पुल नहुँदा मुस्किल

कान्तिपुर संवाददाता

(लमजुङ) — स्थानीय तह गठनपछि क्व्होलासोंथर गाउँपालिकाको बस्ती–बस्तीमा मोटरबाटो पुग्यो । मोटर गुडाउन पुल भने बनेनन् । मिदिमखोलामा पुल नबन्दा क्व्होलासोंथरका धेरै बासिन्दालाई केन्द्र आउजाउमा समस्या छ । 

वर्षायाममा मिदिम खोला बढ्दा केही गाउँलेलाई पोखरा पुगेर दमौली भई बेंसीसहर घुमेर आफ्नै गाउँपालिका केन्द्र आउनुपर्छ । कर्मचारीलाई पनि आफ्नै गाउँपालिकामा सेवा दिन आउजाउ गर्दा समस्या छ । हिउँदमा खोलालाई फराकिलो पारेर बगाइएको छ । वारि र पारि कच्ची सडक छन् । सवारी साधन जबर्जस्ती गुडाइने गरिन्छ ।

वडा २, मालिङ र ७, घाम्राङ क्षेत्र साल्मेभञ्ज्याङबाट मिदिमखोलासम्म कच्ची सडक छ । मिदिमखोलामा पुल नहुँदा क्व्होलासोंथर गाउँपालिकाका अधिकांश स्थानीय तथा कर्मचारी अर्कै जिल्ला वा स्थानीय तहबाट बेंसीसहर हुँदै गाउँपालिका केन्द्र आउजाउ गर्न बाध्य छन् । मालिङको कार्यालय पुग्न क्व्होलासोंथर–५ सिङ्दी, ५ पसगाउँ, ७ भोंजे क्षेत्र, ७ घाम्राङ क्षेत्र र ९ गिलुङ क्षेत्रका स्थानीयलाई निकै सकस छ ।

घाम्राङबेंसीसका उमरजंग गुरुङका अनुसार मिदिमखोलामा पुल नहुँदा गाउँपालिका केन्द्र र बेंसीसहर आउजाउ गर्न समस्या छ । ‘पारिपट्टि (मालिङक्षेत्र) घर भएकाहरू गाउँपालिका कार्यालय पुग्न १ घण्टा पनि लाग्दैन । बर्खायाममा हामी (घाम्राङक्षेत्र) लाई भने बर्खायाममा भोर्लेटार निस्केर बेंसीसहर हुँदै गाउँपालिका केन्द्र पुग्दा १ दिन लाग्छ,’ उनले भने । क्व्होलासोंथर–६ का अध्यक्ष मनलाल गुरुङका अनुसार सवारी साधनबाट गएमा २ देखि ३ घण्टामा सजिलै गाउँपालिका कार्यालय पुग्न सकिन्छ । तर, पुल नहुँदा बर्खायाममा पोखराबाट घुमेर तनहुँ दमौली हुँदै बेंसीसहर भएर गाउँपालिका कार्यालय पुग्नुपर्छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले मिदिमखोलामा पुल नहुँदा विकास निर्माण प्रभावित भएको बताए । ‘विभिन्न योजना, कार्यक्रम लिएर गाउँ जानुपर्छ । बर्खायाममा पसगाउँ, सिङ्दी पुग्न पोखरा भएर जानुपर्छ,’ उनले भने । मध्यनेपाल र कास्कीको मादी ९ मुंग्रीबेंसी जोड्न रुदीखोलामाथि पुल नहुँदा लमजुङकै मध्यनेपालबाट पनि पसगाउँ–सिङ्दीका २ वडा जान गाह्रो हुने उनले बताए ।

‘मिदिमखोलामा पुलमात्रै हुने हो भने हाम्रा विकास निर्माणका काम अहिलेभन्दा छिटो हुन्छ,’ उनले भने । क्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले यस वर्ष पुल निर्माण सुरु हुने बताए । ‘अध्ययन, स्टेमेट, बजेट विनियोजन, टेन्डर गर्दा २ वर्ष लाग्यो । अब पुल निर्माण यसै वर्ष, सुरु हुन्छ,’ उनले भने, ‘सडक स्तरोन्नति पनि हुँदैछ ।’

पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीका अनुसार गण्डकी प्रदेश सरकारको ६ करोड रुपैयाँ लगानीमा आरसीसी पुल निर्माण हुन लागेको छ ।

प्रकाशित : मंसिर ४, २०७६ १०:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

समुदायकै लागतमा वडा भवन

कान्तिपुर संवाददाता

पर्सा — जिराभवानी गाउँपालिका वडा ३ को नयाँ कार्यालय भवन निर्माण भएको छ । सामुदायिक विकास कार्यक्रमले २ तले भवन निर्माण गरिदिएको हो ।

वडाध्यक्ष उमेशकुमार सिंहले जीर्ण भवनमा जेनतेन चलाउँदै आएकोमा पर्याप्त कोठासहितको आकर्षक भवन भएपछि सेवाग्राहीलाई सेवा दिन सहज हुने बताए । उनको वडामा २ तल्ले भवन निर्माण भएको छ । नेपाल तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको पहलमा ९१ लाख ७६ हजार रुपैयाँको लागतमा भूकम्प प्रतिरोधी ६ कोठे भवन निर्माण गरिदिएको हो ।

हालको वडा कार्यालय भवन पुरानो तथा जीर्ण भइसकेको छ । उक्त भवनको ३ मध्ये २ कोठा मात्र उपयोग गर्न मिल्नेछन् । २०७२ सालको भूकम्पपछि भवन झनै जीर्ण भएको वडाध्यक्ष सिंह बताउँछन् । ‘एक त कोठा नै अपुग थियो, त्यसमाथि भूकम्पपछि भवन नै प्रयोगयोग्य रहेन, जेनतेन काम चलाइआएका छौं,’ उनले भने, ‘जुनसुकै बेला पनि भवन क्षतिग्रस्त हुन सक्ने अवस्था छ ।’

कार्यक्रममा प्रमुख दीपक बोहरा वडा कार्यालय अत्यावश्यक देखेर नयाँ भवन निर्माण गरिदिएको बताउँछन् । ‘नयाँ भवन भूकम्प प्रतिरोधी छ र आधा दर्जन कोठा भएकाले तत्काललाई यो वडाको आवश्यकता पूर्ति गर्नेछ,’ उनले भने, ‘कार्यक्रमकको उद्देश्यनै भूकम्प प्रतिरोधी संरचनाको निर्माण गरी गरिब, विपन्न तथा सीमान्तकृत समुदायको सेवामा पहुँच बढाउने रहेको छ ।’ वडा कार्यालयका लागि कार्यक्रमले फर्निचरसमेत उपलब्ध गराएको उनले बताए ।

यसै वर्षको जनवरी महिनादेखि जिल्लाका जगरनाथपुर र जिराभवानी गरी २ वटा गाउँपालिकामा सञ्चालित कार्यक्रम नोभेम्बर महिनामा सम्पन्न हुँदै छ । वडा कार्यालय भवन पनि यसै महिनाभित्रै हस्तान्तरण गरिने उनले बताए । हाल भवनको रंगरोगन तथा झ्यालढोका निर्माणको अन्तिम चरणमा रहेको छ ।

प्रकाशित : मंसिर ४, २०७६ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×