कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निर्माणाधीन छाडेर नयाँ बनाउने तयारी

अगन्धर तिवारी

(पर्वत) — किसानको उत्पादन बाह्रै महिना संकलन गरी बजार पठाउने उद्देश्यसाथ निर्माण थालिएको चिस्यानकेन्द्र अलपत्र परेको छ । मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र ३ वर्षदेखि अलपत्र परेको हो । गाउँपालिकाले भने ५ करोड लागत मूल्यांकन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ । 

जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्न लगायत स्टोर गर्ने योजना अनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पालामा ०७३/७४ मा निर्माण थालिएको थियो । कोल्डस्टोर बनाउन मोदी–२ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल ५ आना जग्गामा भवन निर्माण सुरु गरिएको हो । निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो । ‘बजेट विनियोजन भएपछि काम थाल्यौं,’ उनले भनिन्, ‘लागत मूल्यांकन अनुसार बजेट नआएपछि काम अघि बढेन । अपुग बजेट माग्ने दबाब पुगने ।’


दुईतले चिस्यानकेन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो । तर, लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ । अहिले भवनको भुई तल्लामा स्थानीयले घाँसपराल राखेर उपयोग गरिरहेका छन् । भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थांक्राका रूपमा प्रयोग गरिएको छ । भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ । समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ । ‘हामीले कौडीका भाउमा सुन्तला बेच्नुपरेको छ,’ स्थानीय दाताराम चापागाईंले भने, ‘कोल्डस्टोर भैदिएको भए फागुन–चैतमा सुन्तला पठाउन हुन्थ्यो । त्यो बेला डेढ सय रुपैयाँ किलोमा बेच्न पाइन्थ्यो ।’ देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो । यहाँ बर्सेनि ३ करोडको सुन्तला उत्पादन हुन्छ । सिजनमा ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके डेढसय रुपैयाँमा बिक्री हुने किसानले बताएका छन् ।


चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानीयले वडा, गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारेका छन् । तर, अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए । ‘हामीले वडाबाट गाउँपालिका, प्रदेश हुँदै केन्द्रसम्म बजेट माग गरेका थियौं,’ उनले भने, ‘प्रदेसबाट बजेट छुट्टिएको भन्ने छ । त्यसैलाई निरन्तरता दिने या अर्को बनाउने टुङ्गो छैन ।’ मोदीका अध्यक्ष प्रेम शर्मा पौडेलले चिस्यानकेन्द्र अन्तै बनाउने तयारी भइरहेको बताए । ‘पहिला व्यक्तिको जग्गामा बनाइएको रहेछ, व्यक्तिले हामीलाई सुम्पेकै छैनन्,’ पौडेलले भने, ‘त्यहाँ जग्गा पनि पुगेको छैन । बजेट आएको छ । नयाँ ठाउँ खोज्दैछौं ।’ गाउँपालिका गठन अघिको भएकाले भवनबारे गाउँपालिकाले चासो दिन आवश्यक नभएको अध्यक्ष पौडेलले बताए । चिस्यान केन्द्रका लागि ५० लाख बजेट विनियोजन भएको उनको भनाइ छ ।


विज्ञले भने कोल्डस्टोरको न्यूनतम मापदण्ड समेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफल अनुसार क्षमता कम हुने बताउँछन् । ‘योजना ठूलो देखिन्छ,’ उनले भने, ‘कोल्डस्टोरको भवन अलि ठूलो क्षेत्रफलमा चाहिन्छ । यसले लक्ष्य पूरा हुनसक्ने देखिन्न ।’ ५ आना जग्गामा २४ फिट चौडाइ र ५२ फिट लम्बाइको भवनले जिल्लाभर उत्पादन हुने अन्न तथा फलफूल स्टोर गर्न असम्भव हुने उनले बताए । ‘कोल्डस्टोर जिल्लाकै सम्पत्ति हुनुपर्छ । अहिले किसानले सास्ती पाएका छन् । कोल्डस्टोरमा पोखराको विकल्प पर्वत हुनुपर्छ । यसमा सबै पालिकाले समान चासो राखेर बनाउँदा उत्तम हुन्छ,’ रेग्मीले भने । किसानले आलुको बिउ, सुन्तला, मकै, धानलगायत चिस्यान केन्द्रमा राख्न प्रतिक्विन्टल २ हजारसम्म भाडा तिरेर पोखरा लैजांने गरेका छन ।


प्रकाशित : कार्तिक २३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?