कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बंगलादेशका राष्ट्रपति पोखरा आउँदै, डुंगाबाट फेवाताल शयर

सुरक्षा व्यवस्थापनमा कडाई
प्रतीक्षा काफ्ले

गण्डकी — नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउने भएका छन् । बिहीबार दिनको ११ बजे उनी पोखरा आइपुग्ने कार्यक्रम तय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताएका छन ।

बंगलादेशका राष्ट्रपति पोखरा आउँदै, डुंगाबाट फेवाताल शयर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ केही दिनदेखि अमेरिका भ्रमणमा रहेपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका अर्थमन्त्री किरण गुरुङले बिहान ११ बजे पोखरा विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको बताए । गण्डकी सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एकल निर्णय गर्दै हमिदलाई स्वागत, सत्कारसँगै सुरक्षा व्यवस्था गर्ने भएको छ ।


राष्ट्रपति हमिदको पोखरामा ४ घण्टा बसाइ हुने छ । बसाइ अवधिभर पोखराको सुरक्षा व्यवस्था कडा पार्नको लागि प्रदेश सुरक्षा व्यवस्था समिति र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा व्यवस्था समितिलाई निर्देशन दिएको छ ।


फेवातालमा शयर गर्ने भएकाले सुरक्षाकर्मीले फेवातालमा समेत सुरक्षा जाँच गरेका छन् । स्वागतलगत्तै हमिदले पोखरामा फेवातालमा डुंगा शयर गर्ने छन् । डुंगाबाटै फेवातार पारी रहेको फिस्टेल लजमा लञ्च ब्रेक हुने छ । विमानस्थलबाट सिधै फेवाताल प्रस्थान गर्ने र ४० मिनेट फेवातालमा बोटिङ गर्ने कार्यसूची रहेको प्रवक्ता बस्नेतले बताए ।


यसरी नै फिस्टेल लजमा लञ्च गर्ने र हेलिकप्टरमा नै रुपाकोट रिसोर्ट जाने छन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्ने छन् । रुपा गाउँपालिका–७ मा रहेको रुपाकोटमा स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच/झाँकीहरु प्रदर्शन गर्ने छन् । रुपाकोटबाट विभिन्न दृश्य अवलोकन गरेपछि उनी बिहीबार नै काठमाडौं फर्किने छन् ।


हमिदको प्रदेश भ्रमणको सबै व्यवस्थापन प्रदेश सरकारले नै गरेको बताउँदै प्रवक्ता बस्नेत भन्छन्, ‘राष्ट्रपतिज्यूसँग बंगलादेशकै ५५ जनाको टोली आउँछ । उहाँसँग नेपालका भीआइपी पनि आउनु हुने छ । तर, को–को आउनुहुन्छ भन्ने अहिले नै फाइनल भएको छैन ।’


पोखरा विमानस्थल अगाडि स्वागतद्वार निर्माण गरिएको हो । ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिने बस्नेतले बताए । राष्ट्रपति हमिदको गण्डकी प्रदेश भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुग्ने उनको भनाइ छ ।


उनका अनुसार उनको भ्रमणबाट पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा सहयोग पुग्ने छ । गण्डकीमा अहिले आन्तरिक पर्यटन वर्ष २०१९ चलिरहेको छ । २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

प्रकाशित : कार्तिक २७, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?