कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हिउँ छिचोल्दै तिब्बती नाकामा

क्याङ–छिमी नाकासम्मको बाटो अध्ययनका लागि टोली सिमानामा पुगेको हो
आश गुरुङ

(लमजुङ) — मनाङको नार्पाभूमि गाउँपालिका ४ र ५ फु गाउँका बासिन्दा हिउँ र भीरपहरा छिचोल्दै नेपाल र तिब्बत (चीन) को सीमा पुगेका छन् ।
विकट फु गाउँबाट करिब १२ घण्टा लाग्ने बाटो २ दिन लगाएर उनीहरू सीमा क्षेत्र क्याङ–छिमी नाका पुगेका हुन् ।

हिउँ छिचोल्दै तिब्बती नाकामा

फुगाउँ पुग्न सदरमुकाम चामेबाट पैदल २ दिन लाग्छ । क्याङ–छिमी नाकासम्मको अध्ययन गर्न उनीहरूले नार्पाभूमि गाउँपालिकाका प्राविधिकलाई लिएर गएका थिए । ३८ वर्षअघि उक्त क्षेत्र हुँदै तिब्बती मेलामा गएर खाद्यान्न लिएर आएका फु गाउँका लाक्पा साम्डु लामा र पेम्पा तेन्जिङ गुरुङसहितको टोलीले नाकामा पुगेर फर्केका हुन् । लाक्पाका अनुसार क्याङ–छिमीबाट १ घन्टा हिँडेपछि पुगिने खुङ सुङना (तीन ठाउँबाट पानी आउने ठाउँ) क्षेत्रमा मेला लाग्थ्यो । ‘हामी चिनियाँ (तिब्बती) सँग मित लगाउँथ्यौं । मेलाको दिन तोकिन्थ्यो । चौंरी, भेडा, च्याङ्ग्रा लगेर गएका हामी नाका कटेर मेलासम्म पुग्थ्यौं । नुन र खाद्यान्नलगायत सामान साटफेर गरेर ल्याउँथ्यौं,’ उनले भने । लाक्पा र पेम्बाले पहिल्याएको बाटो हुँदै नार्पाभूमि–५ का वडाअध्यक्ष सोनाम तेजे लामा, ४ का अध्यक्ष छिरिङ डेन्डो घले, गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा योजना शाखा प्रमुख उज्ज्वल बाँस्तोला, सब–इन्जिनियर अमन दरैलगायत १२ र अन्य गाउँले गरी १६ जनाको टोली सीमाना पुगेको थियो ।


बास्तोलाका अनुसार क्याङ–छिमी नाका ५ हजार ८ सय मिटर उचाइमा रहेको छ । नाकाको नेपालतर्फ रत्नचुली, चख्खु र कराङजे पिक हिमाल रहेको छ । नार्पाभूमि–४ का अध्यक्ष छिरिङ डेन्डो घलेका अनुसार नेपालतर्फ हेर्दा अन्नपूर्ण पहिलो, दोस्रो र तेस्रो साथै मनास्लु हिमाल देखिएको थियो । चीनतर्फ एउटा हिमाल देखिएको थियो । ‘हामी क्याङ–छिमी नाकासम्मको बाटो अध्ययनका लागि गएका थियौं । हिउँ र भीरपहरा छिचोलेर नाका पुग्यौं । हिउँ भएको ठाउँबाहेक पूरै मरुभूमि छ । कुनै बुट्यान छैन,’ उनले भने, ‘चीन तिब्बततर्फ फाँटै फाँट देखिन्छ । अलि अप्ठेरो भनेको हामीतिरै रहेछ ।’ नेपालतर्फ धेरै पछि हिँडेको र मर्मत नगरिएकाले केही ठाउँमा बाटो अप्ठेरो रहेको उनले बताए । यात्राको क्रममा ठाउँठाउँमा टेन्ट टाँगेर बसेको उनले सुनाए ।


उनीहरूले नाका पहिल्याउँदै जाँदा पर्यटकले हिमाल चढ्न जाँदा प्रयोग गर्ने सावेल, क्रम्पन, डोरीलगायतका सहयोगी सामग्री लिएर गएका थिए । मनाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङको आर्थिक सहयोगमा टोली सीमा क्षेत्र पुगेर फर्केको हो । ‘एक घण्टा हिँडे तिब्बतको डाँडा–डाँडा पुगिँदो रहेछ । त्यो ठाउँमा तिब्बतीय बस्ने गोठहरू पनि छन् भन्ने हामीसँगै गएका बूढाहरूबाट सुनियो,’ उनले भने, ‘हाम्रो ठाउँ छोडेर उनीहरूको ठाउँमा जान साथीहरू केही आत्तिए । जान सकिएन ।’


सांसद गुरुङले तिब्बत जोड्ने नाका खुलाउने विषयमा आफू सकारात्मक भए पनि सरकारले नै पहल थाल्नुपर्ने बताए । यसबाट दीर्घकालीन फाइदा लिन सकिने उनले बताए । गाउँपालिकाका अधिकृत बाँस्तोलाका अनुसार केही ठाउँमा बाहेक नाका जान धेरै गाह्रो छैन । गोरेटो बाटोसमेत नरहेको अवस्थामा भने भिरालो ठाउँमा समस्या भएको उनले बताए । नेपालतर्फ उकालो १ दिनको बाटो खोङग्युर भीरसम्म गोरेटो र घोडेटो बाटो छ । यसका लागि तत्कालीन दुर्गम क्षेत्र विकास कार्यक्रम र तत्कालीन जिविस मनाङले सहयोग गरेको थियो । ‘गरेमा सम्भव नहुने केही छैन । नत्र तिब्बतबाट नुनतेल र खाद्यान्न ल्याएर यहाँका बासिन्दाले कसरी खाए होलान्,’ उनले भने । चिनियाँ प्रविधि भित्र्याएर सुरुङमार्फत र सुरुङबाहिरबाटै पनि सडक निर्माण गर्न सक्ने देखिएको उनले बताए । २०२८ सालपछि तत्कालीन राजा महेन्द्रको पालामा मनाङतर्फको बाटो नबनाएसम्म नार र फू क्षेत्रका स्थानीयले तिब्बतबाटै ल्याएका खाद्यान्न प्रयोग गर्ने गरेको स्थानीयले बताए । ४ हजार २ सय मिटरको नार र ४ हजार ५० मिटरको फु गाउँमा करु र आलुबाहेक अन्यको खेती हुँदैन ।


सन् २००३ बाट मात्रै पर्यटकका लागि खुला गरिएको नार र फु क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका छन् । नार्पाभूमि गाउँपालिका ५ का अध्यक्ष सोनाम तेजे लामाका अनुसार नार र फु पत्ता लाग्नुअघि स्थानीयले तिब्बतबाट घोडा–खच्चड, याक, चौंरीबाट खाद्यान्न आपूर्ति गर्दै आएका थिए । चीन र नेपाल सरकारले चाहेमा यो नाका खोल्न सकिने र अहिले पनि खाद्यान्न सामग्री ल्याउन सकिने उनले दाबी गरे । ‘यो नाका खुलेमा घोडा, खच्चड तथा याकचौंरीबाट सामान ल्याउन सकिन्छ । यसका लागि बाटो भने बनाउनुपर्छ,’ उनले भने, ‘दीर्घकालका लागि भने सुरुङ वा सडकमार्ग निर्माण गर्नुपर्छ ।’ क्याङ–छिमी नाका खुलेमा सिंगो मनाङ जिल्लामात्रै नभएर लमजुङ, गोरखा, धादिङ, कास्कीलगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।


मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार नार र फु गाउँबाट तिब्बत जान सकिने बाटाहरू रहेको जानकारी आएको छ । नार र फु क्षेत्र विदेशी नागरिकका लागि प्रतिबन्धित ठाउँ हो । यहाँ पुग्न छुट्टै खालको अनुमति चाहिन्छ । पर्यटकको सबै विवरण राखेर थप शुल्क लिएर मात्रै पर्यटकले उक्त ठाउँ जान पाउँछन् । तिब्बतबाट दलाई लामा लखेटिएपछि उनका अनुयायी तिब्बती खम्बाहरू विभिन्न समयमा मनाङ प्रवेश गरेका थिए । त्यसपछि उनीहरूलाई फर्कन नदिन तिब्बतले नाकामा कडाइ गरेको थियो । त्यसअघि नाकामा धेरै कडाइ नभएको स्थानीयले बताए ।

प्रकाशित : मंसिर ८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?