कौसीमै २ सय केजी तरकारी

विना थापा

(कास्की) — पर्यटकीय सहर पोखराको शिवालय चोककी सरस्वती थापाले एक वर्षमा २ सय केजी तरकारी कौसीमा फलाइन् । मौसमअनुसारका तरकारी लगाउने भएकाले उनले बाहिर खासै किन्नु पर्दैन ।

कौसीमै २ सय केजी तरकारी

‘१५ वर्षदेखि कौसीमा तरकारी फलाएर खाँदै आएका छौ,’ उनले भनिन्, ‘अहिले तरकारीसँगै विभिन्न जातका फलफूल पनि फलाएको छु ।’ पोखरा–८ कृषि सञ्जालकी संयोजकसमेत रहेकी उनी औषधि व्यवसायी भए पनि फुर्सदको समय सदुपयोग गर्दै कौसीमा खेती लाग्छिन् ।


पोखरामा पछिल्लो समय कौसी खेतीतर्फ स्थानीय आकर्षित भएका छन् । जमिन घरघडेरीमा परिणत भएपछि खेतीयोग्य जमिन घट्दै गएको छ । यसकारण पनि स्थानीय कौसी खेतीमा लागेका हुन् । ‘एकातिर कौसीको सदुपयोग, अर्कोतर्फ अर्गानिक खान पाउने,’ थापाले भनिन्, ‘घरको फोहोरमैलाको व्यवस्थापन पनि भएको छ ।’ थापाले आँप, कागती, स्ट्रोबेरी, अम्बालगायत फलफूलसमेत कौसीमा लगाएकी छन् ।


गत वर्ष वडाले दिएको तालिमपछि खेती लगाउन थालेको पोखरा–८ का डम्बर सुवेदी बताउँछन् । उनले पहिला तरकारीमा धेरै पैसा खर्च हुने गरेकोमा अहिले स्वाट्टै घटेको बताए । पुराना नचाहिने भाडाहरू संकलन गरेर घरको छतमा तरकारी लगाएर घरमा खाना पुगेको उनको भनाइ छ । पोखरा–८ नागढुङ्गा विकास समाजका अध्यक्षसमेत रहेका सुवेदीले सामूहिक रूपमा कौसी खेती गर्दै आएको बताए । वडावासी कृषि खेतिमा निकै उत्साहित देखिएको पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए । उनका अनुसार गत वर्ष २ लाख रुपैयाँ र चालु वर्ष ३ लाख वडाले बजेट विनियोजन गरेको छ । वडाबाट गत वर्ष ६ सय जनालाई तालिम दिइएकोमा ७५ प्रतिशत सफल भएको उनको दाबी छ । अहिले कृषकहरूले एड्भान्स तालिमको माग गरेको अध्यक्ष बरालले बताए ।


यसैगरी पोखरा–९ मा समेत कौसी खेती गर्नेको संख्या बढेको अध्यक्ष रामराज लम्सालले बताए । कोसी खेतीका लागि वडाले १ लाख रुपैयाँ विनियोजन गरेको छ । पोखराका घना बस्ती भएको विभिन्न वडामा जग्गा थोरै भएको र फोहोरमैला व्यवस्थापनका लागि कौसी खेतीको अभियान चलाइएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार यसले पोखरालाई सफा र सुन्दर बनाउनुका साथै तरकारी आयातमा न्यूनीकरण हुन्छ । महानगरले कौसी खेतीका लागि चालु वर्ष ९ लाख रुपैयाँ विनियोजन गरिएको छ । घना बस्ती भएका १, २, ३, ४, ६, ७, ८, ९, १० र १७ गरी १० वटा वडालाई खेतीका लागि लक्षित गरिएको कडरियाले सुनाए ।


पोखरामा दैनिक ५० टन तरकारी भित्रिन्छ । जसमा १५ प्रतिशत मात्र कास्कीले धान्छ । बाँकी भारत, धादिङ, मकवानपुर, काठमाडौं, चितवनलगायतका जिल्लाबाट भित्रिन्छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?