स्वास्थ्य केन्द्र बन्दै अस्पताल

कान्तिपुर संवाददाता

(बागलुङ) — जिल्लाको पुरानो सदरमुकाममा रहेको हरिचौरमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको छ । हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गर्न लागिएको हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई लक्षित गरेर अस्पताल निर्माण थालिएको गलकोट–५ का अध्यक्ष नारायणध्वज मल्लले बताए । 

स्वास्थ्य केन्द्र बन्दै अस्पताल

हरिचौरमा इलाकास्तरीय कार्यालय भए पनि अस्पताल भने थिएन । उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन विशिष्ट चिकित्सकसहितको दरबन्दी रहने गरी अस्पताल बनाउन लागिएको मल्लले बताए । यहाँ दैनिक एक सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।


केन्द्रका पुराना भवन जीर्ण छन् । ती भवन उपयोगविहीन भएपछि अघिल्लो वर्ष निर्माण भएको सानो भवनबाटै सेवा सञ्चालन गरिएको छ । सात करोड १० लाख रुपैयाँको स्टिमेटपछि दुई वर्षदेखि रोशन अमित संयुक्त निर्माण कम्पनीले अस्पतालको निर्माण गरिरहेको छ । चालु वर्षभित्रै काम सकेर सञ्चालनमा ल्याउन पहल भएको मल्लले बताए । नयाँ भवनमा र्‍याम, अपरेसन कोठा, ओपीडी र अन्य सेवाका लागि कोठाको व्यवस्था हुनेछ । ‘तोकिएको समय भने मंसिर मसान्तमा सकिन्छ, तर कामको गति राम्रो भएकाले म्याद थप्न लगाएका छौं,’ मल्लले भने, सम्पन्नपछि सदरमुकामपछिको पहिलो अस्पताल हुनेछ ।’


यसअघि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालको रूपमा विकास गर्ने भनिए पनि अझै पूर्णता पाएको छैन । पूर्वाधार बने पनि अस्पतालको रूपमा सूचीकृत भने नभएको हो । बुर्तिबाङमा अपरेसनसहितको सेवा भने सञ्चालनमा छ । केन्द्रका सिनियर अहेब प्रकाश पौडेलका अनुसार गत आर्थिक वर्ष यो केन्द्रमा ७ हजार ३ सय ९८ बिरामीको उपचार भएको थियो । ‘भवन अभावले बाहिरै राखेर उपचार गराउने समस्या थियो, अब त्यो समस्या हट्नेछ,’ पौडेलले भने, ‘जनशक्ति अभावमा पनि नियमित उपचार दिएका छौं ।’ यहाँ एक जना डाक्टरसहित दक्ष प्रसूतिकर्मीको दरबन्दी छ । बर्थिङ सेन्टर सञ्चालनमा छ । दक्ष प्रसूतिकर्मीले नियमित सुत्केरी गराएकाले महिलाको विश्वास बढेको डा. सुजु जमरकट्टेलले बताइन् । वार्षिक एक सय जनासम्मले प्रसूति सेवा लिने भएकाले अस्पताल बनाउन पहल गरिएको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘सेवाग्राहीको चाप बढी भएकाले यहाँ करारमा पनि थप डाक्टर राखेर उपचार सेवा दिएका छौं,’ गैह्रेले भने, ‘केन्द्रको व्यवस्थापकीय खर्च नगरपालिकाले सहयोग गरेको छ ।’ अस्पतालमा रूपान्तरणपछि आवश्यक दरबन्दी थप गर्न पहल गरिने उनले बताए ।


यहाँ विशेषगरी पाठेघरको समस्या भएका महिला बढी उपचारका लागि आउने गरेका छन् । त्यसैले महिला डाक्टर र स्वास्थ्यकर्मीको दरबन्दी बढाउन पहल भएको मल्लले बताए । स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृतसमेत यो क्षेत्रका बढी छन् । ‘गत वर्ष मात्र ८ हजार ४ सय ७६ जनाले स्वास्थ्य बिमा गरेका छन्,’ पौडेलले भने, ‘यो क्रम बढिरहेको छ, उनीहरूले विश्वास गरेर यही उपचारमा पनि आउन थालेका छन् ।’ गलकोटले स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने र सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता दिएको छ । चारपटक स्वास्थ्य परीक्षण गरेर सुत्केरी हुनेलाई ४ हजार ५ सय रुपैयाँ र नेपाल सरकारले दिने १ हजार ५ सय थपेर ६ हजार रुपैयाँ दिइन्छ ।

प्रकाशित : कार्तिक २७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?