कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भैलोबाट सीसी क्यामेरा

कान्तिपुर संवाददाता

कास्की — पोखरा–८ नागढुंगा टोलमा सिसी क्यामेरा जडान गरिएको छ । नागढुंगा टोल विकास समाजले तिहारमा देउसीभैलोबाट उठाएको पैसाले टोलका मूख्य बाटोमा सीसी क्यामेरा राखिएको हो । 

टोलमा शान्ति, जनधनको सुरक्षा तथा फोहोर व्यवस्थापनका लागि सीसी क्यामेराको आवश्यक भएकाले जडान गरिएको समाजका अध्यक्ष डम्मरराज सुवेदीले बताए । टोलमा कुकुरबाट पनि फोहोर हुने गरेको र त्यसलाई रोक्न पनि क्यामेराले सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार भैलोबाट २ लाख रुपैयाँ उठेको र त्यसमा ३ लाख थपेर ५ लाख रुपैयाँमा २२ वटा सीसी क्यामेरा राखिएको हो ।


क्यामेरा जडान गरेर मात्र नहुने वडा प्रहरी कार्यालय वैदामका निरीक्षक बुद्धीसागर पुरीले बताए । ‘सीसी क्यामेरा जडान गरेपछि मर्मतबारे पनि सोच्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘क्यामेराको जतन भए व्यक्ति, समाज, टोल र महानगर स्मार्ट बन्न सक्छ’ ।


अरू टोलाई सचेत र प्रेरणा मिल्ने पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ वरालले बताए । ‘राम्रो काममा जुनसुकै टोललाई साथ र सहयोग गर्नुपर्छ,’ बरालले भने, ‘यसका लागि वडाले सकेको सहयोग गर्छौं ।’ महानगरमा निजीबाहेक २ सय ४४ सीसी क्यामेरा जडान भए पनि २ सय बिग्रेका प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार मुख्य चोकलाई लक्षित गरी १ सय सीसी क्यामेराको माग गरिएको छ । पानी र चट्याङले बिगार्ने भएकाले मर्मत र नियमित सञ्चालनका लागि एउटा संयन्त्र बनाउनुपर्ने उनले बताए ।


महानगरले जिल्ला प्रहरीलाई सीसी क्यामेराका लागि गत आर्थिक वर्षमा २५ लाख रुपैयाँ दिएको जनाएको छ । महानगरले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।


प्रकाशित : कार्तिक २७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?