सडकसँगै खुले आम्दानीका बाटा

कालीगण्डकी लोकमार्गले धेरैलाई होटल व्यवसायी बनायो । कतिपयले जिप मोटर किनेर सञ्चालन गरेका छन् ।
अगन्धर तिवारी

(पर्वत) — पैयुँ गाउँपालिका–३ बेउलीबासकी कोपिला काफ्ले त्रिवेणी बजारमा बसाइ सरेको १२ वर्ष भयो । बसाइ सरेको ३ वर्षसम्म उनले कष्टले बिताइन् । जब हुवास–त्रिवेणी–वाहाकी हुँदै रानीपानीसम्म सडक खुल्यो, काफ्लेका दिन सुधारिए । 

तत्कालीन चल्तीको पैदलमार्गको छेउमा ९ आना जग्गाको घर किनेर बेउलीबासको गाउँबाट बसाइ सरेकी काफ्लेको दैलाकै बाटो सडक बनेपछि सवारी चाप बढ्न थाल्यो । बिहादी, बाच्छा, रानीपानीवासी यही बाटो हुँदै सवारीसाधनमा पोखरा र बुटवलसम्म पुग्न थाले । काफ्लेले खाजाघर सुरु गरिन् । वैदेशिक रोजगारीमा गएका श्रीमान्लाई कतारबाट बोलाइन् । दुवैले व्यवसाय विस्तार गरे । विदेशको कमाइले व्यवस्थित घर बनाए । घर बनेपछि पाहुना राख्न सुरु गरे । आवासीय सुविधासहितको होटल सुरु गरेयता दैनिक ५–७ जना पाहुना कहिल्यै नटुटेको कोपिलाले बताइन् । ‘सडक खुलेपछि हाम्रो भाग्य चम्किएको छ,’ उनले कान्तिपुरसित भनिन्, ‘अब यो बाटो पिच भइदिए बुटवलदेखि बागलुङसम्मका मान्छेको भीड हुन्थ्यो ।’ त्रिवेणीको अर्थुन बजारमा उनको मात्रै आवासीय होटल छ । अहिले दक्षिण पर्वतको यात्रामा जाने जो कोहिले पनि बसोबासको समस्या झेल्नुपर्दैन । दक्षिणमा सडक सञ्जाल पुगेपछि कोपिलाको जस्तै बिहादी–४ वाहाकीठाँटीकी राममाया श्रेष्ठले पनि राम्रो व्यवसाय चलाएकी छन् । सडक सञ्जाल सुरु भएपछि वाहाकीको उपल्लो टारीबाट ठाँटीमा व्यवसाय सुरु गरेकी श्रेष्ठकोमा बास बस्ने पाहुनाको भीड लाग्छ । ‘साताअघिदेखि नै कोठा बुक गरेर बस्न आउँछन्,’ श्रेष्ठले भनिन्, ‘व्यवसाय बढाउने सोचमा छु ।’

दक्षिणका सबैजसो गाउँमा सडक सञ्जालले छोएको धेरै समय भएको छैन । दक्षिणका बिहादी र पैयुं गाउँपालिकाका सबै वडामा ९ वर्षअघि मात्रै सडक सञ्जाल पुगेको हो । स्थानीय तह कार्यान्वयनमा आएपछि ट्र्याक खुलेका सडकलाई गाउँपालिकाले स्तरोन्नती सुरु गरेका छन् । स्तरवृद्धिपछि २ वर्षयता पैयुं र बिहादी गाउँपालिकाका सबै वडामा बाह्रै महिना सवारी चल्न थालेका छन् । त्यसबाहेक उत्तरदक्षिण जोड्ने कालीगण्डकी लोकमार्गले पनि यी गाउँवासीलाई थप सहज बनाएको छ । करिडोरको फलेबास–११ पाङराङ र बिहादी खण्डको सबैजसो भागको ट्र्याक खुलेर स्तरोन्नतिको चरणमा छ । सडक सञ्जाल पुगेपछि काफ्ले र श्रेष्ठजस्ता दर्जनौं सर्वसाधारणले सडकछेउमा सानोतिनो व्यवसाय सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । कतिपयले ग्रामीण भेगमा चल्ने जीप र बससमेत सञ्चालन गरेर नियमित आम्दानी गरिरहेको बिहादी–४ का रिखिराम भुसालले बताए ।

दुई लेनको कालीगण्डकी लोकमार्गको विस्तारले पनि दक्षिणवासीमा विकासका आशा जागेको हो । फलेबास–११ पाङराङको कर्नासदेखि बिहादीको बाच्छा, बर्राचौर, रानीपानी र शालिग्रामसम्म विस्तार भएको कालीगण्डकी लोकमार्ग यति बेला ग्राभेल र ग्रेडिङको चरणमा छ ।

लोकमार्गको स्तरवृद्धि भएपछि व्यवसाय मात्रै नभएर यात्रामा समेत सहज हुने विश्वास दक्षिणवासीको छ । ‘पहिला बुटवल पुग्न २ दिनसम्म लाग्थ्यो,’ बिहादी–३ का हरि न्यौपानेले भने, ‘अहिले ६ घण्टामै पुगिन्छ । करिडोर सम्पन्न भए ३ घण्टा पनि लाग्दैन ।’ दैनिक उपभोग्य सामान, उच्च शिक्षालगायतमा बुटवलकै भर पर्ने यस क्षेत्रका बासिन्दाले अब छिट्टै लोकमार्ग कालोपत्रे हुनुपर्ने माग राखेका छन् । ‘चुनावका बेला धेरै नेताले आश्वासन दिएका छन्,’ बिहादी–३ रानीपानीका रामु पराजुलीले भने, ‘नेताको आश्वासन पूरा हुनुपर्छ । हाम्रो भरोसा भनेकै यही लोकमार्ग हो ।’ लोकमार्ग सम्पन्न भए रोजगारीका अवसर मात्रै नभएर स्थानीय उत्पादन छिमेकी मुलुक चीन र भारतसम्म पुर्‍याउनसमेत सहज हुने उनले बताए । बिहादी धान, मकैलगायतको अन्न र आँप, लिचीका लागि उपयुक्त क्षेत्र हो ।

कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा काम निकै सुस्त गतिमा हुँदा दक्षिण पर्वतलाई सदरमुकाम र अरू जिल्लासम्मको यात्रामा भने समस्या भएको छ । २०७३ असारमा सम्झौता भई २०७५ जेठभित्रै ट्र्याक खोलिसक्ने गरी सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सनले काम बीचैमा छोडेर करीब एक वर्षसम्म सम्पर्कविहीन भएपछि सर्वसाधारणले उक्त कम्पनीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किलोमिटर सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको पाल्पास्थित कार्यालयले जनाएको छ । पाल्पास्थित कार्यालय प्रमुख नरेन्द्र सुवेदीका अनुसार ठेक्का सम्झौता मितिमा काम नसकेपछि कन्स्ट्रक्सनलाई जरिवानासहित मिति थपिएको थियो । थपिएको मिति मंसिरमा सकिने आयोजना प्रमुख सुवेदीले बताए । उनका अनुसार मंसिरसम्म पनि काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने तयारी कार्यालयले गरेको छ । कम्पनीले १४ किलोमिटर ट्र्याक, नाली र आवश्यक अरू संरचना निर्माणका लागि कम्पनीले ९ करोड १७ लाख ४९ हजार रुपैयाँको लागतमा ठेक्का लिएको थियो ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गढीमाई मेलाको विवाद सल्टियो

कान्तिपुर संवाददाता

सिमरा — सर्वाधिक बलि चढाइने बाराको बरियारपुरमा अवस्थित गढीमाई पञ्चवर्षीय मेला लगाउन लामो समयदेखिको विवाद सल्टिएको छ । मेलाको व्यवस्थापन कसले गर्ने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच विवाद थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक विकासराज खनाललगायतको पहलमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकारीबीच छलफल भएको थियो ।
छलफलको क्रममा नगरपालिका र विकास समितिले विभिन्न ७ बुँदे सहमति गरेपछि उत्पन्न विवाद समाधान भएको हो । विवाद समाधान भएपछि गढीमाई मन्दिर परिसरमा सोमबार महागढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गरी मेलालाई सभ्य र भव्य तरिकाले मेला लगाउन नगरपालिका र विकास समितिले आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले मेलालाई थप व्यवस्थित गर्न सबै जिल्लावासीलाई सहयोग गर्न आग्राह गरे । ‘हामीबीच अहिले कुनै विवाद छैन,’ उनले भने, ‘सबै विवाद समाधान भइसक्यो ।’ अब हाम्रो एउटै लक्ष्य हो मेलालाई भव्य रूपले सफल बनाउने । हामीले मेलालाई राम्ररी सञ्चालन गर्न एक ढिक्का भएका छौं । मेलामा अब कुनै विवाद नरहेको उनले स्पष्ट पारे । महागढीमाई नगरपालिकाका प्रमुख (मेयर) उपेन्द्रप्रसाद यादवले विवाद समाधान गर्न समन्वयकारी भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारीलाई धन्यवादसमेत दिए ।

मेलालाई भाँड्न बाहिरी तत्त्वले राजनीतिक खेल खेलेको कारण विकास समिती र नगरपालिकाबीच मतभेद उत्पन्न भएको बताए । नगरवासीले बाहिरी प्रभाव र राजनीतिक चलखेललाई अस्वीकार गरेकै कारण विवाद समाधान भएको उनले जिकिर गरे । ‘गढीमाई मेलाको विषयमा हामी नगरवासी एक ढिक्का भएका छौं,’ उनले भने, ‘हामीबीच अब कसैले फुट गराउन सक्दैन ।’ मेलाको विवाद समाधान भएकाले मेलामा आर्थिक कारोबार गर्न आउने व्यापारी, श्रद्धालु भक्तजन सबैलाई निर्धक्क भएर मेलामा आउन उनले आग्रह गरे ।

पत्रकार सम्मेलनमा स्थानीय समाजसेवी रामबाबुप्रसाद यादवले सहमतिपत्र पढेर सुनाउँदै नगरपालिकाले गठन गरेको मेला सञ्चालन समितिलाई निरन्तरता दिन सहमति भएको जानकारी दिए । महागढीमाई नगरपालिका वडा नं. १ का अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामै रहेको समितिमा विकास समितिले तोकेको व्यक्तिलाई थप्ने सहमति भएको उनले जनाए ।

सहमतिअनुसार नगरपालिकाले मनोनयन गरेको मेला समितिमा २ जना उपाध्यक्ष थप गर्ने र मनोनयन भएका ज्येष्ठ उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्ने सहमति भएको उनले बताए । समितिका अन्य पदाधीकारीमा एक/एक जना थप मनोनयन गर्ने सहमति पनि भएको छ । मेलाबाट उठेको रकम व्यवस्थापन गर्न कोष खडा गर्ने जसमा नगरपालिकाको तर्फबाट २ र समितिबाट २ सदस्य रहने र मनोनीत ४ जनाकै नामबाट अनिवार्य दस्तखत रहने गरी कोष खाता सञ्चालन गर्ने, गढीमाई मेला सञ्चालनबाट उठेको रकम गढीमाई क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने र उक्त रकम खर्च गर्दा कोष खाता सञ्चालकको सिफारिसअनुसार योजनाअनुरूप गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×