संग्रहालयमा पर्यटकको चाप

हरिराम उप्रेती

(गोरखा) — असोज लागेसँगै गोरखा संग्रहालयमा पर्यटकको चाप थेगिनसक्नु छ । पर्यटक बढेसँगै संग्रहालयले मंगलबार पनि खुला गर्ने निर्णय गरेको छ । अबदेखि सातामा सातै दिन खुल्ने भएको हो । 

कात्तिक ३० गते शनिबार एकै दिन २ हजार नौ सय ८६ पर्यटकले संग्रहालय प्रवेश गरेको सूचना अधिकारी सुनीता भडेलले बताइन् ।


पछिल्लो २ महिनामा २० हजार वढी पर्यटकले संग्रहालयको अवलोकन गरेका छन् । यो सिजनमा आन्तरिक पर्यटकको आवागमनमा वृद्घि भएको संग्रहालयको ठम्याइ छ । असोजको तुलनामा कात्तिकमा ४ गुणाले पर्यटक बढेका छन् । असोजमा ४ हजार ६ सय ५२ पर्यटक आएका थिए । कात्तिकमा यो संख्या बढेर १६ हजार ४० पुग्यो । यो शैक्षिक भ्रमणको सिजन भएकाले विद्यार्थीको संख्या उल्लेखनीय वृद्घि भएको हो । असोजमा ८ सय ३७ र कात्तिकमा ९ हजार ४ सय ३३ विद्यार्थीले संग्रहालयको अवलोकन गरेको भडेलले बताइन् । दैनिक ५ देखि २० विद्यालयका विद्यार्थी संग्रहालयमा आउने गरेका छन् ।


पर्यटकको चाप वढेपछि संग्रहालय प्रशासनले शैक्षिक भ्रमणको सिजन मानिने ३ महिना अव मंगलबार पनि संग्रहालय खुल्ला राख्ने निर्णय गरेको छ । यसअघि प्रत्येक मंगलबार प्रवेशद्वार पुग्दा पनि प्रवेश नपाएपछि पर्यटक आक्रोशित हुँदै फर्कन्थे । पुरातत्त्व विभागअन्तर्गतका संग्रहालयमा शनिबार नभई मंगलबार बिदा दिने प्रचलन छ । मंसिर, पुस र माघ महिनाका लागि मात्र यस्तो विशेष व्यवस्था मिलाइएको संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।


‘संग्रहालय घुम्ने टार्गेट बनाएर टाढा–टाढाबाट पर्यटक आएका हुन्छन्,’ उनले भने, ‘राजस्व पनि वृद्घि हुने, पर्यटक पनि खुसी हुने भएकाले यस्तो निर्णय गरेका हौँ ।’ अब साताभरि नै संग्रहालय खुल्ने उनले बताए । चालु वर्ष एक लाख पर्यटक भित्र्याउने लक्ष्य संग्रहालयको छ । तत्कालीन गोरखा राज्यको इतिहास बुझ्न आउनेका लागि यो लोकप्रिय गन्तव्य वनेको उनले बताए । संग्रहालय अवलोकन गर्नेमध्ये ४५ प्रतिशत विद्यार्थी हुन्छन् ।


संग्रहालयको १२ वटा कक्षमा ऐतिहासिक तथा जानकारीमूलक सामग्री राखिएका छन् । नेपाल एकीकरणमा प्रयोग भएका हातहतियार, भाँडाबर्तन, जातजातिको वेशभूषाअनुसारको डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक र बाजागाजा कक्ष छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाको जन्मकुण्डली कक्ष पनि यहाँ छ । धेरैजसो अवलोकनकर्ता हातहतियार ऐतिहासिक कक्षमा समय बिताउने गरेका छन् । तत्कालीन राजाको जन्मकुण्डली कक्षमा विद्यार्थी धेरै भुल्ने गरेका अधिकारीले बताए । अडियो भिजुल कक्ष पनि खुला भएको संग्रहालयले जनाएको छ । ‘यहाँ अवलोकन गरेपछि इतिहास संस्कृति र सामाजिक जीवन बुझ्न सजिलो हुन्छ,’ उनले भने । किताबमा पढेका कुरा प्रत्यक्ष देख्न पाइने भएकाले शैक्षिक भ्रमणमा गोरखा रोजेको झापाबाट आएका झलनाथ गौतमले बताए ।

प्रकाशित : मंसिर ४, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सांसद कोषका योजना सार्वजनिक

कान्तिपुर संवाददाता

म्याग्दी — संघीय तथा प्रदेशसभाका सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गतका योजना र बजेट सार्वजनिक गरेका छन् । पूर्वाधार कार्यक्रम तथा स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रम छनोट गर्दा संघीय सांसदको संयोजकत्वमा सम्बन्धित प्रदेशसभाका सांसद, जिल्ला समन्वय अधिकारी सदस्यसचिवले योजना छनोट गर्ने प्रावधान छ ।

संघीय सांसद भुपेन्द्रबहादुर थापाले विकास कार्यक्रम तथा सांसदमार्फत खर्च गरिने निर्वाचन क्षेत्र विकास कोषबाट अन्नपूर्ण, रघुगंगा र मंगला गाउँपालिकालाई ४/४ योजना सञ्चालन गर्न जनही ८५ लाख, मालिका र धौलागिरीलाई १/१ करोड र बेनी नगरपालिकाका ७ योजनाका लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेका छन् । सांसद थापाले १६ सडक, ३ खेलमैदान, १ संग्रहालय, सभाहल १ र अन्य ३ योजना छनोट गरेका छन् । ‘स्थानीय समुदाय र स्थानीय सरकारको मागका आधारमा योजना छनोट गरी बजेट बाँडफाँड गरेका छौं । गुपचुप र राजनीतिक आस्थाको आधारमा योजना छनोट हुँदैनन्/गरेका छैनौं,’ प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘राज्यको बजेट हामीमार्फत वितरण भएको मात्र हो । विकासमा राजनीतिकरण गर्नु हुँदैन ।’

गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री तथा म्याग्दीप्रदेश निर्वाचन क्षेत्र खकी सांसद नरदेवी पुनले मंगलामा १०, मालिकामा ७ र धौलागिरी गाउँपालिकाका ४ योजनामा जनही ६५ लाखका दरले बजेट विनियोजित गरेकी छन् । योजनामा अधिकांश सडक, विद्यालय, खेदमैदान र सामुदायिक भवन छन् ।

प्रदेश निर्वाचन क्षेत्र क का सांसद विनोद केसीले अन्नपूर्ण गाउँपालिकामा १० योजनामा ६४ लाख, रघुगंगामा ६० लाख र बेनी नगरपालिकामा ७६ लाख रुपैयाँ छुट्टयाएका छन् । केसीका योजनामा पनि सडकले पहिलो प्राथमिकता पाएको छ ।

प्रकाशित : मंसिर ४, २०७६ १०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×