कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खजे दुरा, जो सधैं गुमनाम रहे

घले राजाको ज्यादतीबाट मुक्त गराउन यशोब्रह्म शाहलाई लमजुङमा ल्याउन दुराको भूमिका थियो 
आश गुरुङ

(लमजुङ) — उनी कस्ता थिए, कसैलाई थाहा छैन । न उनको तस्बिर छ, न उनको भिडियो नै । उनका बारेमा बोल्छ, केवल इतिहास र कर्म । श्रीभन्ज्याङका कलाकार चेतनाथ घिमिरेले २०३३ सालमा कुनै दुराको अनुहार हेरेर स्केच बनाए । त्यही स्केचका आधारमा खजेगाउँका दुरा समुदायले २०३७ मा खजे दुराको सालिक बनाएर च्यानपाटामा राखे । 

खजे दुरा, जो सधैं गुमनाम रहे

यो सालिक २०५७ मा फुटेपछि खजे दुराको नयाँ सालिक बनाइयो । सालिक निर्माणमा भीष्मनाथ अधिकारीको सहयोग रह्यो । दुवैपटक कलाकार मनबहादुर विश्वकर्माले सालिक निर्माण गरेका हुन् । च्यानपाटाको पुरानो नाम चिहानपाटा हो । दुरा जातिको चिहान भएकाले चिहानपाटा भनिएको समुदायका अगुवा बताउँछन् । चन्द्रपाटा पनि भनिने उक्त ठाउँ अहिले सुन्दरबजार नगरपालिका–३ मा पर्छ । दुराको इतिहास, नाम र कर्मबाट उक्त भेगको नाम नै दुराडाँडा रहन गयो ।


घले राजाको शासनबाट आजित भएपछि दुराले कास्कीबाट कुलमण्डन खाँका माइलो छोरा कालु शाहलाई ल्याए । घले राजाका सिपाहीले तुर्लुङकोटको वनकाली जंगलमा उनलाई मारिदिए । कुलमण्डनको शरणमा परी खजे दुराले ज्याबीमा हालेर कान्छो छोरा जशभुं (यशोब्रह्म) शाहलाई ल्याए । त्यतिबेला उनी डेढ वर्षका रहेको बताइन्छ । खजे दुरालाई त्यतिबेला सुकभर क्याउछा, चामु धिंगाल, लक्ष्मण दुरा, कुश्माखर घिमिरेलगायतले सहयोग गरेको इतिहासमा छ । उनीहरूले सिन्दुरढुंगामा सिन्दुरजात्रा गरे । विसं. १५५० असार १५ मा लमजुङ दरबारमा ल्याएर राजगद्दीमा आसन गराए । नेपालमा शाहवंशीय राजसंस्थाको स्थापना यहींबाट भएको मानिन्छ । तिनै यशोब्रह्म शाहपछिको एघारौं राजा पृथ्वीनारायण शाह हुन् । जसले नेपालको एकीकरण गरेका थिए ।


दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुराका अनुसार उनको स्केच तयार पारिएको वर्षबाट खजे दुराको स्मृति दिवस मनाइन थालिएको छ । दुरा सेवा समाजका वरिष्ठ उपाध्यक्ष सुरेशकुमार दुराले उनलाई जातिले मात्रै नभएर सिंगो

नेपालले सम्झनुपर्ने बताए । ‘खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । हुलाक टिकटमा राख्नुपर्छ । यो दुरा समुदायको माग हो,’ उनले भने, ‘नेपालको एकीकरणमा दुरा समुदायको प्रत्यक्ष, अप्रत्यक्ष सहयोग छ ।’


सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले खजे दुरालाई राष्ट्रिय विभूति बनाइनुपर्ने बताए । ‘इतिहासमा योगदान दिनेलाई कदर गरिनुपर्छ । गुमनाम राखिनुहुँदैन,’ उनले भने । गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारीले नेतृत्वको आवश्यकता परेको समय उनले शाहवंशीय राजाको स्थापना गरेर ठूलो योगदान गरेको बताइन् । ‘खजे दुरा, समुदायको उत्थान र पहिचानका लागि प्रदेश सरकारले सहयोग गर्छ,’ उनले आश्वासन दिइन् । भाषा, संस्कृति संरक्षणमा जुट्न उनले आग्रह गरिन् ।


खजे दुरा पार्क संरक्षण समितिका अध्यक्ष देवीजंग दुराले उनलाई वर्षमा एकपटक सम्झिनेबाहेक कुनै काम गर्न नसकिएको बताए । ‘उनलाई सदैव स्मरण गराउने काम सरकारका तर्फबाट पनि हुनुपर्छ,’ उनले भने । उनलाई राजसंस्थाको संस्थापकका रूपमा भन्दा पनि त्यतिबेलाको आवश्यकता, राजनीतिक स्थिरता र स्वाधीनताका लागि कर्मक्षेत्रमा होमिने योद्धाका रूपमा चित्रण गरिनुपर्ने दुरा समुदायले माग गरेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?