मुहम्मद जन्मोत्सवमा शान्ति पदयात्रा

कान्तिपुर संवाददाता

(पोखरा) — मुस्लिमहरूको महान पर्व १२ रब्बिउल औवल अर्थात् १४९४ औं हजरत मुहम्मद जन्मोत्सव पोखरामा मनाइएको छ । 

मुस्लिम धर्मावलम्बीको बाक्लो बसोबास भएको पोखरा–१४ मियापाटनका स्थानीयले जन्मोत्सवका अवसरमा शुक्रबार शान्ति पदयात्रा गरेका हुन् । इस्लाम धर्मका अन्तिम सन्देष्टा (पैगम्बर) हजरत मुहम्मद सल्लल्लाहु अलैही बसल्लमको १४९४ औं जन्मोत्सव मियापाटनमा हरेक वर्ष मनाइन्छ ।


१२ रब्बिउल औवल मूल आयोजक समितिले र्‍यालीको आयोजना गरेको हो । मियापाटनबाट सुरु भएको र्‍याली अमरसिंहचोक, हस्पिटलचोक, रानीपौवा, शीतलादेवी, गौंडाकोमुख हुँदै मियापाटनमै पुगेर समापन भएको थियो । समितिका संयोजक हाजी अब्दुल रहिम मियाले विश्व शान्तिको कामना गर्दै र्‍याली आयोजना गरेको बताए । ‘इस्लामको अर्थ शान्ति हो,’ उनले भने, ‘विश्व शान्ति हाम्रो चाहना हो ।’


इस्लामिक पाठशाला व्यवस्थापन समितिका अध्यक्ष इकराम मियाले धार्मिक सद्भाव कायम राख्ने सन्देश दिन र्‍याली गरेको बताए । ‘पोखरामा सदियौंदेखि हिन्दु मुसलमान मिलेर बसेका छौं,’ उनले भने, ‘यो र्‍यालीले धार्मिक सद्भावको सन्देश दिन्छ ।’


समितिका उपाध्यक्ष सराफत अलि मियाले जन्मोत्सवकै अवसरमा शनिबार महिलाहरूको धार्मिक सभा र आइतबार विश्व शान्तिको कामना गर्दै प्रवचन कार्यक्रम राखेको जनाए ।

प्रकाशित : कार्तिक २३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?