बडिगाडमा न्वागीको रौनक

बागलुङ — तीन सय वषअघिको चौबीसे राजाको पालादेखि चलेका परम्परा र सस्कृति संरक्षणमा स्थानीय जुटेका छन् । बडिगाड गाउँपालिकाको अगुवाइमा न्वागी पर्वलाई मेलाको रूपमा विकास गरिएको छ । स्थानीय पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समिति पर्वलाई संरक्षणमा लागिपरेको छ ।

बागलुङको ग्वालीचौर, भीमगिठे, दगातुम्डाँडा र जलजला, गुल्मीको पौंदी अमराई, नेटा दर्लिङ र इस्मासमेत मिलाएर संयुक्त न्वागी मेला आयोजना गरिएको हो । पुरानो राज्यभित्रका सबै क्षेत्र समावेश गरेर बाली भित्र्याउने र नयाँ धानको न्वागी खाने गरी मेला आयोजना गरिएको हो । एक सय मुरी धान उत्पादन हुने जग्गाको गुठीमार्फत तत्कालीन राज्यमा चलेको मेलालाई उनीहरूले संरक्षण गरेका हुन् ।


छत्रभूमिको रूपमा गुठीको नामकरण गरिएको छ । गुठीको चामलबाट न्वागी खाने, विभिन्न पूजाको अक्षेता बनाउने र मेला आयोजना गरिन्छ । छत्र गुठीको रूपमा स्थापित भएपछि एकै दिन न्वागी खाने चलन छ । साइत जुराएर धान काट्ने र न्वागी खाने दिन बन्दुक पड्काएर खुला गरिएको सूचना पनि दिने चलन छ । संरक्षण समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार विसं १८८९ देखि यो चलनले निरन्तरता पाएको हो ।


‘एकैपटक धान काट्न थालेको सूचना दिन बन्दुक पड्काइन्थ्यो, अहिले पड्काइँदैन,’ उनले भने, ‘तर एकै दिन धान काट्ने, एकै दिन न्वागी बनाएर गाउँभरिका मानिसले उत्सव गरेर खाने गरिन्छ ।’ मेला आयोजना गरेपछि सबै गाउँवासीले जानकारी पाउने र मिलेर खान पाउने व्यवस्था गरिएको उनले बताए । मेला ६ दिनसम्म चल्नेछ ।


यो संस्कृति संरक्षण गर्न गाउँपालिकाले राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि आयोजना गरेको छ । पर्वलाई तिहारको देउसीभैलो समापन गर्ने पर्वको रूपमा पनि चिनिने समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । ‘सबै जातजातिको सामूहिक अपनतत्वको भावना विकास गर्न यो पर्वको महत्त्व छ,’ आचार्यले भने । न्वागीका लागि ‘जडान’ नामको स्थानीय धानको प्रयोग गरिन्छ ।


गाउँपालिकाले पर्वलाई सबै जाति, धर्म र संस्कृतिको बनाउन बडिगाड न्वागी मेलाको नामकरणसमेत गराएको छ । स्थानीय तहको पहिचानकै रूपमा लिन थालिएकाले मेलालाई पर्यटन भित्र्याउने मेलाको रूपमा लिएको गाउँपालिका प्रमुख मेयरसिंह पाइजाले बताए ।

प्रकाशित : मंसिर १, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?