गिलुङ चिनाउन जुटे गाउँले

आश गुरुङ

गिलुङ, लमजुङ — गिलुङका वासिन्दाले गाउँ चिनाउन पुरानो संस्कार, संस्कृतिको जगेर्ना गरे । गाउँमा मौलिक संस्कृति झल्कने घर बनाए । स्थानीय र पर्यटकको सहजताका लागि गाउँमा मोटरबाटो पुर्‍याए । त्यतिमात्रै होइन, घरघरमा धारा जोडे, शौचालय बनाए । पर्यटन प्रवर्द्धनकै लागि गीतमार्फत गाउँको प्रचारमा जुटे । गाउँ सरसफाईयुक्त बन्यो । देश विदेशमा बस्दै आएका र स्थानीयसमेत पर्यटन प्रवर्द्धनका कार्यक्रममा जुटे । 

गिलुङ चिनाउन जुटे गाउँले

यतिबेला गाउँमै सडक पुगेको छ । अव भने पर्यटकलाई सहज भएको छ । पोखरा, बेंसीसहर, काठमाडौं, चितवन जुनसकै ठाउँबाट पनि सवारी साधनबाट सिधै गिलुङ पुगिने वडाअध्यक्ष नन्दजंग गुरुङ बताउँछन् । ‘पहिले हिँडेर आउँदा टाढा लाग्थ्यो । अहिले गाडी चलेपछि बजारबाट नजिकै छ । पर्यटक आउनलाई सजिलो भएको छ,’ उनले भने ।


करीब ४० बर्षअघि पढ्न आएका डम्बर घलेले पछिल्लोपटक गिलुङमा विकासले गति लिएको बताए । पूर्व बेलायती सेनाका उनी आफ्नो गाउँ कास्कीको मादी गाउँपालिका–८ नाघिधारबाट ६ घण्टा लगाएर गिलुङ आएको सुनाए । ‘पर्यटन प्रवर्द्धन र विकासमा बेलायतमा रहेका स्थानीय निकै सक्रिय भएका छन् । गाउँमा आएर यहाँका सुखदुःख बुझ्नु ठुलो कुरा हो । आफ्नो गाउँठाउँलाई बिर्सन हुँदैन,’ उनले भने । पूर्वप्राज्ञ इन्द्रबहादुर गुरुङका अनुसार विकासमा पछिल्लो समय गिलुङले गति लिएको छ । ‘अहिले गाउँको विकास र पर्यटन प्रवर्द्धन गर्न देशविदेशका सवै एकजुट भएको देख्दा खुसी लागेको छ,’ ८५ वर्षीय उनले भने । उनका अनुसार गाउँ चिनाउन, पर्यटन प्रवर्द्धन र विकासमा सघाउन युवा बेलायतबाट फर्केका छन् ।


गाउँमा पर्यटन प्रवर्द्धन गर्न १२ बर्षअघि २०७४ चैतमा गिलुङ महोत्सव आयोजना गरेका थिए । ‘अहिले पर्यटन महोत्सवको रुपमा मनायौं’ गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आषिश) ले भने, ‘हामी जहाँ भए पनि गिलुङको विकासका लागि जुटेका छौं ।’ पर्यटन प्रवर्द्धन गर्न १५ घरमा होमस्टे संचालन गरिएको छ । गिलुङबासीले कार्तिक २९ र ३० मा गिलुङ पर्यटन महोत्सव मनाए । लोपुन्मुख सांस्कृतिक झाँकी र संस्कृतिले पाहुनाको मन जित्यो । स्थानीय पसबहादुर गुरुङका अनुसार महोत्सवमा सहभागिलाई स्थानीय परिकार खुवाइएको थियो ।


गिलुङबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमालदेखि डा. हर्क, मनास्लु, बौद्ध लगायत दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ । ४ सय घर भएको गिलुङ कास्कीसंग जोडिएको छ । स्थानीयवासिन्दा समेत रहेका तमु धीं युकेका सल्लाहकार मुछेत्र गुरुङले गाउँको विकासका लागि चहलपहल आवश्यक रहेको बताए । ‘हामीले महोत्सव गर्‍यौं । गाउँ र होमस्टेको प्रचारप्रसार थालेका छौं । हामी भौतिक पूर्वाधार पनि थप्दै लानेछौं’ उनले भने, ‘केही वर्षमै परिवर्तन हुनेछ ।’

प्रकाशित : मंसिर २, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?