रुइला भञ्ज्याङ सडकले जोडिँदै

हरिराम उप्रेती

(गोरखा) — तिब्बती सीमा क्षेत्र रुइला भञ्ज्याङको ३५ नम्बर पिल्लरबाट गोरखातर्फ सडकको ट्र्याक खुल्ने भएको छ । फागुनबाट काम सुरु गरेर आगामी तीन वर्षमा ३१ किलोमिटर सडकको ट्र्याक खुल्ने भएको हो । 

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित साम्दोनुब्री क्षेत्रको अन्तिम बस्ती हो । चार हजार ९ सय ९८ मिटरको उचाइमा रहेको रुइला भञ्ज्याङबाट सडकको ट्र्याक खोल्ने कामको सुरुआत गरिने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए । साम्दोबाट ३५ नम्बर पिल्लरअन्तर्गत रुइला भञ्ज्याङसम्मको दूरी ९ किलोमिटर छ ।


रुइला भञ्ज्याङ–साम्दो–ल्हो–प्रोक–विहि–सिर्दिवास सडकका लागि चालु आर्थिक वर्षमा मन्त्रालयले २ करोड रुपैयाँ विनियोजन गरेको छ । सम्भाव्यता अध्ययन तथा अवलोकनका लागि प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सचिव मरहट्टासहितको टोली सीमा क्षेत्र पुगेर फर्किएका छन् । जाडो र हिउँ पर्ने सिजन सकिएसँगै फागुनबाट काम थाल्ने सचिव मरहट्टाले बताए ।


उक्त सडक निर्माण गर्न प्रदेशले गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ छुट्ट्याए पनि काम नहुँदा बजेट खर्च भएको थिएन । मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वातावरणीय अध्ययन गर्न समय लाग्दा काम हुन नसकेको मरहट्टाको भनाइ छ । ‘गत वर्ष वातावरण अध्ययनको काम नै सकिएन,’ उनले भने, ‘यो वर्ष अहिले अध्ययनको काम चलिरहेको छ, पुस माघको चिसो समयसम्म अध्ययन सक्ने लक्ष्यमा छौं ।’


सडकको ट्र्याक खोल्न उक्त क्षेत्रको भौगोलिक अवस्था निकै सहज रहेको स्थलगत अध्ययन गरेर फर्किएको टोलीको दाबी छ । ‘माथि भन्दा तल जटिल हो,’ सचिव महरट्टाले भने, ‘माथि काम गर्न निकै सहज हुने देख्यौं ।’

रुइला नाकाको ३५ नम्बर पिल्लर पुगेको मन्त्रीस्तरीय टोली र तिब्बतको कोङताङ पालिका प्रमुख धाचुङ रुचीबीच भेटघाट भएको छ । धाचुङले नेपालतर्फ सडकको ट्र्याक खोल्न निर्माण सामग्री तथा इन्धन ल्याउन सहज वातावरण बनाइदिने आश्वासन दिएका छन् ।

तिब्बतको सिमाना लार्के जोड्ने सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । बेनीघाट–लार्के सडक खण्ड अन्तरगत हावाडाँडाबाट काम सुरु गरेको सेना हाल चुमनुव्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा काम गरिरहेको छ ।


भौगोलिक विकटताका कारण अधिकांश ठाउँमा विष्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । २०७४ वैशाख ११ मा नेपाली सेनाका तत्कालीन प्रधान सेनापती राजेन्द्र क्षेत्रीले उक्त सडकको शिलान्यास गरेका थिए ।


लार्केभञ्ज्याङसम्मको सडकको ट्र्याक खोलिएसँगै गुम्दा लापु, उहियाँ, काशिगाउँ, केरौंजा, सिर्दिवास, विही, प्रोक र सामागाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त सडक खण्डलाई तिब्बतदेखि विरगञ्जसम्मको सबैभन्दा छोटो दुरीको रुपमा पनि लिइएको छ ।


रुइला भञ्ज्याङबाट पृथ्वी राजमार्गअन्तर्गतको बेनिघाटसम्म एक सय ४० किलोमिटर रहेकाले यो तिब्बती सीमा क्षेत्र पुग्ने छोटो दूरीको सडक बन्न सक्ने सचिव मरहट्टाले बताए ।


रुइला भञ्ज्याङबाट तिब्बतको कुन्ताङ सहर ४२ किलोमिर पर रहेकाले व्यापारिक प्रयोजनका लागि पनि उक्त मार्ग फलदायी हुने विश्वास लिइएको छ । हाल नुव्री उपत्यकाका स्थानीय उक्त नाका भएर तिब्बती बजारमा दैनिक उपभोग्य सामग्री खरिदका लागि जान्छन् । रुइला भञ्ज्याङ चुमनुव्री गाउँपालिकाको पछिल्लो बस्ती साम्दोबाट चार घण्टाको पैदल यात्रा पछि पुगिन्छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?