कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मेलालाई ३ दिन विद्यालय बन्द

कान्तिपुर संवाददाता

(नेपालगन्ज) — जानकी गाउँपालिकामा–२, जोगा गाउँमा मेला सञ्चालनका लागि सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यालय हाताभित्रै धार्मिक स्थल भएको भन्दै तीन दिन विद्यालय बन्द गरेर पूर्णिमा मेला आयोजना गरिएको हो । श्री माध्यमिक विद्यालयमा मेला लगाउन मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ ।

मेला सञ्चालक समितिका सदस्य ससनलाल कलवारले धार्मिक स्थल भएकाले विद्यालयमा मेला सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए । ‘यो पुरानो संस्कारको रूपमा रहेको पूर्णिमाको अवसरमा मेला सञ्चालन गर्ने हाम्रो चलन हो,’ उनले भने, ‘शदियौंदेखि यसै स्थानलाई धार्मिक स्थल मानेकाले विद्यालयमा मेला चलाएका हौं ।’ गाउँपालिका अध्यक्ष रामनिवास यादवले अन्यत्र ठाउँ नभएकाले विद्यालयमा मेला आयोजना गर्नु परेको बताए । विद्यालयले स्थानीय बिदा दिएको उनले सुनाए ।


अधिकारकर्मी वसन्त गौतमले मेलाका नाममा विद्यालय बन्द गराउन नहुने बताए । ‘सबै राजनीतिक दल तथा सम्बन्धित निकायले विद्यालय शान्ति क्षेत्र हो भनेर हस्ताक्षर गरेका छन्,’ उनले भने, ‘मेलाका कारण विद्यालय बन्द गर्न मिल्दैन ।’


स्थानीय तहले विद्यालयलाई निगरानी गर्नुको सट्टा विद्यालय नै बन्द गर्नु गलत रहेको उनले सुनाए । विद्यालयमा पढाइ बन्द गरेर मेला चलाउन बालअधिकारको हनन् भएको उनको दाबी छ ।


जानकी गाउँपालिकाको पहलमा भएको सर्वपक्षीय बैठकले मेला लगाउने निर्णय गरेको थियो । स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा तयार पारिएको शिक्षा मापदण्डमा विद्यालय र विद्यालय परिसरमा कुनै पनि प्रकारका मदिराजन्य वस्तु बिक्री–वितरण तथा खोरखोरे, रिङ, जुवातासजस्ता खेल खेलाउन नपाउने उल्लेख छ । तर, विद्यालयक हाताभित्र मदिराको कारोबार तथा जुवा ताससमेत खुलमखुला चलेको छ ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?