२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

स्थानीय तहमा उम्मेदवारी दर्ता

लमजुङको सुन्दरबजार नगरपालिका–२, पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका–५ र बागलुङको बडीगाड गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदै
गण्डकी प्रदेश ब्युरो

पोखरा — मंसिर १४ मा हुने उपननिर्वाचनका लागि स्थानीय तहका रिक्त पदमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

स्थानीय तहमा उम्मेदवारी दर्ता

गण्डकी प्रदेशमा लमजुङको सुन्दरबजार नगरपालिका–२, पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका–५ र बागलुङको बडीगाड गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ ।


लमजुङ संवाददाताका अनुसार सुन्दरबजार–२ को वडाअध्यक्ष पदका लागि ५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट नविनकुमार श्रेष्ठ, कांग्रेसका प्रकाश सेंढाइ, राप्रपाबाट पवनराज बसौंला, मंगोल नेशनल अर्गानाइजेशनबाट रामजी दर्जीले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी कृष्णबहादुर केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


२०७४ को स्थानीय तहको चुनावमा निर्वाचित वडाअध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष खाली थियो । जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार २ हजार १ सय २४ मतदाता रहेको उक्त वडामा उपनिर्वाचनमा मतदाता संख्या २ हजार २ सय ९७ पुगेको छ । उपनिर्वाचनका लागि २ मतदान स्थल र ३ मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदवार लोकराज पाण्डेले ९ सय ५ मत ल्याएर विजयी भएका थिए ।


नवलपरासी संवाददाताका अनुसार पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि पत्रकारसहित ३ को मात्रै उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार नेकपाले खिमबहादुर खरुमगर, कांग्रेसबाट तुलबहादुर राना (अनिल) र समाजवादी पार्टीबाट पितमबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । समाजवादीले पहिलोपटक उम्मेदवारी दिएको हो ।


कांग्रेसका राना नवलपरासीको देवचुली टेलिभिजनका प्राविधिक पत्रकार हुन् । नेकपाका खरुमगर भने पूर्वा वडाध्यक्ष दलबहादुरका छोरा हुन् । दलबहादुरको एक वर्षअघि निधन भएका कारण वडाध्यक्ष पद खाली भएको हो । उनी एमालेबाट निर्वाचित भएका थिए । नेकपा र कांग्रेसका उम्मेदवार नजिकका आफन्त हुन् । त्यहाँ अधिकांस मगर समुदायको बसोवास छ । निर्वाचनमा यस पटक आठ सय ५३ मतदाता छन । बुंदीकाली पहाडी क्षेत्र हो । कहिलेकाँही नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा समुहको गतिबिधि देखिने गरेका कारण त्यहा सुरक्षा सर्तकता बढाइएको छ ।


बागलुङ संवाददाताका अनुसार बडिगाड गाउँपालिका–२ मा पनि ३ उमेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । त्यहाँ नेकपाबाट ढालप्रसाद शेरचन, कांग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल रानाले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा निर्वाचित वडाध्यक्ष बिष्णुप्रसाद भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि पद खाली थियो । यस वडामा १ हजार ७ सय ७५ मतदाता छन् । अघिल्लो निर्वाचनमा १ हजार ६ सय ७० रहेकोमा १ सय ५ जना थपिका हुन् ।

प्रकाशित : कार्तिक २७, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?