गाईघाट झरनामा पर्यटक बढ्दै

कान्तिपुर संवाददाता

बागलुङ — सदरमुकामदेखि ५ सय रुपैयाँ भाडा तिरेर शितल श्रेष्ठ ताराखोला गाउँपालिका–१ को गाईघाट झरना हेर्न पुगिन् । शनिवारको फुर्सद उनले दरमखोला र गाईघाट झरनामा बिताईन् ।

उनका साथीहरू निशा क्षेत्री, राहुल खड्का, निकेश खड्का सहितको टोलीनै गाईघाट झरना घुम्न पुगेका थिए । अहिलेसम्म चारपटक पुगेका उनीहरूले धेरै साथीलाई घुमाउन लगेका छन् ।

गुल्मीका नरहरी सुवेदीले पनि गाईघाट झरना घुम्न साथी लिएर आए । माईक्रोबस लिएर आएका उनीहरूले झरना हेरेर रमाए । ‘शनिवार वा बिदाको दिन पोखरा, बुटवल वा शहरी क्षेत्र घुम्न जानेलाई गतिलो गन्तव्य बनेको रहेछ,’ उनले भने, ‘हाम्रा प्राकृतिक दृश्यलाई व्यवस्थापन गर्न सकियो भने पाखो र जंगलमा पनि पैसा कमाउन सकिन्छ ।’ यो नमूना देखेर गैडाकोट नगरपालिकाको सिंगो टिमले आन्तरिक पर्यटकलाई गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको भ्रमणमा पठाउने प्रतिवद्धता जनाएको अध्यक्ष प्रकाश घर्तीले बताए ।

गलकोट नगरपालिकाको कार्यालयदेखि २० मिनेटमा जिपको यात्राबाट गाईघाट झरना पुगिन्छ । दुई पालिकको सिमानामा भएपनि ताराखोला–१ मा पर्ने भएकाले गाउँपालिकाले यसको व्यवस्थापन गरेको छ । ‘पहिला सामान्य झरना थियो, अहिले व्यवस्थापन गरेर आर्कषक बनाइएको छ,’ स्थानीय बालकुमारी क्षेत्रीले भनिन्, ‘पहरा र झरना हेर्न पनि पर्यटक आउने रहेछन् भन्ने थाहा भयो ।’ ताराखोलाले पहिलो पटक टिकट काटेर झरना हेर्ने व्यवस्था गरेको हो । दुई बर्ष अघिदेखि थालिएको यो अभियान चालु बर्ष ५० हजार रुपैयाँ राजश्व तिर्नेगरी स्थानीय अमरबहादुर नाइसाले ठेक्का लिएका छन् ।

३० रुपैयाँ टिकट काटेर यहाँ प्रवेश गर्न पाइन्छ । उनले ५ जनाभन्दा बढी आएमा १ जनालाई र १० जना बढी आएमा दुई जनालाई छुट दिने व्यवस्था पनि गरेका छन् । बिद्यालयको भ्रमण आएमा ५० प्रतिशत छुटमा प्रवेश दिन्छन् । सहकारी, आमा समूह जस्ताको भ्रमण आयो भनेपनि ३३ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको नाईसाले बताए । सामान्य दिनमा ५० जना, शनिवार २ सय र चाडपर्वमा ३ सयसम्म पर्यटक घुम्न आउने उनले जनाए ।

प्रकाशित : मंसिर २, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गिलुङ चिनाउन जुटे गाउँले

आश गुरुङ

गिलुङ, लमजुङ — गिलुङका वासिन्दाले गाउँ चिनाउन पुरानो संस्कार, संस्कृतिको जगेर्ना गरे । गाउँमा मौलिक संस्कृति झल्कने घर बनाए । स्थानीय र पर्यटकको सहजताका लागि गाउँमा मोटरबाटो पुर्‍याए । त्यतिमात्रै होइन, घरघरमा धारा जोडे, शौचालय बनाए । पर्यटन प्रवर्द्धनकै लागि गीतमार्फत गाउँको प्रचारमा जुटे । गाउँ सरसफाईयुक्त बन्यो । देश विदेशमा बस्दै आएका र स्थानीयसमेत पर्यटन प्रवर्द्धनका कार्यक्रममा जुटे । 

यतिबेला गाउँमै सडक पुगेको छ । अव भने पर्यटकलाई सहज भएको छ । पोखरा, बेंसीसहर, काठमाडौं, चितवन जुनसकै ठाउँबाट पनि सवारी साधनबाट सिधै गिलुङ पुगिने वडाअध्यक्ष नन्दजंग गुरुङ बताउँछन् । ‘पहिले हिँडेर आउँदा टाढा लाग्थ्यो । अहिले गाडी चलेपछि बजारबाट नजिकै छ । पर्यटक आउनलाई सजिलो भएको छ,’ उनले भने ।

करीब ४० बर्षअघि पढ्न आएका डम्बर घलेले पछिल्लोपटक गिलुङमा विकासले गति लिएको बताए । पूर्व बेलायती सेनाका उनी आफ्नो गाउँ कास्कीको मादी गाउँपालिका–८ नाघिधारबाट ६ घण्टा लगाएर गिलुङ आएको सुनाए । ‘पर्यटन प्रवर्द्धन र विकासमा बेलायतमा रहेका स्थानीय निकै सक्रिय भएका छन् । गाउँमा आएर यहाँका सुखदुःख बुझ्नु ठुलो कुरा हो । आफ्नो गाउँठाउँलाई बिर्सन हुँदैन,’ उनले भने । पूर्वप्राज्ञ इन्द्रबहादुर गुरुङका अनुसार विकासमा पछिल्लो समय गिलुङले गति लिएको छ । ‘अहिले गाउँको विकास र पर्यटन प्रवर्द्धन गर्न देशविदेशका सवै एकजुट भएको देख्दा खुसी लागेको छ,’ ८५ वर्षीय उनले भने । उनका अनुसार गाउँ चिनाउन, पर्यटन प्रवर्द्धन र विकासमा सघाउन युवा बेलायतबाट फर्केका छन् ।

गाउँमा पर्यटन प्रवर्द्धन गर्न १२ बर्षअघि २०७४ चैतमा गिलुङ महोत्सव आयोजना गरेका थिए । ‘अहिले पर्यटन महोत्सवको रुपमा मनायौं’ गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आषिश) ले भने, ‘हामी जहाँ भए पनि गिलुङको विकासका लागि जुटेका छौं ।’ पर्यटन प्रवर्द्धन गर्न १५ घरमा होमस्टे संचालन गरिएको छ । गिलुङबासीले कार्तिक २९ र ३० मा गिलुङ पर्यटन महोत्सव मनाए । लोपुन्मुख सांस्कृतिक झाँकी र संस्कृतिले पाहुनाको मन जित्यो । स्थानीय पसबहादुर गुरुङका अनुसार महोत्सवमा सहभागिलाई स्थानीय परिकार खुवाइएको थियो ।

गिलुङबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमालदेखि डा. हर्क, मनास्लु, बौद्ध लगायत दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ । ४ सय घर भएको गिलुङ कास्कीसंग जोडिएको छ । स्थानीयवासिन्दा समेत रहेका तमु धीं युकेका सल्लाहकार मुछेत्र गुरुङले गाउँको विकासका लागि चहलपहल आवश्यक रहेको बताए । ‘हामीले महोत्सव गर्‍यौं । गाउँ र होमस्टेको प्रचारप्रसार थालेका छौं । हामी भौतिक पूर्वाधार पनि थप्दै लानेछौं’ उनले भने, ‘केही वर्षमै परिवर्तन हुनेछ ।’

प्रकाशित : मंसिर २, २०७६ ११:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×