बिजुली बल्दा चेपाङ दंग

कान्तिपुर संवाददाता

(लमजुङ) — उमेरले ४ दशक कटेकी सानुमाया चेपाङको मुहार हिजोआज हँसिलो देखिन्छ । किनकि उनका घरमा बत्ती (बिजुली) बलेको छ । ‘बिजुली बलेपछि के भयो के भयो, मन साह्रै रमायो,’ उनले भनिन्, ‘रातको समय पनि झिलिली हुँदो रहेछ ।’ 

आरती चेपाङ पनि बिजुली बलेपछि कम खुसी छैनन् । आँगनमा सानो सोलार प्लेट पनि छ । उनका अनुसार जोडेको ३ महिनामा विग्रिएको सोलार बनाउन कोही आएनन् । ‘मट्टीतेल किन्ने पैसा हुँदैन । सोलार विग्रियो । अहिले त विजुली आयो,’ उनले भनिन्, ‘अव ढुक्क भइयो ।’

पुस्तौंदेखि अन्धकार बेंसीसहर नगरपालिका–११ बरबोटफाँटको चेपाङबस्ती हिजोआज रातको समय विजुलीको झिलिमिली छ । ‘उज्यालो हुँदा मन खुसी हुँदोरहेछ । हामी रमायौं’ स्थानीय हिरामाया चेपाङले भनिन्, ‘पहिले टुकी बाल्थ्यौं । मट्टीतेल सकिने बेलामा अँध्यारो हुन्थ्यो । अहिले झिलिमिली छ । दिउँसो जस्तै राती पनि मान्छे राम्रोसंग चिनिन्छ ।’ सुरुमा विजुली बल्दा सात्तो गएको उनले सम्झिइन् । ‘विजुली बल्दा झिलिलि भयो । मत तर्सिएको’ उनले सुनाइन् ।

गाउँबाट केही पर ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत् परियोजना भएपनि उनीहरू विजुलीबाट बञ्चित थिए । घर छेवैबाट अन्यत्र ठाउँमा तार टाँगिएको थियो । तर, चेपाङगाउँमा बिजुली बलेको थिएन । स्थानीय हिरामाया चेपाङका अनुसार विजुली बलेपछि सवैलाई सहज भएको छ । ‘अहिले केटाकेटी पढ्न थालेका छन् । हामीलाई पनि क्या रमाइलो लागेको छ’ उनले भनिन् ।

स्थानीय अगुवा अमृता चेपाङका अनुसार विजुली बाल्न गएको जेठमा पोल गाढिएको थियो । आर्थिक हैसियत केही राम्रो हुने ३ घरले यसअघि नै मिटर बाकस जडान गरी बत्ती बालेका थिए । ७ घरमा भने बेंसीसहर नगरपालिकाको सहयोगमा मिटरबक्स र विजुली जडान गरिएको उनले बताइन् । ‘हामी धेरै समय अन्धकारमा बस्यौं । बल्ल बत्ती बलेको छ । घरको काम गर्न र नानीबाबु पढ्न सजिलो भएको छ,’ उनले भनिन् ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले चेपाङ बस्तीका घरघरमा मिटरबक्स दिइएको छ । पोल व्यवस्थापनको लागि १ लाख ३२ हजार रुपैयाँ दिइएको उनले बताए । ‘चेपाङ बस्ती अन्धकारमा रहेको थाहा पायौं । अन्धकारबाट उज्यालो प्रदान गर्न हामीले मिटर बक्सको व्यवस्था मिलायौं । अहिले अँध्यारो हटेर चेपाङ बस्तीमा उज्यालो छाएको छ,’ उनले भने ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चितुवाको बच्चो मृत फेला 

कान्तिपुर संवाददाता

तनहुँ — व्यास नगरपालिका–७ साखुलीमा चितुवाको बच्चो मृत अवस्थामा फेला परेको छ । साखुलीस्थित लोककल्याण सामुदायिक वन क्षेत्रमा सोमबार बिहान एउटा बच्चो मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । 

‘अन्दाजी २ वर्षको १० केजी तौलको चितुवाको बच्चो मृत अवस्थामा भेटिएको हो,’ प्रमुख बरालले भने, ‘पेट फुटेको र घाउचोट लागेको अवस्थामा चितुवाको बच्चो फेला परेको छ । बच्चालाई भाले चितुवाले मारेको हुन सक्छ ।’ उक्त बच्चालाई डिभिजन वन कार्यालयमा ल्याएर कम्पाउन्डभित्र गाडिएको छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×