उपनिर्वाचन– ०७६ : नेकपाभित्र असन्तुष्टि

कान्तिपुर संवाददाता

(लमजुङ) — लमजुङमा मंसिर १४ मा सुन्दरबजार नगरपालिका– २ को वडाअध्यक्ष पदका लागि चुनाव हुँदै छ । कांग्रेसले उम्मेदवारको टुंगो लगाउन नसकिरहेका बेला नेकपा सुन्दरबजार नगरपालिका– २ भित्र पनि असन्तुष्टि देखिएको छ । 

ZenTravel

नेकपाले केही दिनअघि सुन्दरबजार नगर कमिटीका सदस्य तथा युवा संघका सुन्दरबजार नगर संयोजक नवीनकुमार श्रेष्ठलाई अध्यक्ष पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि विवाद बढेको हो । नेकपाको निर्णय नमान्ने भन्दै कार्यबहाक वडाअध्यक्ष जगतबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भने भएको छैन । २०७४ वैशाख ३१ को स्थानीय तह चुनावमा अध्यक्षमा निर्वाचित लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि साउन २० देखि खड्काले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

कार्यबाहक अध्यक्ष जगतबहादुर खड्का र नेकपाले सिफारिस गरेका नवीनकुमार श्रेष्ठ दुवै तत्कालीन एमालेका हुन् । नेकपा गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको इच्छाअनुरूप श्रेष्ठलाई उम्मेदवारका लागि निर्णय गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । नेकपा सुन्दरबजार २ का वडाअध्यक्ष रामकृष्ण थापाले टिकट कसले पायोभन्दा पनि पार्टीमा लामो समय काम गरेकाले अवसर नपाएको गुनासो गरे ।

नेकपा सुन्दरबजार– २ को वडा कमिटीले अध्यक्ष पदका लागि ११ जनाको नामावली नेकपा सुन्दरबजार नगर कमिटीसमक्ष सिफारिस गरेको थियो । ‘म कार्यबाहक अध्यक्ष भएपछि मेरो दाबी स्वाभाविक हो । कार्यबाहक हुँदा मैले कति योजना बनाएको छु । मलाई नभए अरू सिनियरलाई दिऊँ भन्दा पार्टीले मानेन,’ उनले भने, ‘जनताको माग पार्टीले नमानेपछि मैले राजिनामा दिनुपर्‍यो ।’

बेंसीसहरमा शनिबार पत्रकार भेटघाट गर्दै खड्काले सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रसमक्ष बिहीबार राजीनामा दिएका हुन् ।

नगर कमिटी अध्यक्ष भीम गुरुङले वडा कमिटीबाट सिफारिस भएर आएकालाई सुझावसहित जिल्ला कमिटीमा पठाएको दाबी गरे । आफूले नभई नगर कमिटीले सुझावसहित पठाएको उनले बताए । जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सदस्य मधु अधिकारीले सबैको सुझावका आधारमा जिल्ला कमिटीले सिफारिस गरेको दाबी गरिन् ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फेरि प्रदूषित हुँदै सिर्सिया खोला

कान्तिपुर संवाददाता

पर्सा — छठ पर्वमा प्रदूषण मुक्त भएको सिर्सिया खोलामा पुन: फोहोर बढ्न थालेको छ । सङ्लिएको खोलाको पानी फेरि धमिलिँदै छ । केही दिन ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगीले खोलामा फोहोर फाल्न थालेका छन् । 

प्रहरीले खोला प्रदूषणमा जिम्मेवार रहेको आरोपमा दुई साताअघि पर्सा बारा औद्योगिक करिडोरको हिमालयन लेदर उद्योगका व्यवस्थापक लिउता छुवाङ र म्यानेजर तिनजुङ गुरुङ पक्राउ गरेको थियो । ती दुईमध्ये छुवाङ चिनियाँ नागरिक हुन् भने गुरुङ भरतीय । उनीहरू यसै साता न्यूनतम धरौटीमा मुक्त भइसकेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएपछि करिडोरका अन्य उद्योगले पनि खोलामा प्रदूषित पानी फाल्न बन्द गरेका थिए । यतिबेला प्रहरी प्रशासनले अनुगमन कम गरेपछि उद्योगीहरूको मनोबल बढेको हो ।

सिर्सिया खोला बचाउ अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मी प्रहरी प्रशासनले प्रदूषणमा जिम्मेवार उद्योगीलाई कारबाही गर्ने बताए पनि व्यवहारमा उतार्न नसकेको आरोप लगाउँछन् । आफूहरूले पटकपटक दबाब दिँदा पनि खोलाको अवस्था जस्ताको त्यस्तै रहेकाले अब दलका जिल्ला नेताहरूको सर्वपक्षीय भेला गर्ने उनले बताए । ‘हामीले जुलुस धर्ना दिन सक्छौं, नैतिक दबाब दिन सक्छौं,’ कुर्मीले भने, ‘तर लाठी लिएर उद्योग बन्द गराउन सक्दैनौं, न्यायका लागि न्यायपालिका गुहार्नेदेखि नैतिक दबाब दिने काम पनि सँगै गर्ने छौं ।’

प्रजिअ नारायण भट्टराईले बिहीबार आफूले वीरगन्ज उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीसँग छलफल गरी खोलाको प्रदूषणमा जिम्मेवार उद्योगीलाई उद्योगबाट निस्किएको प्रदूषित पानी तथा अन्य अवशेष नफाल्न र अविलम्ब वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न निर्देशन दिएको बताए । ‘जसको उद्योगमा ट्रिटमेन्ट प्लान्ट छैन उसले प्लान्ट जडान गर्नुपर्छ, प्लान्ट भए पनि प्रयोग नगरी राखेका उद्योगीलाई प्रयोगमा ल्याउन कडा निर्देशन दिएको छुँ,’ उनले भने, ‘वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षले ५ दिनको समय माग्नु भयो, मैले ५ दिनमात्र नभई १० देखि १५ दिननै लिन भनेको छु, तर त्यति समयमा पनि उद्योगले गल्ती नसुधारे हामी अब कडा रूपमा प्रस्तुत हुने छौं ।’ केही दिनपछि खोलाको पुन: अनुगमन गरिने दोषी उद्योगीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनले बताए ।

बाराको सिमरादेखि वीरगन्जस्थित नेपाल भारत सीमासम्म करिब २५ किमि लामो यात्रा तय गर्ने सिर्सिया खोलाको पानी उदगमस्थलबाट २ किमिपछि क्रमश: दुर्गन्धित बन्दै जान्छ । यस क्षेत्रमा बनेको औद्योगिक करिडोरसँगै खोलामा फोहोर फाल्ने क्रम बढेको हो ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×