महिला उम्मेदवारका एउटै एजेण्डा

प्रतीक्षा काफ्ले

गण्डकी — आगामी मंसीर १४ मा मूलुकभर उपनिर्वाचन हुँदैछ । प्रतिनिधि सभाको निर्वाचन भने कास्की क्षेत्र नम्बर २ मामात्रै हो । संघीय संसदको उपनिर्वाचन भएकाले यतिबेला कास्की–२ मा सबैको ध्यान केन्द्रीत छ । 

उपनिर्वाचनमा यस क्षेत्रमा २१ उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा महिला उम्मेदवारको संख्या ५ छ । हेलिकप्टर दुर्घटनामा गत फागुनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएपछि निर्वाचन क्षेत्र खाली हुन पुगेको हो । उपनिर्वाचनका लागि मैदानमा होमिएका ५ महिला उम्मेदवारका एजेण्डा भने खासै फरक देखिदैनन् । उनीहरूले महिला अधिकारलाई प्राथमिकतामा राखेका छन् ।

नेकपा उम्मेदवारमा रविन्द्रपत्नी विद्या भट्टराई छिन् । उनले रविन्द्रको घोषण पत्रसँगै महिलाका केही एजेन्डा थपेकी छिन् । निर्वाचनपछि महिलाको सवालमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको उनले बताइन् । महिलालाई ज्ञान, सीप र नेतृत्वमा पुर्‍याउन आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता उनले जनाइन् । संविधानमा महिला अधिकार समेटिए पनि कार्यान्वयनमा भने समस्या रहेको बताउँदै उनले कार्यान्वयन पक्षलाई जोड दिने बताइन् ।

हरेक क्षेत्रमा महिला सहभागीता अनिवार्य गराउन पहल गर्ने उनले प्रतिवद्धता जनाइन् । त्यसैगरी साझा पार्टीबाट नेतृत्व गर्दै रजनी केसी उम्मेदवार बनेर चुनावी मैदानमा होमिएकी छन् । सामाजिक अभियन्तासमेत रहेकी केसी सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपाल परिवार नियोजन संघलगायतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनीमा दिएर राजनीतिमा सक्रियता बन्दै आएकी हुन् ।

केसीले सार्वजानिक गरेका एजेण्डा पनि अन्य महिला उम्मेदवारका भन्दा फरक छैनन् । उनको एजेण्डा पनि महिला अधिकारमै बढी केन्द्रीत छन् । महिलाको लागि धेरै कानुन समेटिएको भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन पक्षमा नै जोड दिनुपर्ने बताइन् । भन्छिन, ‘महिलालाई सीप सिकाउनुका साथै हरेक क्षेत्रको नेतृत्व लिने बनाउनुपर्छ । यसका लागि संविधानले दिएको अधिकार प्रयोग गर्न जरुरी छ ।’ उनले समान कामको समान ज्यालालाई पनि समेटेकी छन् । संघीय एजेण्डा नभई नीतिगत एजेण्डा लिएर जनतासमक्ष पुगेको बताउँदै केसीले हरेक क्षेत्रमा ३० प्रतिशत महिला सहभागी गराउन पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

त्यसैगरी, विवेकशील नेपाली दलकी उम्मेदवार जमुना शर्माले पनि महिला अधिकारका विषयमै जोड दिएकी छिन् । शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत थिइन् । समाज परिवर्तनका लागि महिलाको भूमिका महत्वपुर्ण रहेको बताउँदै उनले महिलाका कानुन कार्यान्वयन गर्न सकेमात्र परिवर्तन सम्भव रहेकाले यसमा आफ्नो पहल भइरहने बताइन् । उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी स्वतन्त्रबाट गंगा मल्ल र स्वतन्त्रमा लक्ष्मीकुमारी भुजेल पनि उम्मेदवार रहेका छन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाईघाट झरनामा पर्यटक बढ्दै

कान्तिपुर संवाददाता

बागलुङ — सदरमुकामदेखि ५ सय रुपैयाँ भाडा तिरेर शितल श्रेष्ठ ताराखोला गाउँपालिका–१ को गाईघाट झरना हेर्न पुगिन् । शनिवारको फुर्सद उनले दरमखोला र गाईघाट झरनामा बिताईन् ।

उनका साथीहरू निशा क्षेत्री, राहुल खड्का, निकेश खड्का सहितको टोलीनै गाईघाट झरना घुम्न पुगेका थिए । अहिलेसम्म चारपटक पुगेका उनीहरूले धेरै साथीलाई घुमाउन लगेका छन् ।

गुल्मीका नरहरी सुवेदीले पनि गाईघाट झरना घुम्न साथी लिएर आए । माईक्रोबस लिएर आएका उनीहरूले झरना हेरेर रमाए । ‘शनिवार वा बिदाको दिन पोखरा, बुटवल वा शहरी क्षेत्र घुम्न जानेलाई गतिलो गन्तव्य बनेको रहेछ,’ उनले भने, ‘हाम्रा प्राकृतिक दृश्यलाई व्यवस्थापन गर्न सकियो भने पाखो र जंगलमा पनि पैसा कमाउन सकिन्छ ।’ यो नमूना देखेर गैडाकोट नगरपालिकाको सिंगो टिमले आन्तरिक पर्यटकलाई गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको भ्रमणमा पठाउने प्रतिवद्धता जनाएको अध्यक्ष प्रकाश घर्तीले बताए ।

गलकोट नगरपालिकाको कार्यालयदेखि २० मिनेटमा जिपको यात्राबाट गाईघाट झरना पुगिन्छ । दुई पालिकको सिमानामा भएपनि ताराखोला–१ मा पर्ने भएकाले गाउँपालिकाले यसको व्यवस्थापन गरेको छ । ‘पहिला सामान्य झरना थियो, अहिले व्यवस्थापन गरेर आर्कषक बनाइएको छ,’ स्थानीय बालकुमारी क्षेत्रीले भनिन्, ‘पहरा र झरना हेर्न पनि पर्यटक आउने रहेछन् भन्ने थाहा भयो ।’ ताराखोलाले पहिलो पटक टिकट काटेर झरना हेर्ने व्यवस्था गरेको हो । दुई बर्ष अघिदेखि थालिएको यो अभियान चालु बर्ष ५० हजार रुपैयाँ राजश्व तिर्नेगरी स्थानीय अमरबहादुर नाइसाले ठेक्का लिएका छन् ।

३० रुपैयाँ टिकट काटेर यहाँ प्रवेश गर्न पाइन्छ । उनले ५ जनाभन्दा बढी आएमा १ जनालाई र १० जना बढी आएमा दुई जनालाई छुट दिने व्यवस्था पनि गरेका छन् । बिद्यालयको भ्रमण आएमा ५० प्रतिशत छुटमा प्रवेश दिन्छन् । सहकारी, आमा समूह जस्ताको भ्रमण आयो भनेपनि ३३ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको नाईसाले बताए । सामान्य दिनमा ५० जना, शनिवार २ सय र चाडपर्वमा ३ सयसम्म पर्यटक घुम्न आउने उनले जनाए ।

प्रकाशित : मंसिर २, २०७६ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT