाई मत मागेको समेत छनक दिनेगरी भाषण गरे ।


कार्यक्रममा केसीले संघीयता नेपालमा टिक्नै नसक्ने दाबी गरे । राज्यको क्षमतासमेत नभएकाले घुमीफिरी एकात्मक राज्य प्रणालीमा आउनुपर्ने उनको भनाइ थियो । नेकपाकै समर्थनमा आफ्ना उम्मेदवार उठेकाले दलको विरोध भने गरेनन् । बरु उनले वामपन्थीहरू कहिले झगडा गर्ने, कहिले मिल्ने विशेषता बोकेको भन्दै नेकपाको बचाउ गरे । केसीले कांग्रेसविरुद्ध भने आक्रोश पोखे । लिपुलेकलगायतको नेपाली भूमि भारतले मिचेको जग्गा फिर्ता माग्ने विषयमा राष्ट्रिय एकता कायम भएकोमा दाहाल र केसीले विपक्षीको केही प्रशंसा गरे ।


दाहालले बुर्तिबाङ आएर विकासे नारा अगाडि सारेका छन् । उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण छिटो गर्न ऊर्जामन्त्रीसँग कुरा गर्ने, ढोरपाटन सालझन्डी सडक र मध्यपहाडी लोकमार्गको सबै खण्ड छिटो बनाउन पहल गर्ने उनले बताए । महासचिव विष्णु पौडेलले देशलाई आर्थिक समृद्धिमा नेकपाले मात्र लैजान सक्ने दाबी गरे ।


उता कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी सातादेखि निर्वाचन प्रचारमै बुर्तिबाङमा डेरा जमाएर बसेका छन् । उनले कहिले निसीखोला, कहिले तमानखोला र कहिले ढोरपाटनमा पुगेर कांग्रेस उम्मेदवार जित शेरचनलाई मत मागेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा संघीयताविरोधी दललाई मत दिन नहुने उनको मत छ ।


प्रकाशित : मंसिर ८, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?