१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डाँडापाखामा लक्जरी रिसोर्ट

फेवाताल वरिपरिका सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी, नौडाँडा र मट्टीखानलगायतका स्थन रिसोर्टको रोजाइमा
दीपक परियार

पोखरा — सूर्योदयदेखि सूर्यास्तसम्मको अवलोकन । हरेक कोठाबाट ताल, हिमाल र सहरको दृश्य एकैपल्ट देख्न पाइने । स्थानीय परिवेश, प्रकृति र परिकारमा रमाउन सकिने । खर्चालु पर्यटकको रोजाइमा पर्ने स्थान हुन्, डाँडा उक्लिएका रिसोर्ट । 

डाँडापाखामा लक्जरी रिसोर्ट

तिनै खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरा वरपरका डाँडाकाँडामा धमाधम रिसोर्ट खुलिरहेका छन् । फेवाताल वरिपरिका सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी, नौडाँडा रिसोर्टको रोजाइमा परेका छन् । अलि परको मट्टीखान, बेगनास, पचभैया, रूपाकोटमा समेत लक्जरी रिसोर्ट खुलिरहेका छन् । सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चर्चित गन्तव्य सराङकोटमा रिसोर्ट खोल्नेको लर्को छ । पोखराबाट नजिक रहेको र एकैस्थलबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, फेवाताल, पोखरा र हेम्जा बजारको दृश्य देखिने भएकाले पनि व्यवसायीको रोजाइमा सराङकोट परेको हो ।

सराङकोटमा खुलेको पहिलो रिसोर्ट हो, अन्नपूर्ण शेर्पा रिसोर्ट । १० वर्षअघि यो रिसोर्ट खुलेको हो । उक्त रिसोर्ट निर्माणपछि थपिने क्रम बढ्दो छ । पछिल्लोपल्ट यहीँ दसैंबाट सराङकोट माउन्टेन लज सञ्चालनमा आएको छ । व्यवसायीद्वय विप्लव पौडेल र नारायण पहारीले ३५ करोड रुपैयाँको लगानीमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । लेकसाइडबाट विन्ध्यवासिनी मन्दिर हुँदै १३.५ किलोमिटरको दूरीमा लज पुगिन्छ । ८ रोपनीमा फैलिएको रिसोर्टमा २ स्विट र २८ डिलक्स रुम छन् । ती सबै कोठामा बाल्कोनी छन् । जहाँबाट ताल, हिमाल, पोखरा, हेम्जा फाँट, जिप लाइन, प्याराग्लाइडिङ एकैपल्ट अवलोकन गर्न सकिन्छ । ८० जना क्षमताको सभाहल, रेस्टुरेन्ट, बार, स्पा, मसाजलगायत सुविधा होटलमा छन् । गाउँका घरको झल्को दिन काठ, ढुंगा र माटो प्रयोग गरिएको छ ।


पाँचतले होटलको छतमा छ इन्फिनिटी स्विमिङ पुल । स्विमिङ पुलमा हिमशृंखलाको छायाँ टल्किँदा मनोरम देखिन्छ । ‘अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिने गरी लक्जरी लज निर्माण गरेका हौं,’ वाराही ग्रुपका सञ्चालकसमेत रहेका पौडेलले भने, ‘लजको प्रमुख आकर्षण स्विमिङ पुल बनेको छ ।’ भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी लज सुरु गरेको उनले सुनाए । पर्यटन बोर्डका कार्यकारी सदस्यसमेत रहेका उनी रिसोर्टले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने देख्छन् ।


सिस्टम एन्ड डेभलपमेन्ट म्यानेजर प्रदीप न्यौपानेका अनुसार लजले आफ्नै बोरिङको पानी प्रयोग गर्छ । बोरिङबाट निकाएिकोमध्ये ७० प्रतिशत पानी लजले प्रयोग गर्छ । बाँकी ३० प्रतिशत पानी समुदायले उपभोग गर्छन् । लजमा ३२ कर्मचारी छन् । औपचारिक उद्घाटन गरिदाँसम्म ४५ पुग्नेछन् । ४० प्रतिशत कर्मचारी स्थानीय नै भएको न्यौपानेले बताए । भने, ‘हामीले स्थानीय सहकारीसँग सहकार्य गरेर यहीँको उत्पादनलाई प्राथमिकता दिएका छौं ।’ जंगल वाक, साइक्लिङ, बर्ड वाचिङलगायत गतिविधिबाट पर्यटकको बसाइ लम्ब्याउने लजको योजना छ ।


वाराही ग्रुपअन्तर्गत पोखराको लेकसाइडमा होटल वाराही र चितवनको मेघौलीमा वाराही जंगल लज सञ्चालनमा छ । काठमाडौंको कान्तिपथमा

पाँचतारे होटल वाराही प्लाजा सञ्चालनको अन्तिम तयारीमा छ । सराङकोटका माउन्टेन लजकै अर्का सञ्चालक नारायण पहारीले पुम्दीभुम्दीमा पुम्दीकोट माउन्टेन लज सञ्चालन गरेका छन् ।


सराङकोटमा रिसोर्ट खोल्ने प्रतिस्पर्धा नै चलेको छ । सराङकोटमा ५ वर्षदेखि पाँचतारे होटल अन्नपूर्ण भ्यु निर्माणाधीन छ । जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराको लगानीमा होटल बनेको हो । पहिलो चरणमा डेढ अर्ब लगानी हुने र ४६ कोठा सञ्चालनमा आउनेछन् । दोस्रो चरणको काम सम्पन्न भइसक्दा ३ अर्ब रुपैयाँ लगानी र कोठा ११० पुग्नेछन् । फेवाताल किनारबाट होटलसम्म पुग्न अन्नपूर्ण केबलकार बनिरहेको छ । केबलकारको निर्माण सम्पन्न हुने क्रममा छ ।


सराङकोटमै ४ वर्षअघि सञ्चालनमा आएको रिसोर्ट हो, हिमालय फ्रन्ट रिसोर्ट । चारतारे स्तरको यो रिसोर्टमा ५५ कोठा छन् । पाँच रोपनीमा फैलिएको रिसोर्टको हरेक कोठाबाट आँखैअघि हिमालको लस्कर, फेवाताल र पोखरा उपत्यका देखिन्छ । विन्ध्यवासिनी मन्दिरबाट सराङकोटबाट जम्मा ३ किलोमिटर माथि उक्लिएपछि रिसोर्ट बाटैमा भेटिन्छ । पर्यटन व्यवसायी कर्ण शाक्यको केजीएच ग्रुपले रिसोर्ट खोलेको हो ।


सराङकोटबाट अलिपर कास्कीकोटमा रिसोर्ट खुल्ने क्रम बढ्दो छ । नौडाँडामा ३३ रोपनीमा फैलिएको हिमालयन देउराली रिसोर्ट पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । रिसोर्टमा २४ कोठा छन् । तीमध्ये १२ डिलक्स र १२ सुपर डिलक्स हुन् । गुरुङ कला र संस्कृति झल्किने कटेज यो रिसोर्टमा छन् । पोखराबाट २० किलोमिटरको दूरीमा पर्ने रिसोर्टबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, फेवाताललगायतको दृश्य अवलोकन गर्न सकिन्छ । कास्कीकोटमा कोरियनको लगानीमा ईएस देउराली रिसोर्ट सञ्चालनमा छ । सिंगापुरका व्यवसायीको लगानीमा कास्कीकोटमै नयाँ रिसोर्ट बन्दै छ । शाहवंशीय राज्यको उत्पत्तिस्थल कास्कीकोटमा कश्यप ताललगायत ऐतिहासिक स्थल छन् ।


पुम्दीभुम्दीमा पुम्दीकोट माउन्टेन रिसोर्टभन्दा अघि खुलेको हो, रानवीवन रिट्रिट । विश्व शान्ति स्तुपाको माथिल्लो डाँडामा रहेको रिसोर्ट १३ रोपनीमा फैलिएको छ । रिसोर्टमा १० कोठा छन् । पुम्दीभुम्दीमै दि पेभिलियन हिमालयज रिसोर्ट सञ्चालनमा छ । फुस्रेखोलामा ६५ रोपनीमा बनेको रिसोर्ट खर्चिलो पर्यटकको रोजाइमा पर्छ । उक्त रिसोर्टले फेवाताल पारि टेन्ट रिसोर्ट पनि हालै सञ्चालनमा ल्याएको छ । कास्की र स्याङ्जाको सिमाना मट्टीखानमा मट्टीखान माउन्टेन भ्यु रिसोर्ट खुलेको छ ।


फेवातालपछि बेगनास र रूपाताल वरपरका डाँडामा रिसोर्ट खुल्ने क्रम बढ्दो छ । १० वर्षअघि बेगनास लेक रिसोर्ट खुलेपछि लगानीकर्ता त्यता आकर्षित भएका हुन् । रिसोर्टमा १६ भिल्ला र ४० कोठा छन् । २५ रोपनीमा फैलिएको रिसोर्ट तीनतारे स्तरको हो । काठमाडौं र पोखरामा तारे होटल चलाइरहेको सांग्रिला होटल एन्ड रिसोर्टले बेगनासस्थित पचभैयामा ‘द लस्ट होराइजन रिसोर्ट’ बनाइरहेको छ । ५ अर्बको लगानीमा बन्ने रिसोर्टले उच्चस्तरका पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।


रूपा गाउँपालिकामा बनेको रूपाकोट रिसोर्टले पर्यटक आकर्षित गरिरहेको छ । रिसोर्टमा १२ भिल्ला, ४२ डिलक्स कोठा छन् । २ सय रोपनीमा फैलिएको रिसोर्टबाट रूपाताल, बेगनास ताल र हिमशृंखला एकैपल्ट देख्न सकिन्छ । पोखरा–२८ कालिकामा टाइगर माउन्टे पोखरा लज दुई दशकअघि खुलेको हो । बेलायती राजकुमार चार्ल्सले पदयात्रा गरेको मार्ग ‘रोयल ट्रेक’ मा यो रिसोर्ट पर्छ । पोखरा–२९ भण्डारढिकको राधेराधे डाँडामा १९ करोड रुपैयाँ लगानीमा सेभेन लेक्स रिसोर्ट यसैवर्षदेखि सञ्चालनमा आएको छ । रिसोर्ट बनाउने उद्देश्यले व्यवासायीले डाँडामा जग्गा किनेर राख्ने गरेका छन् । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले बेगनासको पचभैयामा होटल खोल्ने उद्देश्यले जग्गा किनेर राखेका छन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?