परम्परागत र मौलिकमा आकर्षण

कान्तिपुर संवाददाता

परासी — माटोले पोतेको चिटिक्कको सानो घर । खपेटाले छाएको घरको वरिपरि सजाइएका ढकिया, माछा मार्ने जाल, हलो र जुवाले सबैको ध्यान खिचेको छ । सेल्फी र फोटो खिच्नेको पनि भीड छ । पश्चिम नवलरासीको बर्दघाटमा आइतबारदेखि सुरु चौथो बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा निर्माण गरिएको थारु जातिको मौलिक घरले धेरैको ध्यान तानेको हो । 

परम्परागत र मौलिकमा आकर्षण

मेला अवलोकनमा आउने दर्शक स्टलमा राखिएका खाद्यान्न, लत्ताकपडा र घरायसी सामानमा भन्दा मौलिक संस्कृति झल्काउने घर तथा मौलिक पोसाकतिर बढेका छन् । मेलामा नेवार, कुमाल, थारु, मौलिक घर, पोसाक तथा उनीहरूले जीविकोपार्जनका लागि प्रयोग गर्ने घरायसी औजार राखिएको छ । जातिविशेषको मौलिकता झल्काउने घरसँगै उनीहरूले खाने रैथाने परिकारमा पनि दर्शकको भीड लागेको छ । बर्दघाट स्थायी घर भएर हाल काठमाडौं बस्दै आएका नरेश चौधरी अहिले घरायसी कामका लागि बर्दघाट आएका छन् । गाउँमा लागेको मेलामा थारु समुदायको पुर्ख्यौली घर, माछा मार्नका लागि राखिने जाल, ढडिया, ढकिया देखेर पुरानो घर र संस्कृतिको झल्को लागेको उनले बताए । ‘सानैदेखि काठमाडौं अध्ययनका लागि बसियो । आफ्नै भाषा र संस्कृति पनि राम्रोसँग आउँदैन,’ उनले भने, ‘धेरै वर्षपछि मेलामा देख्दा खुसी लाग्यो ।’ थारु जातिको घोंगी र चिचरको स्वाद पनि लिएको उनले बताए ।


थारु जातिले जस्तै मगर, नेवार जातिको पनि मौलिक घर र खानाका परिकार मेलामा राखिएका छन् । नगर उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेले सबै जातजाति र संस्कृतिको जगेर्ना एवं मेलाप्रतिको अपनत्व जगाउन मौलिक परम्परा र संस्कृतिको स्टल राखिएको बताए ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?