एकादशीमा तोरण तार्ने घटे

ठूली एकादशीमा तुलसीको विवाह, शालिग्रामको पूजा र तोरण तार्नाले पितृलोकबाट मुक्त भइने जनविश्वास
प्रताप रानामगर, विना थापा

(दमौली) र (कास्की) — हरिबोधनी एकादशीको दिन तनहुँको भीमाद बजारमा परापूर्व कालदेखि मेला लाग्दै आएको छ । सेती नदीमा फूलको तोरण तार्न तछाडमछाड नै हुने गरको बुढापाका सम्झन्छन् । भीमाद बजारमा सेती नदी माथि १९ वटा सम्म फूलको तोरण तारेको स्थानीय देवीलाल भण्डारीले सम्झिए । ‘ठूली एकादशीमा तोरण तार्नेको भीड हुन्थ्यो,’ उनले भने, ‘अहिले तोरण कम मात्रामा तार्ने गरिएको छ ।’

एकादशीमा तोरण तार्ने घटे

भीमादमा स्याङ्जाको क्याक्मीदेखि हरिबोधनी एकादशीमा तोरण ल्याउने गरिएको थियो । तर, पछिल्लो समयमा तोरण कम मात्रामा तार्ने गरिएको छ । अघिल्लो वर्षमा जम्मा ५ वटा तोरण तारेको उनले बताए । यस वर्ष पनि अघिल्लो वर्षको हाराहारीमा तोरण तारिएको छ । धार्मिक विश्वास कम भएकाले तोरण घटेको स्थानीय बताउँछन् । त्यति मात्र नभइ अन्य ठाउँ तोरण तार्ने गरिएकाले पनि भीमादमा घटेको हो । पछिल्लो समय दुलेगौंडा र ऋषिङपाटन लगायतका ठाउँमा सेती नदीमा तोरण तार्ने गरिएकाले भीमादमा कम भएको हो । सिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिले सामाजिक सद्भाव कायम गर्न भीमाद बजारमा २०४५ सालदेखि सेती नदीमा सामूहिक तोरण तार्ने गरिएको छ । सामाजिक सद्भाव र समाजको भलोका लागि बर्सेनि तोरण तार्दै आएको समितिका अध्यक्ष गोविन्दराज शर्माले बताए ।


फूलको तोरण जस्तै यस कार्यले समाजलाई एउटै मालामा उन्ने काम गरेको उनले बताए । ‘१ सय ५० हात तोरण समाजका सबै मिलेर बाटेको हौं । फूल संकल्प गरेका छौं,’ उनले भने, ‘भीमाद बजारको पूलको सिमाना म्याग्देको फूलबारी टोल र भीमादको पुरानो र माथिल्लो बजारका करिब ७२ घरधुरीले सामूहिक तोरण तारेका छन् ।’ बर्सेनि तोरणको संख्या घट्दै गएको प्रति उनी दु:ख व्यक्त गर्छन् ।


भक्तजनले विष्णु भगवान्को पूजा आराधना गर्दै व्रत बसी तुलसीको बिहे गरी सेती नदीमा तोरण तार्दै आएका छन् । स्याङ्जाको राम्चे, साँखर, क्याक्मी, तनहुँको किहुँ, अरुणोदय, भानुमती, माझकोट, रिसिङ, घिरिङ लगायतका ठाउँबाट सेती नदीमा तोरण बनाएर फूल तारिन्छ । फूलको तोरण तार्दा पञ्चेबाजा, मौलिक बाजा खैजेडी, मादलको तालमा भक्तजन नाचगान गर्छन् । हरिबोधनी एकदशीको अवसरमा तनहुँको पवित्र तीर्थस्थल देवघाट धाममा विशेष मेला लाग्ने गर्दछ । त्यस्तै शिशाघाट, दमौली, आँधीमूलमा पनि मेला लाग्ने गर्छ ।


भक्तजनको घुँइचो

पोखराको रामघाटमा हरिबोधनी एकादशीका दिन भक्तजनको घुँइचो लागेको छ । सेती नदीमा गएर स्नान गरी भगवान् विष्णुको पूजा गरे मनले चिताएको पूरा हुने भक्तजनको विश्वास छ । पोखराको नदीपुरस्थित नारायणस्थान, केआईसिंह पुल, गाईघाट लगायत स्थानमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो थियो । आषाढ शुक्ल एकादशीको दिनदेखि सुरु भएको चतुर्मास व्रत हरिबोधनीका दिन सकिन्छ । चतुर्मास ब्रत बस्नेले यो दिन फूलको तोरण बनाएर डोलीमा बोकेर नदी किनार र किनार नजिकको पुलमा तार्ने समेत गरेको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजीप्रसाद कोइरालाले बताए । उनका अनुसार एकादशीका दिन शालिग्राम र तुलसीको विवाह समेत गरिन्छ ।


शालिग्राम नदीमा भएकाले धेरै भक्तजनले आफूलाई पायक पर्ने नदी नजिक पुगेर तुलसीको बोट लगेर पुजा गर्छन् । नदीमा शालिग्राम भएकाले शालिग्रामलाई माला अपर्ण गरेस्वरूप खोला र पुलमा एकादशीको अवसरमा तोरण तार्ने गरेको समेत उनले बताए । रामघाटमा स्याङ्जा, तनहुँ लगायतका नजिकका छिमेकी जिल्लाबाट पनि तोरन ल्याएका थिए ।


प्रकाशित : कार्तिक २३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?