१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

८ वर्षमा बल्ल बन्यो पुल

ढिलाइ गरेको झन्दै ठेकेदार जयबाबा निर्माण सेवालाई २८ लाख रपैयाँ जरिवाना

(लमजुङ) र (बागलुङ) — दुई वर्षमा सक्ने सम्झौता गरेर निर्माण थालिएको पुल ८ वर्षमा पूरा भएको छ । लमजुङको बेंसीसहर नगरपालिका–११ चितीको चित्रे र दोर्दी गाउँपालिका–४ नौथरको शेरा जोड्ने पुल बनेको हो । ६० मिटर लम्बाई र ६ मिटर चौडाइको उक्त पुल हस्तान्तरण हुन बाँकी छ ।

८ वर्षमा बल्ल बन्यो पुल

पुल निर्माण नसकिए पनि भदौदेखि सवारी साधन गुडाउन थालिएको थियो । पुल निर्माणपछि पनि दायाँबायाँ फिलिङ गर्न छाडिएकाले माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको सहयोगमा ढुंगामाटो भरेर सवारीसाधन चलाइएको स्थानीयले बताए । दोर्दीका अगुवा युवराज अधिकारीका अनुसार पुल समयमा नबन्दा स्थानीयले निकै दु:ख पाए । ‘बर्खायाममा खोलाले सवारी साधन डुबायो, मान्छे बगायो । २ वर्षमा सक्नुपर्ने पुल ८ वर्ष लाग्यो । विकासको अवस्था यस्तो छ,’ उनले भने ।


२०६८ चैतमा शिलान्यास गरिएको पुल ०७० असार मसान्तसम्म सक्ने गरी हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले सम्झौता गरेका थिए । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले लामो समयको पर्खाइपछि पुल निर्माण सकिएको बताए । ‘यतिका बर्षसम्म पुल कहिले बन्ला भनेर कुरियो । पुल बनेपछि मोटर कुदेका छन्’ उनले भने ।


माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका निर्देशक राजेन्द्र वस्तीका अनुसार ठेकेदारका कारण पुल निर्माणमा ढिलाइ भएको हो । ‘सरकारले पुल बनाइदिन्छ भनेर हामीले आयोजना निर्माण थाल्यौं । आयोजना सक्ने बेला बल्ल पुल बन्यो । ढुवानी असहज हुँदा जलविद्युत निर्माणमा ढिलाई भएर लागत बढ्यो’ उनले भने । डिभिजन सडक कार्यालय दमौलीका डिभिजन ईन्जिनियर विष्णुप्रसाद काफ्लेले पुल बने पनि हस्तान्तरणबारे निर्णय नभएको बताए ।


भ्याटबाहेक २ करोड ८० लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । पछिल्लो समय ठेक्का दिइएको जयबाबाले पुल ढलान गरेपछि बाँकी काम छाडेको थियो । पूल निर्माणमा ढिलाइ गरेको भन्दै सडक कार्यालयले कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गरेको छ । उक्त रकम २८ लाखजति हुन आउँछ । कार्यालयका अनुसार विलिङबाट उक्त रकम विस्तारै घटाउँदै लगिएको छ । ठेकेदारलाई भुक्तानी दिन बाँकी रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।


‘राजाका पुल’ धमाधम पक्की बन्दै

बागलुङ गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोटे राजाको दरबार पर्यटकको रोजाईमा पर्न थालेको छ । उक्त दरबार पुग्न मध्यपहाडी लोकमार्गको हटिया बजारदेखि ४ किमी उत्तर जानुपर्छ । हरिचौर पुग्न दरमखोला, गौदी खोला र खहरे खोला तर्नुपर्छ । तीनवटै स्थानमा पुल नभएपछि स्थानीयले सास्ती खेपेका थिए । दरबार पुग्न बनेका झोलुंगे पुललाई राजाको पुल भनिन्थ्यो । सडक मार्ग खुलेपछि सवारीसाधन लैजान चाहिने पक्की पुल थिएनन् । जोखिम मोलेर कहिले कच्ची पुलबाट, कहिले खोलाबाट सवारी तार्नुपर्ने त कहिले पैदलै जानुपर्ने बाध्यता थियो । अब भने ती पुल पक्की बन्दैछन् ।


गलकोट नगरपालिकाले प्रदेश सरकारको साझेदारीमा पुल बनाउन थालेको हो । हाल गौंदीखोला र दरमखोलामा काम थालिएको छ । ताराखोलादेखि हरिचौर आउने सडकमा पक्की पुल तयार भइसकेको छ । अन्य २ निर्माणाधीन छन् । खहरे खोलामा भने अझै पुल निर्माण सुरु भएको छैन । ‘पहिलो चरणको काम सकियो, दोस्रो चरणका दुई पुल बनिरहेका छन् । चालु बर्षभित्रै खहरेको पुलको पनि काम थाल्ने तयारीमा छौं,’ गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले भने, ‘साझेदार खोजेर काम गरिरहेका छौं ।’ महत्वपूर्ण पुल निर्माणमा संघिय सरकारको ध्यानाकर्षण गराइएको उनले बताए । ६ वर्षअघि तत्कालिन जिविसको लगानीमा दरमखोलामै हरिचौर बजारनजिकै अर्को पक्की पुल बनिसकेको छ ।


पुरानो सदरमुकाम र गलकोट दरबार हेर्न दैनिक १ सय जना पुग्छन् । यही बाटो भएर ताराखोलाको गाईघाट झरना हेर्न दैनिक २ सय जना जाने गरेका छन् । ताराखोला गाउँपालिकाबाट गलकोट हुँदै सदरमुकाम जाने मुख्य सडक पनि यही हो । त्यसैले खहरेमा तत्काल पुलको आवस्यकता भएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । ‘सानो लगानीले नहुने भएपछि केन्द्रीय तहमा माग भइरहेको छ’ उनले भने, ‘सडकको स्तरोन्नति र पुलका लागि प्रदेश सरकारको पनि सहयोगको आश्वासन मिलेको छ ।’ चालु वर्षदेखि नै काम थाल्ने गरी गण्डकी प्रदेश सरकारले गलकोट र ताराखोला समेट्ने चक्रपथका लागि हटिया, हरिचौर हुँदै ताराखोला जाने सडकमा ४ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बहुवर्षे योजनाअन्तर्गत ११ करोडमा यो सडक स्तरोन्नतिको काम हुने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।


गौंदी खोला पुल भने ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले ढलान गर्ने तयारी गरेको छ । साढे ३ करोड लागतको यो पुलको चारबर्ष अघि ठेक्का भएको थियो । दरमखोला पुल पनि निर्माणाधिन छ । ५९ करोड ७२ लाखमा बन्ने यो पुल आगामी असारसम्म सक्ने तयारी छ ।


प्रकाशित : मंसिर ५, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?