नदी किनारमै उद्योग

नदी वा खोलाबाट ५ सय मिटर टाढा मात्र उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि ग्राभेल चाल्ने मेसिन किनारमै जडान 
हरिराम उप्रेती

(गोरखा) — गोरखा नगरपालिका–११ दरौदी नदी किनारमा नदीजन्य सामग्री ढुवानीमा सहजताको बहाना बनाउँदै मेसिन जडानका साथै चेनवाला एक्साभेटरको प्रयोग भएको छ । सम्बन्धित सरकारी कार्यालयलाई समेत जानकारी नदिई मेसिन जडान गरिएको हो । 

नदी किनारमै उद्योग

स्थानीय तह आफैंले बनाएको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) मा खोलामा मेसिनरी सामग्रीको प्रयोग गर्न नपाइने उल्लेख छ । गण्डकी प्रदेशको ढुंगा, गिटी, बालुवा उत्खनन, संकलन, त्रसिङ र बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र संचालनलाई ब्यवस्थित बनाउने कार्यविधिमा नदी वा खोला किनारबाट ५ सय मिटर टाढामात्र उद्योग संचालन गर्नुपर्ने उल्लेख छ । ढुंगा, गिटी, बालुवा, माटो, चट्टान, दहत्तर बहत्तर संकलन गरी टुक्र्याउने फुटाउने पेल्ने वा कम्तीमा एक तह प्रशोधन गर्ने मेसिन औजार जडान भए उद्योग सम्झनुपर्ने यसमा क्रसर फिरफिरे रिफाइनरी गर्ने उद्योग पर्ने प्रदेशको कार्यविधिमा भनिएको छ । तर यो क्षेत्रमा अनुमति बेगर ग्राभेल चाल्ने मेसिन नदी किनारमै जडान गरिएको हो । रिफाइनरी उद्योग चलाउन खोला किनारमा जेनेरेटर लगिएको छ । ग्राभेल चाल्नमात्र मेसिन प्रयोग गरिएको सो स्थलमा भेटिएका अनिल तामाङले बताए । कात्तिक ४ मा मेसिन जडान गरी १९ गतेबाट काम थालेको उनले बताए । ‘यसलाई ग्राभेल चाल्ने मेसिन भन्छ,’ उनले भने ।


पानीको वहाव दुइतिर वगेको सो क्षेत्रको विच भागमा गत आर्थिक वर्ष संकलित नदिजन्य सामग्रीको घाटगद्दी गरिएको छ । उक्त क्षेत्रमा मेसिन जडान र चेनवाला एक्साभेटरको प्रयोगको वारे कुनै जानकारी नआएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले बताइन् । ‘घाटगद्दी गर्दा नदी किनारबाट ५ सय मिटर पर गर्नुपर्छ,’ उनले भनिन्, ‘यस विषयमा प्राविधिक पठाएर बुझ्छौँ ।’ खोला किनारमा घाटगद्दी गरेर मेसिनको प्रयोग गर्न नमिल्ने प्राविधिक बताउँछन् । गत वर्ष संकलित सो ठाउको नदिजन्य सामग्रीको स्टक प्रमाणित भने गोरखा नगरपालिकाले गरेको छ । गत वर्ष संकलन भएको १९ हजार घनमिटर नदीजन्य सामग्रीको स्टक प्रमाणित गरिएको नगरपालिकाले जनाएको छ । खोला किनारमा उक्त मेसिन जडानको अनुमति दिनै नमिल्ने प्राविधिकले बताए ।


निर्माण सामाग्री ढुवानीमा सहजताको वाहाना वनाउँदै ठेकेदारले चेनवाला एक्साभेटर प्रयोग गरेपनि नियमन निकायले चासो नदिएको पाइएको छ । खोला किनारमा मेसिनको प्रयोग गर्न नमिल्ने भनिएको छ । आपतकालिन अवस्थामा अनुगमन तथा मूल्यांकन समितिको सिफारिसमा मात्र मेसिन औजारको प्रयोग गर्न मिल्ने उल्लेख छ ।


दिनदहाडै खोला किनारमा मेसिन चल्दा स्थानीय पनि असन्तुष्ट छन् । ‘मेसिन किन चलाएको भन्न जाउँ तेरो जग्गा हो र भन्ने जवाफ देलान्,’ स्थानीय पुर्णे कुमालले भने, ‘हामीले पनि केहि भन्न सकेका छैनौं ।’ मेसिन कसरी स्थापना भयो आफूहरू अनभिज्ञ रहेको उनले बताए । गत वर्ष जथाभावी मेसिन प्रयोग गर्दा नदीको स्वरुप बिग्रिएको उनको गुनासो छ । रातको समयमा टिपर र ट्याक्टरले खोलाबाट नदीजन्य सामग्री ओसार्ने स्थानीयको भनाइ छ ।

निर्माण सामग्री प्रशोधन गरेर ढुवानी गर्दा सहज हुने भएकाले केही दिनका लागि मात्र मेसिन जडान गरेको गणेश कुण्ड कन्स्ट्रक्सनका प्रतिनिधि सुरेश पाण्डेले बताए । अवुवा– विर्दि–सेरा सडक खण्डका लागि सो स्थलबाट ग्राभेल ढुवानी गरिएको उनले बताए । ‘लाने बेला नगरपालिकासँग सिफारिस लिन्छौँ,’ उनले भने, ‘बेच्न लागेका होइनौँ, कर तिरेर राखेको माल हो, सडकको कामका लागि ग्राभेल लान लागेका हौं ।’

प्रकाशित : मंसिर ३, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?