‘विदेशी पर्यटक बढ्ने विश्वास’

कान्तिपुर संवाददाता

(गण्डकी) — नेपाल भ्रमणको क्रममा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आए । करीव ४० मिनेट फेवातालमा डुंगा शयर गरे । रुपाकोट रिर्सोट पुगेर हीमश्रृंखला र तालतलैयाको दृश्यावलोकन गरे । सामान्यतया विदेशी भीआइपीहरू संघीय राजधानी काठमाडौंमा मात्र सीमित भइरहेको अवस्थामा बंगलादेशका राष्ट्रपति हमिद पोखरा आउँदा सकारात्मक सन्देश प्रवाह भएको गण्डकी प्रदेश सरकारले बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै हमिदको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सरकारले जनायो । 

प्रमुख सचीव हरिप्रसाद बस्यालले हमिदको भ्रमणसंगै बंगलादेशका पर्यटक घुम्न नेपाल र अझ पोखरामा पहिलो रोजाइ हुने दावी गरे । हमिदको गण्डकी भ्रमणले भ्रमण बर्ष २०२० लाई सघाउ पुग्ने बताउदै उनले भने, ‘हमिदको छोरासंगै मैले केही समय बसेर कुरा गर्ने अवसर पाएँ । त्यस क्रममा पनि उहाँले यसभन्दा पहिलो पोखरा नै आएको बताउनुभयो । राष्ट्रपतिले पनि पोखरामा एकरात बस्नुपर्ने भन्दै पछुताउनु भएको थियो ।’ बस्यालले हमिदको भ्रमणबाट पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा सहयोग पुग्ने दाबी गरे । २०७५ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि भारतीय पर्यटक ह्वात्तै बढेको भन्दै गण्डकी सरकारले अव बंगलादेशी पनि आउने जनाएको हो । सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।


श्रीलंका र माल्दिभ्स भन्दा बंगलादेशका नागरिक नेपाल आउन रुचाउने उनको भनाइ थियो । पर्यटन बोर्डका अनुसार नेपालमा सार्क राष्ट्रबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । राष्ट्रपति हमिदको भ्रमणबाट पोखरा र रुपाकोटबारे चासो बढेको उनको भनाइ थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दलबहादुर अधिकारीले अन्य प्रदेशभन्दा गण्डकी प्रदेश नै रोजाईमा पर्नुले महत्त्वपूर्ण भूमिका राख्ने बताए । बंगलादेशबाट वार्षिक २५ देखी ३० हजारसम्म पर्यटक नेपाल आउने गर्छन । २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्रयारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि लोभ्याएको थियो । उक्त वैठकमा सहभागी हुन भारतकी तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज पनि आएकी थिइन । उनले पोखराको सुन्दरताबारे खुलेर बयान गरेकी थिइन ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?