निजी सवारीमा यात्रु !

कान्तिपुर संवाददाता

(लमजुङ) — रातो नम्बर प्लेटको पिकअप जिपले पछाडिसमेत यात्रु बोक्ने गरेका छन् । जिपमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता भए पनि सरोकारवाला भने मौन छन् । साथै निजी सवारी साधनले सार्वजनिकले भन्दा बढी भाडासमेत लिने गरेको पाइएको छ । 

ट्राफिक प्रहरीको आँखा छलेर जोखिमपूर्ण तवरबाट निजी सवारी साधनले भाडाका यात्रु बोक्ने गरेका हुन् । बेंसीसहरदेखि जिल्लाका विभिन्न ग्रामीण इलाका तथा मनाङसम्म निजी सवारीले भाडाका सवारीझैं यात्रु ओसार्दै आएका छन् ।


ट्राफिक प्रहरीका अनुसार रातो नम्बर प्लेटका धेरै सवारी साधनले भाडाका सवारी झैं यात्रु बोकेको भेटिएको छ । ट्राफिक प्रहरी प्रमुख सई छवबहादुर घर्तीले बढी भाडासमेत असुलेको पाइएको बताए । ‘हामीले समातेर २ हजार रुपैयाँसम्म जरिवाना गर्‍यौं,’ उनले भने, ‘अहिले पनि प्रहरीको आँखा छलेर निजी सवारी साधनले भाडाका यात्रु बोकिरहेकै छन् ।’ बेंसीसहरदेखि मनाङको खाङसार करिब ९० किमि सडकमा रिजर्भको नाममा एकतर्फी निजी सवारी साधनले ४० देखि ५० हजार रुपैयाँसम्म लिएको भेटिएको ट्राफिक प्रहरीले बताएको छ । घर्तीले मनाङ जाने सवारी साधनलाई ‘कन्ट्रोल’ गर्न निकै गाह्रो परेको बताए ।


चक्रीय अन्नपूर्ण पदमार्गमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको चाप छ । उनीहरू बेंसीसहरदेखि सीधै मनाङ, खाङसारलगायत ठाउँ पुग्छन् । तिलिचो पुगेर फर्केका एक यात्रुका अनुसार निजी सवारी साधनमा यात्रु बोकेका सवारीले बाटोमा रहेका प्रहरी चेकपोष्टमा ढाँट्छन् । चेकिङ नजिकै पुगेपछि बढी बोकेका यात्रु झार्छन् । ती यात्रुका अनुसार लमजुङको खुदी र मनाङको धारापानीमा जिप चालकले आफन्त भनेर ढाँट्ने गरेका छन् ।


ट्राफिक प्रहरीले असोज १५ देखि कात्तिक १५ गतेसम्म ३ सय १५ सवारी साधानलाई कारबाही गरेको जनाएको छ । गाउँगाउँमा ढुवानीका लागि लिएका रातो नम्बर प्लेटका सवारी साधन प्राय:ले भाडाका यात्रु बोकेको भेटिएको ट्राफिक सई घर्तीले बताए । सवारी साधनको पछाडिका सिट र हुट राख्न नदिए पनि फेरि राखेर यात्रु चढाउने गरेका छन् । डीएसपी रवीन्द्रमान गुरुङले चाडबाड साथै बढीमात्रामा यात्रु ओहोरदोहोर गर्ने समय सवारी आवागमनलाई सुरक्षित र मर्यादित बनाउन थप प्रहरी परिचालन गरिएको बताए । ‘जसरी हुन्छ, त्यसरी दुर्घटना न्यूनीकरण गर्ने हाम्रो अभियान हो,’ उनले भने, ‘यात्रुलाई सुरक्षित तवरले गन्तब्यमा पुर्‍याउन ट्राफिक प्रहरीले चालकलाई सचेत गराएका छन् । यात्रुलाई पनि सुरक्षित हुन आग्रह गरेका छौं ।’


प्रकाशित : कार्तिक २४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?