स्याउ उत्पादनमा सरकारको चासो

कान्तिपुर संवाददाता

(गण्डकी) — हिमाली क्षेत्रमा स्याऊ उत्पादन बढाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले विभिन्न योजना अघि बढाएको छ । मनाङ र मुस्ताङ्मा स्याउ उत्पादन हुँदै आएकोमा सरकार गोरखाको उत्तरी क्षेत्रमा पनि विस्तार गर्ने योजनामा लागेको हो । 

ZenTravel

स्याउ जोन बनाउने उद्देश्यले प्रदेश सरकारले स्याउ विशेष कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ स्वीकृत गरेको हो । गत असोज २६ को मन्त्रिपरिषद् वैठकले कार्यविधि स्वीकृत गरेको थियो । गण्डकीमा स्याउको उत्पादन राम्रो हुने भएपछि सरकारले यसलाई योजनाबद्ध रुपमा काम गर्ने गरि कार्यविधि तयार पारेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार यसवर्ष साढे ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । उनले गतबर्ष गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा पनि स्याउखेती परीक्षण गरिएको बताए । उनका अनुसार गत वर्ष नै लगाइएका बिरुवाले फल दिएको र स्याउ उत्पादनका लागि उपयुक्त हावापानी र माटो देखिएपछि विस्तारमा लागिएको हो ।

Meroghar


प्रदेश सरकारले गोरखाकै धार्चे गाउँपालिकामा प्रत्येक घरमा २/२ वटाका दरले १४ सय बिरुवा वितरण गरेको थियो । इटलीबाट ल्याएको बिरुवा परीक्षणको रूपमा दिइएको हो ।

विदेशबाट वार्षिक ४ अरबको स्याउ आयात हुने भएकाले यसलाई रोक्न र नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको सरकारले जनाएकोछ । यसवर्ष ५० हजार उन्नत जातको विरुवा बाड्ने उनले बताए । प्रदेश सरकारले ७० प्रतिशत र ३० प्रतिशत किसानले बेहोर्नुपर्छ । बिरुवा गोरखामा बढी दिइनेछ साथै मनाङ र मुस्ताङमा वितरण हुनेछ ।

मुस्ताङमा गतवर्ष ५२ सय टन स्याउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन एकाइ कार्यालय मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिए । उनका अनुसार ५० करोडको कारोबार भएको थियो । ‘यस वर्ष स्याउ टिप्ने क्रम जारी छ,’ लम्सालले भने, ‘५० करोडभन्दा बढीको उत्पादन हुन्छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ ।’ हालसम्म १२ सय हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको छ भने ७ सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले मात्र उत्पादन दिने गरेको प्रमुख लम्साल बताउँछन् ।

यसैगरी मनाङमा पनि यस वर्ष स्याउ उत्पादन बढेको छ । स्याउ जोन मनाङका अनुसार गतवर्ष ९ सय १६ टन स्याउ उत्पादन भएको थियो । परियोजना प्रमुख राजेश्वर सिलवालका अनुसार स्याउको क्षेत्रफल बढेकाले उत्पादन पनि बढ्ने भएको हो । मनाङमा गत आर्थिक वर्षसम्म २ सय ७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । यसबर्ष करीब ४ हेक्टर बढेको छ । ८९ हेक्टर उत्पादनशील क्षेत्र रहेकामा यस वर्ष करिब ३ हेक्टर बढेको सिलवालले बताए । मनाङको जोनले १० हजार बिरुवा तयारी गरिसकेको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिजुली बल्दा चेपाङ दंग

कान्तिपुर संवाददाता

(लमजुङ) — उमेरले ४ दशक कटेकी सानुमाया चेपाङको मुहार हिजोआज हँसिलो देखिन्छ । किनकि उनका घरमा बत्ती (बिजुली) बलेको छ । ‘बिजुली बलेपछि के भयो के भयो, मन साह्रै रमायो,’ उनले भनिन्, ‘रातको समय पनि झिलिली हुँदो रहेछ ।’ 

आरती चेपाङ पनि बिजुली बलेपछि कम खुसी छैनन् । आँगनमा सानो सोलार प्लेट पनि छ । उनका अनुसार जोडेको ३ महिनामा विग्रिएको सोलार बनाउन कोही आएनन् । ‘मट्टीतेल किन्ने पैसा हुँदैन । सोलार विग्रियो । अहिले त विजुली आयो,’ उनले भनिन्, ‘अव ढुक्क भइयो ।’

पुस्तौंदेखि अन्धकार बेंसीसहर नगरपालिका–११ बरबोटफाँटको चेपाङबस्ती हिजोआज रातको समय विजुलीको झिलिमिली छ । ‘उज्यालो हुँदा मन खुसी हुँदोरहेछ । हामी रमायौं’ स्थानीय हिरामाया चेपाङले भनिन्, ‘पहिले टुकी बाल्थ्यौं । मट्टीतेल सकिने बेलामा अँध्यारो हुन्थ्यो । अहिले झिलिमिली छ । दिउँसो जस्तै राती पनि मान्छे राम्रोसंग चिनिन्छ ।’ सुरुमा विजुली बल्दा सात्तो गएको उनले सम्झिइन् । ‘विजुली बल्दा झिलिलि भयो । मत तर्सिएको’ उनले सुनाइन् ।

गाउँबाट केही पर ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत् परियोजना भएपनि उनीहरू विजुलीबाट बञ्चित थिए । घर छेवैबाट अन्यत्र ठाउँमा तार टाँगिएको थियो । तर, चेपाङगाउँमा बिजुली बलेको थिएन । स्थानीय हिरामाया चेपाङका अनुसार विजुली बलेपछि सवैलाई सहज भएको छ । ‘अहिले केटाकेटी पढ्न थालेका छन् । हामीलाई पनि क्या रमाइलो लागेको छ’ उनले भनिन् ।

स्थानीय अगुवा अमृता चेपाङका अनुसार विजुली बाल्न गएको जेठमा पोल गाढिएको थियो । आर्थिक हैसियत केही राम्रो हुने ३ घरले यसअघि नै मिटर बाकस जडान गरी बत्ती बालेका थिए । ७ घरमा भने बेंसीसहर नगरपालिकाको सहयोगमा मिटरबक्स र विजुली जडान गरिएको उनले बताइन् । ‘हामी धेरै समय अन्धकारमा बस्यौं । बल्ल बत्ती बलेको छ । घरको काम गर्न र नानीबाबु पढ्न सजिलो भएको छ,’ उनले भनिन् ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले चेपाङ बस्तीका घरघरमा मिटरबक्स दिइएको छ । पोल व्यवस्थापनको लागि १ लाख ३२ हजार रुपैयाँ दिइएको उनले बताए । ‘चेपाङ बस्ती अन्धकारमा रहेको थाहा पायौं । अन्धकारबाट उज्यालो प्रदान गर्न हामीले मिटर बक्सको व्यवस्था मिलायौं । अहिले अँध्यारो हटेर चेपाङ बस्तीमा उज्यालो छाएको छ,’ उनले भने ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×