१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर तिर्नेको लहर

बागलुङ — पोखरा पुगेर मात्र तिर्नुपर्ने बाध्यता हटेपछि कहरले कर तिर्नेहरू रहरले तिर्न थालेका छन् । जिल्लामा गत भदौदेखि आन्तरिक राजश्व कार्यालय खुलेपछि कर तिर्नेको लहर चलेको हो । 

कर तिर्नेको लहर

एकै वर्षमा करदाताको संख्या दोब्बर बढ्नुको साथै लक्ष्यको ४२ प्रतिशत बढी कर संकलन भएको छ । कार्यालय प्रमुख हेमराज सुवेदीका अनुसार बागलुङमा चालु वर्षको पहिलो चार महिनामा मात्र १२ हजार करदाता सूचिकृत भएका छन् । गत बर्षको भदौमा करदाता सेवा कार्यालयबाट बढुवा भएर आन्तरिक राजश्व कार्यालय बनेकोमा १८ हजार ३ सय संस्थागत करदाता छन् । त्यस्तै १९ हजार १ सय जना व्यक्तिगत प्यान नम्बर लिएर कर तिर्न लागेको उनले बताए ।


कर तिर्नेले पनि नजिकमा सेवा पाएको बताए । ‘प्यान नम्बर लिन र कर तिर्न पोखरा जानु पर्थ्यो, अहिले यहीं सेवा पाईयो,’ जैमिनी नगरपालिका–१ की पुष्पा आचार्यले भनिन्, ‘गाउँका साना करदाता समूह मिलाएर सदरमुकाम आउने गरेको छन् ।’ सेवाग्राहीमै जागरण आएपछि गत बर्ष ५१ करोड २४ लाख रुपैयाँ कर संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ४२ प्रतिशत बढी संकलन गरेको थियो ।


गत वर्ष ६८ करोड १८ लाख कर संकलन भएको थियो । चालु बर्ष उक्त करमा ४१ प्रतिशत वृद्धि गरेर ९६ करोड ५४ लाख संकलन गर्ने लक्ष्य राखिएको छ । ‘कर तिर्नुपर्छ भन्ने बुझाउन सकियो भने करदाता र करको दायरा आँफै बढ्ने रहेछ’ सुवेदीले भने, ‘चालु बर्षको पहिलो चार महिनामा पनि हामीले लक्ष्यको ५० प्रतिशत बढी कर संकलन गरिसकेका छौं ।’ चार महिनाका लागि राखिएको २४ करोड ५८ लाख करको लक्ष्यमा ३५ करोड ५ लाख संकलन भइसकेको उनले बताए ।


उत्कृष्ठ करदातालाई पुरस्कृत गर्ने, सबै स्थानीय तहमा उद्योग बाणिज्य संघको सहकार्यमा कर शिक्षा संचालन गर्ने र साझेदारीमा काम गर्ने अभियान चलाएपछि कर तिर्नेको लर्को लागेको कर अधिकृत सुन्दर श्रेष्ठले बताए । बागलुङ उद्योग बाणिज्य संघले कर्मचारी खटाएर करदातालाई फारम भर्न लगाउने र प्रक्रियाबारे बुझाउन थालेको छ । ‘कार्यालयबाट आग्रह भएपछि हेल्पडेक्स राखेर काम थालेका छौं,’ संघका अध्यक्ष युवराज राजभण्डारीले भने, ‘करदाता र व्यवसायीलाई यसले थप सहयोग मिलेको छ ।’

प्रकाशित : मंसिर २, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?