कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

धार्चेमा केन्द्रीय बिजुली

कान्तिपुर संवाददाता

(गोरखा) — भूकम्पले हाइड्रो पावरमा क्षति पुर्‍यायो । धार्चे गाउँपालिका–७ लापुस्थित लिदिङका स्थानीयले ४ वर्षयता सोलार र टुकीको भरमा रात काटे । यही गाउँमा केही अघि बिजुली पुगेको छ । धार्चे गाउँपालिकाभरिमै पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली लिदिङका १० घरमा बलेको छ ।

धार्चेमा केन्द्रीय बिजुली

‘अब सधैं बत्ती बल्ने भयो,’ स्थानीय सन्तबहादुर गुरुङले भने, ‘यो तीन–चार वर्ष निकै कठिनाइसाथ रात काट्यौँ ।’ गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न स्थानीय आधा घण्टा पैदल हिँडेर सोती झर्थे । विद्युत् अभावमा घरघरमा टेलिभिजन थन्किएका थिए । ‘सोलारले नधानेपछि टीभी पनि चलेन, चार वर्षसम्म थन्किएको टीभी बिग्रिसकेका रहेछन्, अहिले मर्मत गरेर देश विदेशका खबर हेर्न थालेका छौँ,’ स्थानीय बेली गुरुङले भनिन् । बिजुली बलेपछि स्कुले विद्यार्थीलाई पठन–पाठनमा सहज भएको उनले सुनाइन् । भूकम्पअघिसम्म यहाँ स्थानीयले नौली खोला लघुजलविद्युत्बाट उत्पादित बिजुलीको प्रयोग गर्दै आएका थिए ।


धार्चे गाउँपालिकाको अधिकांश बस्तीमा लघु जलविद्युत्बाट उत्पादित बिजुली प्रयोग हुँदै आएको छ । २०७२ वैशाख १२ को भूकम्पले लघु जलविद्युत्मा क्षति पुर्‍याएपछि केही बस्तीमा भने अझै बिजुली बलेको छैन । गाउँपालिकाको केन्द्र माछाखोला नै विद्युत्विहीन छ । सोलार जडान गरेर गाउँपालिका कार्यालयको काम मुस्किलले हुँदै आएको छ । ४५ किलोवाट क्षमताको भोटखोला साना लघुजलविद्युत् आयोजनालाई भूकम्पले क्षति पुर्‍याएदेखि समस्या थपिएको स्थानीय व्यापारी धनबहादुर गुरुङले बताए । ‘मर्मत गर्नै नसक्ने गरेर पहिरोले कुलो बगायो,’ उनले भने । लघुविद्युत्बाट उत्पादित बिजुली माछाखोलाका एक सय र लप्सीबोटका एक सय घरले प्रयोग गर्दै आएका थिए । ‘दुवै गाउँमा समस्या छ, घर–घरमा सोलार छ, तर धान्दैन,’ उनले भने, ‘टीभी हेर्न पाएका छैनौ., फ्रिज चलेको छैन, घाम नलागेको दिन त सोलारले काम पनि गर्दैन, मोबाइल पनि चार्ज नहुने भोल्ट आउँछ, बिजुली बाल्ने बानी परिसकेपछि कस्तो कस्तो हुँदो रहेछ ।’ माछाखोला मनास्लु पदमार्गको व्यापारिक केन्द्र हो । बिजुली नहुँदा पर्यटकलाई क्यामेरा र मोबाइल चार्ज गर्न समस्या छ ।


गाउँपालिकाको केन्द्रसहितका बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारका लागि गत आर्थिक वर्षबाट काम सुरु भएको छ । तर ढिलाइ भएको भन्दै स्थानीय असन्तुष्ट छन् । आरुघाट गाउँपालिकाको खुर्सानीबारीबाट माछाखोलासम्मको १५ किलोमिटर क्षेत्रमा पोल गाड्ने काम सकिएको विद्युत् प्राधिकरण आरुघाट वितरण केन्द्रका प्रमुख नीरज पौडेलले बताए । ११ केभीको लाइन विस्तार गर्न लागिएको उनले बताए । लिदिङ केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्ने धार्चेकै पहिलो गाउँ रहेको पनि उनले सुनाए ।

‘५० प्रतिशत काम सकिसकेका छौँ, दुई सय ७५ पोल गाडीसक्यौं,’ उनले भने, ‘अब तार टाँग्ने काम बाँकी छ, वैशाखसम्म माछाखोला बिजुली पुर्‍याउँछौँ ।’ माछाखोलासम्म विद्युतीकरणका लागि २ करोड बजेट आएको उनले बताए । पहिलो चरणमा भिरकुना, माछाखोला हुँदै लप्सीबोटसम्म विद्युतीकरण गर्ने योजना छ । ‘भिरकुनामा अब फिनिसिङको काम बाँकी छ,’ उनले भने । भूकम्पपछि धार्चेका ६ सय घरले लघुजलविद्युत्बाट उत्पादित बिजुलीको प्रयोग गर्न नपाएको उनले बताए । प्राधिकरणले भूकम्पले लघु जलविद्युत् भत्काएका गाउँलाई प्राथमिकतामा राखेको छ । उत्तरी क्षेत्रमा विद्युत् विस्तारका लागि प्रदेश सरकारले यस वर्ष ६ करोड छुट्टाएको छ ।


धार्चेसँगै चुमनुब्री गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको तयारी भइरहेको छ । धार्चेबाट चुमनुब्रीको यारुबगरसम्म विद्युत् विस्तारका लागि ३ सय पोलको आवश्यकता रहेको उनले सुनाए । चुमनुब्रीका बस्तीमा पनि लघु जलविद्युत्कै भर छ । उत्तरी गोरखामा धादिङ हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएकाले अब सबस्टेसनको आवश्यकता देखिएको पौडेलले बताए ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?