पैदल हिँड्न अर्काको सहारा

दोङस्योङ खोला भीरमा जोखिम यात्रा गर्न खानीगाउँका स्थानीयलाई बाध्यता 
कान्तिपुर संवाददाता

(गोरखा) — भूकम्पले चर्काएको जमिन । बर्खापछिको बाढीले बस्तीतर्फको भाग कटान गरेको छ । बस्तीभित्र धाँजा फाटेर जोखिम बढ्दा धार्चे गाउँपालिका–७ लापुस्थित खानीगाउँका स्थानीय विस्थापित बने । गाउँ आसपासकै सुरक्षित भनिएका जमिनमा टहरो बनाएर वसेका छन् । यहि बस्तीसम्म पुग्न पनि स्थानीयलाई निकै सकस छ ।

बस्ती नजिकैको दोङस्योङ खोला भीरमा जोखिमसाथ एकले अर्कोको साहारा लिएर यात्रा गरेको दृश्य यहाँ नौलो छैन । पुरानो पैदलमार्ग बाढीले कटान गरेपछि गाउँ पुग्न वैकल्पिक मार्ग स्थानीयले आफ्नै सक्रियतामा बनाए । ‘वारिपारि जाने सुरक्षित बाटो अन्यत्रबाट बनाउनै सकेनौँ, सजिलो बाटो अरू पनि बनाएका थियौँ तर जति बनाए पनि वर्खामा भत्काइहाल्ने, माटो भएको ठाउ त बाढीले लगिहाल्छ, चट्टान भए कटान त हुँदैन सोचेर यो वाटो हिडँने गरेका छौ,’ स्थानीय जिते गुरुङले भने, ‘यहि चट्टानमा वनाएको बाटो हिँड्न अप्ठेरो छ ।’ भूकम्पयता वर्षैपिच्छे बाढीले बस्तीतर्फ कटान गरेको स्थानीय बताउँछन् । ‘बर्खामा खोला बढेर वारिपारि गर्न नसक्ने अवस्था हुन्छ,’ उनले भने, ‘हिउँदमा हिँड्ने बाटोको अवस्था पनि राम्रो छैन ।’

स्कुले विद्यार्थी र खर्कमा रहेको गोठमा पुग्न खानीगाउँवासीलाई उक्त मार्ग दैनिक प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोठ जानै पर्छ, स्कुले विद्यार्थी यही वाटो हिँड्ने हो,’ गुरुङले भने, ‘यो बाटो दिनमा कम्तीमा दुई पटक आउजाउ नगरी सुखै छैन ।’ एक सय २० घर रहेको खानीगाउँ बस्तीका स्थानीयले उक्त मार्ग भएरै घाँस, दाउरा पनि गर्ने गरेका छन् । चट्टाने भीर पैदलमार्ग सुधारमा स्थानीयले प्रयास पनि नगरेका होइनन् । ‘चट्टान फोरेर टेक्न मिल्ने बनाएका छौँ,’ उनले भने, ‘तर खुट्टाले भर पाउँदैन, हातले प्रेसर गरेर उक्लनुपर्छ ।’

विशेष गरी बालबालिका र वृद्घवृद्घालाई अरुको सहारा चाहिने गरेको स्थानीयले सुनाए । ‘लडेर सामान्य चोटपटक लागिहाल्यो भने पनि नजिक स्वास्थ्य संस्था छैन, आफै सचेत भएर हिँड्ने गरेका छौँ,’ उनले भने । साँझमा झनै सकस पर्छ । खोला छेउको करिब २० मिटर पैदलमार्ग सुरक्षित बनाउन सके केही सहज हुने गाउँलेको भनाइ छ ।

गुम्दाको यमगाउँ–खानीगाउँ–लापु भिरकुना हुँदै सोतिको उक्त मार्गअन्तर्गत खानीगाउँ क्षेत्रको पैदलमार्ग बर्खाले बगाएदेखि स्थानीयले सास्ती खेपेका हुन् । खानीगाउँ मात्र नभई धार्चे गाउँपालिकाअन्तर्गत गुम्दा र लापुका केही स्थानीयले पनि सोही वाटो हिँड्ने गरेका छन् । त्यहाँ झोलुङ्गे पुल हाल्न स्थानीयको माग छ । ‘मूल बाटो हो,’ स्थानीय कान्छा कामीले भने ‘यो बस्ती छाडे पनि, बसे पनि झोलुङ्गे पुल चाहिन्छ ।’ गाउँभेला गरेर जनप्रतिनिधिमार्फत झोलुङ्गे पुलको योजना पारिदिन माग गर्ने योजना स्थानीयले बनाएका छन् । बस्तीसम्म पुग्ने पैदलमार्गको ठाउँ–ठाउँमा धाजा फाटेको कान्छाले बताए ।

बस्तीवारि रहेको डाँडागाउँका ४ घरमा बिजुली पुर्‍याउन समेत नसकिएको उनले गुनासो गरे । ‘माटो कमजोर छ, पोल गाड्यो भत्किहाल्छ,’ उनले भने, ‘तीन वर्ष देखि डाँडागाउमा बिजुली पुर्‍याउन सकेका छैनौं ।’ यहाँका स्थानीयले लघु जलविद्युत्बाट उत्पादित बिजुलीको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोरी बिमामा कर्मचारी अभाव

सन्तोष सिंह

(धनुषा) — प्रदेश २ सरकारले लागु गरेको छोरीबिमा कार्यक्रम कर्मचारी अभावमा प्रभावित बनेको छ । मुख्यमन्त्री कार्यालयमा छोरी बिमाका लागि शिशु लिएर दिनहुँ पुग्ने अभिभावकले कर्मचारी अभावमा सेवा पाउन सकेका छैनन् । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ,’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा मुद्दती बचत खाता खाल्न अभिभावकहरू शिशु बोकेर एक सातासम्म राजधानी जनकपुरधाइरहेका छन् ।

स्थानीय तहले बिमाका लागि मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयले बिमा गर्न स्थानीय तहमै सेवाग्राहीलाई फर्काउँदा अन्योल बढेको छ । चालु वर्षको ४ महिना बितिसक्दा बिमाका लागि कर्मचारी भर्ना गरिएको छैन । छोरी बिमाका लागि महोत्तरी गौशाला नगरपालिका कार्यालयले मुख्यमन्त्री कार्यालय पठाएकी गौशाला–१० निगौलकी रामजोती साह ३ पटक नातिनी र बुहारी लिएर मुख्यमन्त्री कार्यालयबाट फिर्ता भइन् । नातिनीको बिमा हुन सकेन ।
मुख्यमन्त्री कार्यालयमा यसअघि आउँदा बुधबार उनलाई बोलाइएको थियो । तर, मुख्यमन्त्री कार्यालयले सूचना निकालेर कर्मचारी भर्ना नभएसम्म बिमा गर्न नसक्ने भन्दै बिमा गर्न आएका अभिभावकलाई फर्काइदिए । महोत्तरी, सम्सी–२ पर्साका इसराइल शेष डेढ महिने नातिनी, बुहारी र छिमेकी छोरी, बुहारीलाई लिएर बिमाका लागि मुख्यमन्त्री कार्यालय आउँदा वास्ता नभएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयले प्रदेशको १ सय ३६ स्थानीय तहका लागि कर्मचारी भर्नाका लागि विज्ञापन भएको र कर्मचारी भर्ना भएपछि स्थानीय तहमा नै छोरी शिक्षाबिमा मुद्दती बचत खातासम्बन्धी काम हुने सूचना निकालेर पुस मसान्तसम्म बिमाको काम रोकिएको जनाएको छ ।

मुख्यमन्त्री कार्यालय ०७५ माघ १ गतेदेखि प्रदेश २ मा जन्मेका छोरीको बिमा अभियान थालेको हो । अभियानमा भएको प्राविधिक त्रुटिकै कारण जन्मेको १ सय ८० दिनभित्र छोरीको बिमा गराउनु पर्ने प्रावधान संशोधन गरी जुनसुकै बेला पनि बिमा गराउन सक्ने व्यवस्था गरिएको छ ।

०७५ माघ १ गते देखि ०७६ असारसम्म ४ हजार ३ सय ७२ जना बालिकाको शिक्षाबिमा मुद्दती बचत खाता खोलेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकी संयोजक प्रियंका यादवले बताइन् । चालु वर्षको ४ महिनामा ५ हजारभन्दा बढी बिमाको फारम तयार गरेको यादवले बताइन् । ‘जनशक्ति अभावमा काम गर्न समस्य भएपछि कर्मचारी भर्ना प्रक्रिया थालिएको छ,’ संयोजक यादवले भने, ‘मुख्यमन्त्री कार्यालयमा शिशु लिएर आमा, बुवा र साक्षी आउँदा झन्झट हुन्छ । सेवाग्राहीको सहजतका लागि स्थानीय तहमा नै कर्मचारी भर्ना हुनेछ ।’

अमेरिकाले सहयोग गर्ने
अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सहयोग गर्ने उत्सुकता देखाएका छन् । अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गर्दै सहयोग गर्ने बताएको उनले जानकारी दिए ।

प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएका अमेरिकी राजदूत बेरीले बुधबार प्रदेश सरकारका प्रतिनिधि, बेटी पढाऊ, बेटी बचाऊ तथा लक्षित वर्गलाई भेटेपछि कार्यक्रममा सहयोग गर्ने बताएका हुन् । तीन दिनदेखि जनकपुरमा रहेका राजदूत बेरी सहितको टोलीले बेटी पढाऊ, बेटी बचाऊको टोलीसँग छलफलसमेत गरेको छ । राजदूत बेरीले सहयोग गर्ने उत्सुकता देखाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमकी संयोजक यादवले बताइन् ।

प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एकसय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, ९ हजार नवजात छोरीहरूको बिमा र महिलाहरूका लागि लोकसेवा तयारी कक्षा लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×