कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘भ्रष्टाचार रोक्ने उपाय के छ ?’

चुनाव प्रचारमा रहेका उम्मेदवारलाई संवाद कार्यक्रममा जनताले प्रश्न गरिरहेका छन्
दीपक परियार

(पोखरा) — सहभागीले प्रश्न गरे– ‘भ्रष्टाचार रोक्ने के उपाय छ ?’ कास्की–२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारसँग शुक्रबार पोखरामा भएको संवाद कार्यक्रममा उनीहरूले सोधेपछि चार उम्मेदवारले मुखामुख गरे । सजिलो प्रश्नको उत्तर पहिला दिन तम्सिने उम्मेदवारले गाह्रो प्रश्न आउनेबित्तिकै एकअर्कालाई इसारा गरे । चित्तबुझ्दो उपाय कसैले सुझाउन सकेनन् । 

‘भ्रष्टाचार रोक्ने उपाय के छ ?’

पत्रकार महासंघ कास्कीले उम्मेदवारहरू नेकपाकी विद्या भट्टराई, कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ र साझा पार्टीकी रजनी केसीसँग संवाद चलाएको हो । मंसिर १४ मा हुने चुनावमा आफ्ना प्राथमिकताबारे उम्मेदवारले बोले । कार्यक्रममा सहभागी नागरिक समाज, विभिन्न संघंसंस्थाका प्रतिनिधिले उम्मेदवारलाई प्रश्न गरे । धेरै प्रश्न भने स्व. रवीन्द्र अधिकारीकी पत्नी भट्टराईतिरै तेर्सिए । केही प्रश्नकर्ताले सोधे, ‘एनसेल काण्ड, वाइडबडी काण्ड, तारा गाउँ रिसोर्ट काण्ड के हो ?’ भट्टराईले उत्तर दिइन्, ‘आरोप लाग्दैमा गलत भन्ने हुँदैन । राजनीतिक पूर्वाग्रहले पनि आरोप लगाइन्छन् । यसमा छानबिनको नेतृत्व म गर्छु । मेरो सम्पत्ति छानबिन होस् । दोषी भेटिए दण्ड भोग्न तयार छु ।’


कार्यक्रममा सहभागी एक महिलाले सोधिन्– रवीन्द्रको संवेदना बोकेर किन चुनावमा होमिन आवश्यक भयो ? भट्टराईले प्रतिप्रश्न गरिन्, ‘तपाईं राजनीतिमा महिला आउनुपर्छ पनि भन्नुहुन्छ । राजनीतिक पृष्ठभूमि पनि चाहिन्छ भन्नुहुन्छ । योग्यता पनि चाहिन्छ भन्नुहुन्छ । विद्या भट्टराई कुन हिसाबले अयोग्य उम्मेदवार हो ?’ लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतले मिचेको सन्दर्भमा नेकपाका दुई अध्यक्षको अभिव्यक्तिबारे उनलाई सोधिएको जिज्ञासामा भने उनी मौन रहिन् । उनले रवीन्द्र अधिकारीले बाँकी छाडेको कार्ययोजना पूरा गर्ने प्रतिबद्धता जनाइन् । पर्यटन, युवा उद्यमशीलता, सार्वजनिक सेवामा युवा सहभागितामार्फत समृद्धि खोज्नुपर्ने उनको तर्क थियो ।


कार्यक्रममा युवा उम्मेदवार बनाएर त्याग गर्नुपर्ने समयमा आफैं चुनावमा उठेको आरोप कांग्रेसका उम्मेदवार खेमराज पौडेलमाथि लाग्यो । ‘मान्छे उमेरले बुढो हुँदैन, विचारले हुने हो,’ ७४ वर्षीय उनले भने, ‘मेरो उमेरका कारण पनि म भोग विलासमा लिप्त हुँदिनँ । राज्यको ढुकुटीमा आँखा लाउने काम मबाट हुने छैन ।’ सुकुम्बासी आयोगको अध्यक्ष हुँदा सुकुम्बासीको पक्षमा आफूले सक्ने जति काम गरेको उनले दाबी गरे । ‘त्यतिखेर केही गल्ती गरेको भए यो चुनाव नै लड्दिनँ,’ उनले भने । निर्वाचित जनप्रतिनिधिले आफ्नो सम्पत्ति विवरण पूर्णरूपमा सार्वजनिक गर्नुपर्ने धारणा उनको थियो । भ्रष्टाचार निर्मूल गर्न राजनीतिक दलका प्रमुख नेता नै सफा हुनुपर्ने तर्क उनले गरे । जलस्रोत, पर्यटन र कृषिमा आधुनिकीकरण, जीवनोपयोगी शिक्षा, स्रोत साधनको सही ढंगले सदुपयोगले मुलुक समृद्धितर्फ डोरिने उनको विश्वास छ ।


समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले ०४७ सालभन्दा पहिलेदेखिकै नेताको सम्पत्ति छानबिन हुनुपर्ने बताए । ‘भ्रष्टाचार पुस्तौंदेखि छ,’ कार्यक्रममा उनले भने, ‘छानबिन गरेर नेताको ४० प्रतिशत सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’ लामो समय बेलायती सेना र संयुक्त राष्ट्रसंघको जागिरमा बिताएका उनले नेपालमा प्रणालीगत समस्या रहेको सुनाए । भने, ‘यहाँ राइट ह्यान्ड ड्राइभ (दाहिनेपट्टि ड्राइभर बस्ने) छ तर ट्राफिक नियम भने लेफ्ट ह्यान्ड ड्राइभ (देब्रेपट्टि ड्राइभर बस्ने) को छ ।’ उनले कर्मचारीतन्त्रमा पाकालाई विस्थापित गर्दै युवा ल्याउनुपर्ने उपाय सुझाए ।


साझा पार्टीकी उम्मेदवार रजनी केसीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने आफ्नो नीति रहेको बताइन् । राजनीतिक नेताको सम्पत्ति विवरण र स्रोत खुलाउनुपर्ने उनले जनाइन् । उनले पोखराको पर्यटन विकासमा केन्द्रित हुन उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गरिन् । भनिन्, ‘पूर्वाधार बढाएर पर्यटनको विकास गर्न सके प्रचुरमात्रामा रोजगारी सिर्जना हुन्छ । त्यसले युवा बिदेसिनबाट रोक्छ ।’


कार्यक्रममा सहभागीले राजनीतिक दलका नेताप्रति वितृष्णा पोखे । नेताकै भ्रष्टाचारका कारण देश विकसित हुन नसकेको, पदमा पुगेपछि सार्वजनिक जमिन दुरुपयोग गरेको, अकुत सम्पत्ति कमाएको, आफन्त पोसेको, विकास निर्माणको कुनै योजना नभएकोजस्ता आरोप सहभागीले लगाएका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?