छापो हाल्ने पर्व

अर्गली मगर समाजका युवाले वर्षमा एक दिन कात्तिक २६ गते मात्रै काजकिरिया गर्ने चलनलाई सुधारेका छन् । उनीहरुले हरेक महिनाको २६ गतेलाई दोष फुकाउने मिति तोकेका छन् । 
प्रकाश बराल

(बागलुङ) — ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्तीले बाबुआमाको पितृकार्य गर्दा एक वर्ष कुरेका थिए । ७५ वर्षीय भीमबहादुर जस्तै हर्कबहादुर घर्तीको पनि गाउँ नछाडीकनै पितृको किरियामा बसेको अनुभव छ । एक वर्षसम्म उनीहरू मठमन्दिर जान पाउँदैनथे । उनीहरूले यो समयभरी पुलपुलेसा तरेनन् । कपाल र दाह्री काटेनन् । गाउँमा घाँसदाउरा मात्र गरेर बसे । यो समुदायमा कात्तिक महिनापछि मृत्यु भएका सबैको एक वर्षसम्म क्रिया गर्नुपर्थ्यो । 

छापो हाल्ने पर्व

अर्गली मगर समाजमा पितृकार्य हरेक वर्षको कात्तिक २६ गतेमात्र गरिन्छ । मंसिरमा मृत्यु भए पनि आउने कात्तिकमा मात्र चोखिने परम्परा छ । कात्तिक २३ सम्म मृत्यु भएका परिवारका सदस्यले पनि २६ मा चोखिन पाउँछन् । कात्तिक अन्तिम साता उनीहरूले भुस पोल्ने र छापो हाल्ने मेला गर्छन् । यो मेलामा वर्षभरिको जुठो फुकाउने, पितृ श्राद्ध गर्ने र नयाँ खेतीपातीका लागि काम थाल्ने चलन छ । अहिले भीमबहादुर अर्गली मगरका गुरु हुन् । पहिला मुखियालाई गुरु मान्ने चलन थियो । अहिले मुखिया प्रथा छैन । त्यसैले जेठोबाठो र केही बुझेकालाई गुरु मान्ने चलन छ । पितृकार्य गर्न बिहानै उठेर नुहाईधुवाई गरेपछि घर चोख्याउनु पर्छ । गाउँले गुरुकै घरमा पूजा सामग्री लिएर आउँछन् । घरभित्र पूजा भइसकेपछि शंखुबारी गएर पूजा गरिन्छ । शंखुवारी ताराखोला गाउँपालिका–२ को अर्गल गाउँमै छ । अर्गली मगरको साझा बारीको नाउँ शंखुबारी हो । यहाँ उनीहरूले पितृको पूजा गर्छन् । यहाँ उत्पादित अन्न अक्षेताका रूपमा समूहमै राखिन्छ । वर्षभरि मृत्यु भएका पितृको सम्झनामा पूजा गरेपछि दान दक्षिणा दिइन्छ ।


यहाँ पितृहरूको स्मरणमा ‘होलादास’ गर्ने चलन छ । १८ माना चामल, सुकुटी र पशुको छाला चेलीबेटीले ल्याएपछि चढाउने र आशोच बारेका घरले चेलीबेटीलाई त्यस्तै प्रकारको दान दिने चलनलाई होलादास भनिने स्थानीय बिर्बलाल घर्तीले बताए । यो कार्यपछि पितृहरू स्वर्ग तर्छन् भन्ने विश्वास छ ।


कात्तिक अन्तिम साता पितृकार्य सकेपछि हिउँदे खेतीका लागि काम थाल्ने चलन छ । हिउँदे खेती थाल्नुअघि उनीहरूले छापो हाल्ने पर्व मनाउँछन् । यसका लागि अविवाहित युवायुवती गाउँ आउँछन् । बुढापाकाले शंखुबारीमा जौं छरेपछि युवायुवतीले सामूहिक रूपमा खन्छन् । यो पर्वकै रुपमा लिईने भएकाले सयौं मानिस छापो हालेको र बारी खनेको हेर्न आउँछन् । यसरी खन्न आएका युवायुवतीले राम्रो वरबधु पाउने विश्वास छ । ‘बजारमा पढ्न बसेको थिएँ, पर्वकै लागि आएको हुँ’ स्थानीय वासु घर्ती मगरले भने, ‘यो पर्वमा आउँदा शुभ सन्देश मिल्ने विश्वास छ ।’ यो पर्वपछि युवायुवतीको विवाहका लागि समय खुला भएको पनि उनले बताए ।


बुढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउने विश्वास छ । ‘खोरिया फाँडेर बसेको दिनको पनि यो सम्झना हो, त्यसैले खनीखोर्सी गरेर बीउ छर्दा भकारीमा सहकाल आउँछ भन्ने विश्वास छ,’ बिर्बलालले भने, ‘सहकालका देवता प्रकृति पूजा गरेर हामीले खेती भित्र्याउने गरिएको छ ।’ हिउँदे खेतीमा यहाँ गहुँ, जौं, तोरीलगायत छरिन्छ ।


एक वर्षको काम महिनामा छोटियो

पछिल्लो समय युवाले एक वर्षसम्म काजकिरिया गर्ने चलन हटाएका छन् । कर्मचारी, शिक्षक, वैदेशिक रोजगारीमा जानुपर्ने जस्ता समस्याले हरेक महिनाको २६ गतेलाई दोष फुकाउने मिति तोकिएको स्थानीय कुलबहादुर घर्तीले बताए । ‘दाह्री कपाल काट्न नहुने, पुलपुलेसा तर्न नहुने समस्याले युवामा समस्या आयो, त्यसैले अहिले काजकिरिया छोटो बनाइएको छ,’ उनले भने, ‘वर्षभरिको सामूहिक किरिया भने कात्तिक २६ मै गरिन्छ ।’


पन्ध्रौं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएर मगर बसोबास गर्न थालेपछि यो गाउँको नामसमेत अर्गल रहेको किंवदन्ती छ । आएका मगरले खोरिया फाँडेर झारपात पोलेको सम्झनामा हरेक वर्ष कात्तिक अन्तिम साता भुस पोल्ने मेला हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?