सिंचाइ नहुँदा बाँझियो पकुवा

अगन्धर तिवारी

(पर्वत) — जनशक्ति नभएर खेतबारी बाँझिनु सामान्य भइसक्यो । आधुनिक प्रविधि, उपकरण, बीउ, मललगायत सुविधा भएर पनि सिंचाईको अभावमा कुश्मा नगरपालिकाभित्रकै उर्वरभूमि बाँझिन थालेको छ । 

कुश्मा–११ पकुवामा सिंचाइ अभावमा किसानले खेती गर्न पाएका छैनन् । अन्न, तरकारी र फलफुल खेतीको राम्रो सम्भावना भएको पकुवामा सिंचाइ सुविधा नहुँदा किसानले हिउंदे खेती गर्न पाएका छैनन् । आकासे पानीको भरमा वर्षामा धान रोपेका किसानले हिउँदे खेती लगाउन पाउँदैनन् । स्थानीय सीता रिमालका अनुसार वर्षौं पहिला बनेको पकुवा सिंचाइ नहर ठाउँठाउँमा भत्किएर जीर्ण भएर हिउँदमा खेती लगाउन नसकिएको हो । ‘वर्षामा पनि भल छोपेर धान रोप्ने हो,’ उनले भनिन्, ‘रोपेपछि आकाशको पानी नपरे रोप्नु मात्रै हुन्छ ।’ पकुवाको मुख्य खेती हुने फाँटसम्म आउने नहरमा समस्या भएको उनले बताइन् ।

फाँटदेखि करिब २ किलोमिटर नजिकको जहरेखोला वरिपरि व्यावसायिक तरकारी खेती गरेको देखेका किसान आफ्नो गाउँ टार भएर बाँझै हुँदा निराश छन् । खोलाकिनासमा सानातिना कुला निकालेर खेती गरेको भए पनि मुख्य फाँटमा पानी अभावकै कारण बाँझै भएको स्थानीय तोयानाथ रिमालले बताए । ‘खोलाकिनारको ओसेपमा कस्तो राम्रो खेती भएको छ,’ उनले भने, ‘पानी भए यो फाँटमा कस्तो फल्दो हो ।’ पकुवा सदरमुकाम कुश्मादेखि करिब ७ किलोमिटर टाढाको गाउँ हो । मध्यपहाडी लोकमार्गबाट करिब १० मिनेटमा पुग्न सकिने गाउँसम्म बाह्रै महिना यातायात सुविधा छ । सिंचाइ सहज भए गाउँमा उत्पादित सामान बजार पठाउन समस्या नभएको स्थानीय बताउँछन् । ‘तरकारी फलाए बिक्रीको समस्या छैन,’ स्थानीय गणेश पौडेलले भने, ‘घरघरै गाडी आउँछन् । आफैंले पनि सजिलै लैजान सकिन्छ ।’ बेमौसमी तरकारी फलाउन सके व्यापारी घरघरै आउने र मूल्य पनि राम्रो पाउने उनले बताए । सदरमुकामसहित पोखरा, बाग्लुङलगायत बजारसम्म उत्पादन सजिलै पुर्‍याउन सकिने भए पनि सिंचाइका कारण सबैतिर व्यावसायिक तरकारी उत्पादन सम्भव नभएको किसानले बताएका छन् । चार दशकअघि निर्माण गरिएको जहरे सिंचाइ योजना ६ वर्षअघिको वर्षा र पहिरोले धेरै ठाउँमा भत्किएको छ ।

अहिले नहरमा वर्षाका बेलासमेत पर्याप्त पानी ल्याउन नसकिएको किसानको गुनासो छ । हिउँदमा गहुँ, आलु, तोरी, फापरलगायत तरकारी उत्पादन गर्न सिंचाइको मुख्य समस्या रहेको रेशमलाल रिमालले बताए । सिंचाइ समस्या लिएर स्थानीय सरकारलाई धेरैपटक नहर मर्मतका लागि आग्रह गरिएको उनले बताए ।

कुश्मा नगरपालिकाले पकुवामा सिंचाइ सुविधा पुर्‍याउन नयाँ नहर निर्माणको योजना अघि सारिएको जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

स्नातकपछिको अध्ययनमा अन्योल

जिल्लामा उच्च शिक्षाको पहुँच नहुँदा विद्यार्थीले स्नातकोत्तरको पढाइ कहाँ गर्ने भन्ने अनिश्चित
अगन्धर तिवारी

पर्वत — सदरमुकाम कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको व्यवस्थापन संकायमा स्नातक चौथो वर्षकी उमा सिलवाललाई अबको पढाइबारे टुंगो छैन । जिल्लाभर स्नातकोत्तरको पढाइ नहुँदा विद्यार्थी बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा छन् ।

सिलवालसहित स्नातक गर्दै गरेका १ सय २१ विद्यार्थीको भविष्य अन्योलमा छ । गुप्तेश्रमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा गरी ३ सयको हाराहारीमा विद्यार्थी छन् । शिक्षा र व्यवस्थापन संकायमा स्नातकसम्म पढाइ हुने कुश्माकै अर्को शिवालय क्याम्पसमा २ सय ४७ विद्यार्थी छन् । गुप्तेश्वर २०४८ र शिवालय २०६७ मा स्थापना भएका क्याम्पस हुन् ।

फलेबासस्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पसमा डेढ सय विद्यार्थी छन् । क्याम्पस प्रमुख खिलप्रसाद शर्मा पौडेलका अनुसार व्यवस्थापन, शिक्षा र मानविकीमा स्नातक पढ्न बागलुङ र जैमिनी नगरपालिकासमेतका विद्यार्थी आउँछन् । यहाँका विद्यार्थी पनि माथिल्लो तहको योग्यताको खोजीमा महँगो शुल्क तिरेर बाहिर जान बाध्य छन् ।

‘जिल्लाकै पुरानो क्याम्पस भनेर के गर्नु,’ पौडेल भन्छन्, ‘स्नातकपछिको अध्ययन कहाँ सम्पन्न गर्ने भन्ने अन्योल सधैं हुन्छ ।’ ‘घरनजिकैको क्याम्पस पढ्दा धेरै सजिलो हुने तर उपल्लो तहको पढाइ नहुँदा बाहिर गएर पढ्न खर्च बढी लाग्ने विद्यार्थी रमेश क्षत्री बताउँछन् । उनी भन्छन्, ‘पढाइका लागि मात्रै घरबाहिर बस्नुपर्दा आम्दानी नहुने परिवारका विद्यार्थीको बीचमै पढाइ रोकिन्छ ।’ पढाइ खर्च नभएकै कारण आर्थिक भार थेग्न वैदेशिक रोजगारी रोज्ने गरेका धेरै उदाहरण भएको उनले बताए ।

क्याम्पस तहको ३५ वर्षको इतिहासमा जिल्लामा १२ स्नातक तहका क्याम्पस सञ्चालित छन् । कुश्मा र फलेबास नगरपालिकामा ३–३ क्याम्पस छन् । बिहादी गाउँपालिकामा २, पैयुँ, महाशिला, मोदी र जलजलामा एक/एक छन् । सबैले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् । ‘त्रिवि सेवा आयोगबाट ८/१० लाख सहयोग आउँछ,’ गुप्तेश्वर क्याम्पसका प्रमुख सुभाष पन्तले भने, ‘त्यतिले के गर्नु ।’ उनका अनुसार क्याम्पसको सञ्चालन खर्च वार्षिक करिब एक करोड छ । विद्यार्थीबाट करिब ५० लाख शुल्क संकलन हुन्छ ।

‘डिग्रीका कक्षा सञ्चालनका लागि पहल नभएको होइन,’ पन्त भन्छन्, ‘पूर्वाधारका हिसाबले हामी मजबुत छौं तर आर्थिक स्रोत मुख्य कुरा हो ।’ स्थानीय समुदाय, सञ्चालक समिति र राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण स्नातकोत्तर तहको अनुमति ल्याउन नसकिएको
उनी सुनाउँछन् ।

१२ क्याम्पसमा १७ सय हाराहारीमा स्नातक तहका विद्यार्थी छन् । यीमध्ये अधिकांश स्नातकोत्तर पढ्छन् । साथै बैंक, वित्तीय संस्था, सरकारी, गैरसरकारी संस्थाका कर्मचारी र शिक्षक स्नातकोत्तरका सम्भावित विद्यार्थी हुन् । जिल्लामा करिब ५ हजार शिक्षक, कर्मचारी छन् । तीमध्ये १० प्रतिशतले क्याम्पस भर्ना भएर पढ्दा पनि ५ सय विद्यार्थी हुने पन्त बताउँछन् ।

‘अहिले पनि धेरै वित्तीय संस्था र अरू कर्मचारीले स्नातकोत्तरको अध्ययनबारे जिज्ञासा राख्छन्,’ पन्तले भने । पर्वत क्याम्पसका प्रमुख खिलप्रसादले पछिल्लो समय लोकप्रिय बनेका कानुन, जनसम्पर्क, समाजशास्त्रलगायतका विषय पढाउन सके कर्मचारी, शिक्षक, सामाजिक कार्यकर्ता सबैका लागि उपयुक्त हुने बताए । शिवालय क्याम्पसका प्रमुख कमलनाथ शर्माले सदरमुकाममा स्नातकोत्तर तहको क्याम्पस सजिलै चल्ने बताउँछन् । ‘अहिले धेरै विद्यार्थी बागलुङ र पोखरा जान्छन्,’ शर्माले भने । नेतृत्व तहको अरुचिका कारण जिल्लामा उच्च शिक्षाको विकास हुन नसकेको उनको गुनासो छ । ‘अरू विकास बजेट लाखौं फ्रिज हुन्छ । क्याम्पसका लागि बजेट माग्दा कहिल्यै छ भन्दैनन् । राजनीतिक नेतृत्व साह्रै अनुदार देखिन्छ,’ उनले भने ।

२०४१ सालमा त्रिविबाट सम्बन्धन लिएर मानविकीमा प्रमाणपत्र तहको पढाइ सुरु भएको थियो पर्वत क्याम्पसमा । प्रमुख शर्माका अनुसार लगत्तै स्नातक तहको पढाइ थालिएको थियो । उच्च शिक्षाप्रति स्थानीय समुदायको चासो कम हुँदै गएकाले स्नातकोत्तरको पढाइको त कुरै छाडौं, अहिलेसम्म भएका संरचना पनि जोगाउन मुस्किल रहेको उनले बताए । संरचना बनाउन क्याम्पस प्रशासनले गरेको पहलमा कुनै क्षेत्रको साथ नपाएपछि भइरहेका संकाय धान्नसमेत मुस्किल भएको प्राध्यापकको गुनासो छ ।

कतैबाट सहयोग नआएकाले समस्या भएको वहाकी सामुदायिक क्याम्पसका प्रमुख एकनारायण भट्टराई बताउँछन् । ‘उच्च शिक्षाबारे चासो बटुल्न बृहत् अन्तरक्रियाको खाँचो छ,’ भट्टराई भन्छन्, ‘माध्यमिक तहसम्मको शिक्षाजस्तै क्याम्पस तहलाई पनि राज्यले चासो दिनुपर्छ ।’ ग्रामीण क्षेत्रका क्याम्पसले निम्न आय हुने र छोरीबुहारीका लागि राम्रो अवसर दिएको बिहादीका अगुवा हरि न्यौपाने बताउँछन् । ‘राम्रो पढाइकै खोजीमा धेरै बाहिरिएका छन्,’ न्यौपाने भन्छन्, ‘गाउँमा अवसर भए बाहिर पढ्न कसलाई रहर हुँदो हो ।’ ‘सामुदायिक क्याम्पसको मुख्य आम्दानी विद्यार्थीको शुल्क नै हो,’ शिवालय क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष गोविन्द पहाडी भन्छन्, ‘विद्यार्थी संख्या कम भएपछि सबै कुरामा समस्या हुन्छ ।’ हाल सञ्चालित क्याम्पसका विषयमा नै स्नातकोत्तर तहका कक्षा सञ्चालन भए क्याम्पस चलाउन समस्या नहुने उनको तर्क छ ।

गुप्तेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीका अनुसार ३ वर्षदेखि स्नातकोत्तरको कक्षा सञ्चालनको पहल भइरहेको छ । राजनीतिक नेतृत्वले चासो देखाए स्नातकोत्तर तहको क्याम्पस ठूलो विषय नभएको सरोकारवाला बताउँछन् । मानव विकास सूचकांकमा ११ औं स्थानमा रहेर पनि उच्च शिक्षामा अपेक्षित प्रगति नहुनु जिल्लाको चिन्ताको विषय भएको शैक्षिक अगुवा राजेन्द्र पहाडीले सुनाए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्नातकोत्तरको पढाइबारे जिल्लामा कतै बहस र माग नभएको बताए । ‘अरू धेरै विषयमा विचारविमर्श हुन्छन्,’ उनले भने, ‘यो विषयमा कतै बहस भएको छैन ।’

प्रकाशित : मंसिर १, २०७६ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×