१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हम्पालमा पर्यटन पूर्वाधार बनाइँदै 

(पर्वत र तनहुँ) — पर्वतको जलजला–५ र ६ वडामा पर्ने हम्पाल क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउन पुर्वाधार निर्माण हुने भएको छ । गुरुयोजनामार्फत केबलकार, ताल, रिसोर्ट लगायत पुर्वाधार बनाउन गाउँपालिकाले पहल थालेको छ । 

हम्पालमा पर्यटन पूर्वाधार बनाइँदै 

धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण हम्पालमा पुर्वाधार निर्माणको सम्भाव्यता अध्ययन शुरु भइसकेको छ । जलजला–५ को मिलनचोकदेखि हम्पालसम्म केवुलकार, सिमसार क्षेत्र घोषणा, धार्मिक, पर्यटकिय र जैविक विविधताको अनुन्धान केन्द्र बनाउने नीतिअनुसार अध्ययन गरिँदै छ । त्यसका लागि गाउँपालिकाले प्राविधिक टोलीसहित स्थलगत अनुगमन गरेको छ ।


अनुगमनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, संघिय सांसद पदम गिरीलगायत सहभागी थिए । समुद्री सतहदेखि ३३ सय मिटर उचाइको हम्पाल क्षेत्रमा १२ सय वर्गमिटरको ताल र निलकण्ठेश्वर महादेव मन्दिरको पुन:निर्माण गर्ने योजना गाउँपालिकाले अघि सारेको छ । डिपिआर तयार गरि अर्को आर्थिक वर्षसम्म पूर्वाधार निर्माणको काम शुरु गर्ने अध्यक्ष यामबहादुर मल्लले बताए ।


हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिकाको वडा नम्बर ५ लेकफाँट र वडा नम्बर ६ सालिजासम्म फैलिएको छ । जलजलाबाट हिमश्रृंखला, सुर्योदय, सुर्यास्त र पहाडी भुगोल देख्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमालकासाथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्म अवलोकन गर्न सकिने स्थानीयको भनाइ छ ।


लालीगुराँसको जंगल रहेको हम्पालमा ठूलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाइने मल्लले बताए । अनुगमनका क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले लक्ष्यअनुसारका पुर्वाधार विकास गर्न सके धार्मिकमात्रै नभएर प्राकृतिक र जैविक विविधतामा समेत पर्यटक आकर्षित हुने बताए । ‘हम्पाल क्षेत्रको धेरै सम्भावना छ,’ उनले भने, ‘स्थानीय सरकारले पहल गरे संघ सरकारबाट बजेट छुट्याउन पहल गर्नेछु ।’ प्रदेशमन्त्री लम्सालले पुर्वाधार निर्माणमा सहयोग गर्ने बताए । चालुवर्ष गाउँपालिका, प्रदेश र संघीय सरकारले जलजलाका लागि २०/२० लाख रुपैयाँ बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।


छिम्केश्वरीमा होमस्टे

तनहुँको छिम्केश्वरी क्षेत्रमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसाथ होमस्टे (घरबास) व्यवस्थापन कार्यक्रम अघि बढाइएको छ । २ हजार १ सय ३४ मिटर उचाइको छिम्केश्वरी पहाडको काखमा आँबुखैरेनी गाउँपालिकाका २ वटा वडा छन् । गाउँपालिकाले छिम्केश्वरी मन्दिरको प्रवर्द्धन गर्दै तीनवटा गाउँमा होमस्टे सञ्चालनको तयारी गरेको छ ।


वैदेशिक रोजगारीका कारण युवापुस्ताबिहिन जस्तै बन्दै गएका ग्रामीण बस्तिलाई पुन: हराभरा बनाउन होमस्टे प्रवर्द्धनको कार्यक्रम अगाडि ल्याइएको आँवुखैरेनी–६ का वडाध्यक्ष सुनाराम गुरुङ बताउँछन् ।


गोरखाको मनकामना र अकलादेवीको जेठीे दिदीका रुपमा छिम्केश्वरीलाई पुज्ने गरिन्छ । आँबुखैरेनी–५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङ भन्छन्, ‘यो क्षेत्र धार्मिक हिसावले जति महत्वपूर्ण छ त्यसअनुसार विकास हुन सकेको छैन । अव होमस्टेका माध्ययमबाट प्रवर्धन हुने आशामा छौ ।’ वडा ५ को लाब्दी र भोटेश्वारमा छिम्केश्वरी सामुदायिक होमस्टे र वडा ६ मा हिलेर्खक सामुदायिक होमस्टे सञ्चालन गर्न लागिएको हो ।


व्यवस्थित होमस्टे सञ्चालन गर्न सके छिम्केश्वरी क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् । ‘हिलेखर्कमा १६, लाब्दी र भोटेश्वरामा १४ घरमा होमस्टे सञ्चालन हुनेछ । होमस्टेले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी, उजाडिएका गाउँबस्तिलाई हराभरा बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । हिलेखर्क सामुदायिक होमस्टेकी अध्यक्ष बाटुमाया गुरुङले आवश्यक पूर्वाधार विकासका लागि सम्वन्धित निकायसंग समन्वय गर्न लागिएको बताइन् । गाउँमै रोजगारी, संचार, शिक्षा, स्वास्थ्य तथा सुविधा ल्याउने उद्देश्य उनले सुनाइन् ।


छिम्केश्वरी सामुदायिक होमस्टेका अध्यक्ष देवीलाल गुरुङले आफ्नै ठाउँमा होमस्टे सञ्चालनपछि गाउँठाउँको प्रचारप्रसारसंगै स्थानीय बासिन्दालार्ई आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न मद्दत मिल्ने बताए ।

प्रकाशित : मंसिर ५, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?