कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खेतबारी उपयोग गर्नेलाई पुरस्कार

प्रकाश बराल

(बागलुङ) — रोजगारीका लागि बिदेसिने युवा बढेपछि ताराखोला गाउँपालिकाले जमिन बाँझो हुनबाट रोक्ने अभियान चलाएको छ । अध्यक्ष प्रकाश घर्तीका अनुसार खेतबारी पूर्णरूपमा उपयोग गर्नेले पुरस्कार पाउने भएका हुन् । 

‘सबै खेतबारी पूर्णरूपमा उपयोग गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष घर्तीले भने, ‘आफैं कमाउन नसक्ने भए भाडामा भए पनि काम गर्नेलाई दिनैपर्ने भनेका छौं ।’ शर्त र सूचकसमेत राखेर कानुन बनाउन मस्यौदा थालिएको उनले बताए । ताराखोलामा घरघरै उद्यमी बनाउने अभियान सुरु भएको छ । यो अभियानले कृषि, पशुपालन र अन्य उत्पादनका लागि जमिन आवश्यक पर्छ । पाखोमा ढुंगाखानी, खोलाखोल्सीमा अलैंची खेती, मुख्य बारीमा आलु र तरकारी खेतीका लागि किसानलाई प्रोत्साहित गरिएको उनले बताए । गाउँपालिकालाई आलु र अलैंची जोन बनाउन लागिएको छ । त्यसका लागि अधिकतम जमिन उपयोग गर्नुपर्दा बाँझो जमिन रहनै नदिने उनले बताए । यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालनमा छ । बाँझिएको जमिनलाई उत्पादनमा लगाउन परियोजनामार्फत आगाडि बढाउने घर्तीले बताए ।


काठेखोला–५ को कर्लिम र ८ को लेखानीका अधिकांश जमिन बाँझो छ, आधा बढी घर रित्ता छन् । जमिनमा आवादी गर्नका लागि गाउँपालिकाले कानुन बनाएर उपयोग गर्न सक्छ, तर अहिलेसम्म त्यस्तो बनेको छैन । बसाइँ सराइले बाँझिएका जमिन उपयोग गरेर उत्पादन बढाउने योजना भए पनि कानुन नबनेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । भूउपयोग नीति बनाउने भन्ने चर्चा चले पनि केन्द्र र प्रदेश कानुन कुरेर बसेको उनले बताए । ‘यसअघि कानुन ल्याउने भनेका थियौं, त्यसका लागि प्रक्रिया, छलफल र केन्द्रीय कानुन पर्खेका छौं’ थापाले भने, ‘अभियानको रूपमा सन्देश भने सबैलाई पुर्‍याएका छौं ।’ खेर गएको जमिन उपयोग गरेर सहकारीमार्फत सामूहिक खेतीका लागि आह्वान गर्ने योजना उनले सुनाए ।


गलकोट नगरपालिकामा यो समस्या जटिल बन्दैछ । जापानलगायत अन्य देश जाने दर बढेपछि धेरै घर खाली छन् । जमिनमा आवादी गरिदिने कोही छैनन् । ‘हाम्रो राम्चेढुंगा गाउँका धेरै घर रित्तो भइसकेका छन्,’ स्थानीय थमन थापाले भने, ‘गाउँमा रोजगारी, शिक्षाको गुणस्तर र स्वास्थ्यको सेवा सहज भइदिए बसाइँसराइ कम हुन्थ्यो ।’ नगरप्रमुख भरत शर्मा गैह्रेले भू उपयोग नीति ल्याउने कुरा संघको अगुवाइमा भरपर्ने बताए ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?