१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सूचना नलुकाउन निर्देशन

गण्डकी — गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशको विकास र समृद्धिका लागि प्रदेशसभाका कुनै पनि सूचना नलुकाउन र नरोक्न सचिवालयलाई निर्देशन दिएको बताएका छन् । भौतिक पूर्वाधारका कारण पत्रकारलाई सूचना र तस्बिर संकलनमा समस्या भएको स्विकार्दै उनले यसको व्यवस्थापनमा लागेको जनाए । 

सूचना खोजी गर्ने दायित्व पत्रकारको रहेको बताउँदै उनले विधायन समितिलगायत प्रदेशसभाअन्तर्गत गठिन सबै समितिका वैठकमा पत्रकारको सहभागिता बढाइएको बताए । ‘सूचना लुकाउन आवश्यक छैन । लुकाएका पनि छैनौं,’ संसदीय पत्रकार मञ्च गण्डकीको साधारणसभामा शनिबार उनले भने, ‘संसदीय मूल्य, मान्यताअनुसार पत्रकारिता गर्न अनुरोध गर्छु ।’ संसदीय पद्धति र संसदीय व्यवस्थामा संसद् सर्वमान्य हुने र संसदीय रिपोर्टिङ गर्ने पत्रकारले पनि सर्वमान्य अर्थात् विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश राजधानीमा मात्र नभई प्रदेशसभालाई जिल्लाका पत्रकारसँग पनि जोड्ने उद्देश्यसाथ वाररुमको स्थापना गर्न लागिएको बताए ।सभामुख अधिकारीले संघीय सरकारले सञ्चार ऐन नल्याउँदा गण्डकीले पनि ल्याउन नसकेको बताए ।


गण्डकी र वासिङ्टनबीच भगिनीको प्रस्ताव

पोखरा (कास)– अमेरिका भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वासिङ्टन राज्यसँग भगिनी सम्बन्ध गाँस्न प्रस्ताव गरेका छन् । वासिङ्टनका गभर्नर जे इन्स्लीसँगको भेटमा उनले उक्त प्रस्ताव गरेका हुन् ।


मुख्यमन्त्री गुरुङ र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेको नेतृत्वमा नेपालबाट अमेरिका पुगेको उच्च प्रतिनिधिमण्डलले बिहीबार वासिङ्टनका गभर्नर जे इन्स्लीलाई उनको सियाटलमा रहेको कार्यालयमा भेट गरेका थिए । मुख्यमन्त्री गुरुङले आफ्नो भ्रमणका क्रममा वासिङ्टन र गण्डकी प्रदेशबीच धेरै समानता देखेको प्रकाश पारे । ‘वासिङ्टन र गण्डकी प्रदेशमा मुख्यतया कृषिमा आधारित अर्थव्यवस्था छ । दुवै स्थान हिमशिखर र प्राकृतिक तालतलैयाले घेरिएका छन्,’ उनले भने, ‘नेपालको राष्ट्रिय फूल लालिगुराँस वासिङ्टन राज्यको पनि आधिकारिक फूल हो ।’


मुख्यमन्त्री गुरुङले गभर्नर इन्स्लीलाई व्यापार, उद्योग र सांस्कृतिक आदानप्रदानका लागि गण्डकी प्रदेशका तर्फबाट औपचारिक निमन्त्रणा दिए । उनले दिगो वातावरण र पर्यटनका लागि स्वच्छ ऊर्जा, जलविद्युत्, कृषि, बागवानी, पूर्वाधार विकासलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

भ्रमण वर्षको सन्दर्भमा मुख्यमन्त्रीको निमन्त्रणा स्विकार्दै गभर्नर इन्स्लीले आगामी वर्ष भ्रमण गर्ने आश्वासन दिए । ‘नेपाल मेरो भ्रमण सूचीमा छ । मेरो परिवारले हिमाल मन पराउँछन् र म ती हिमनदीको अस्तित्व हाम्रो भावी पुस्तासम्म रहोस् भन्नेमा चासो राख्छु,’ उनले भने, ‘नेपाल भ्रमण गर्न पाउनु मेरा लागि सपना साकार भएजस्तै हुनेछ ।’ विश्वव्यापी तापक्रम वृद्धिबाट हिमाललाई जोगाइराख्न नेपालले गरेको प्रयास आफूले सधैं उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको उनले सुनाए ।


सियाटल आधारित गैरनाफामूलक वकालत समूह नेपाल ग्लोबल ट्रेड यूएसएका संस्थापक मोहन गुरुङले नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नुपर्ने बताए । उनले वासिङ्टन राज्यबाट सन् २०२० मा नेपाल र भारतसँग हुने संयुक्त व्यापार मिसनबारे भइरहेको प्रगति सुनाए । बैठकमा गण्डकी कार्पेट उद्योगका भक्त गुरुङ, बाउन्टी हिमालयका सञ्जीवकुमार पाण्डे, माइक्रोसफ्टमा काम गर्ने गैरआवासीय नेपाली दीपेश क्षत्री, एसियाली प्रशान्त अमेरिकी मामिलासम्बन्धी राज्य आयोगका आयुक्त ताम क्यू दिनलगायत बैठकमा सहभागी थिए ।

प्रकाशित : मंसिर १, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?