२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चितुवा आतंक : साँझ नपर्दै गाउँ सुनसान

सम्झना रसाइली

(तनहुँ) — न एक्लै हिँड्न सकिन्छ न साँझ–बिहान भन्न । बालबालिका त झन् एक्लै छाड्नै हुन्न । साँझ ५ बज्दानबज्दै भानु–२, नारेश्वरटारकी सीता अधिकारीको परिवार झ्याल–ढोका लगाएर बस्छ । त्यसपछि कोही बाहिर निस्कँदैनन् । तैपनि ढुक्क हुँदैनन्, कतिबेला चितुवा आउने हो भन्ने चिन्ताले सताइरहन्छ ।

चितुवा आतंक : साँझ नपर्दै गाउँ सुनसान

भानु नगरपालिकाको १, २, ३ र ४ वडाका बासिन्दा झन्डै दुई वर्षदेखि भोक न निद्राको अवस्थामा छन् । यस अवधिमा चितुवाको आक्रमणबाट ६ बालबालिकाको मृत्यु भइसकेको छ । चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि साँझ नपर्दै झ्याल–ढोका थुनेर बस्नुपरेको भानु–१, भन्सारकी ७० वर्षीया मदनकुमारी बोहोरा बताउँछिन् । ‘चितुवाकै कारण बच्चाहरू स्वतन्त्र भएर खेल्न, रमाउन पनि पाएका छैनन्’, उनले भनिन् ।


नगरपालिकाका १३ वटै वडाका ५ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा ९६ सामुदायिक वन छन् । राष्ट्रिय र निजी वन पनि उत्तिकै छन् । यिनै वन क्षेत्रसँग बस्ती जोडिएको छ । वनले स्थानीयको जीवनस्तरमा सुधार पनि ल्याएको छ । संरक्षण र प्रवर्द्धनले वनक्षेत्रमा वृद्धि पनि भएको छ । तर, यही बड्दो वन र यहाँ विचरण गर्ने वन्यजन्तुका कारण अहिले यस नगरपालिका क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ ।


सामुदायिक वन क्षेत्रसंगै जोडिएका बस्तीमा नरभक्षी चितुवा घरमै आइ बालबालिकालाई आक्रमण गर्दा स्थानीय आतकिंत छन । साँझ ५ देखि ७ बजेको समयमा चितुवा मानव बस्तिमा आई आँगनमा खेल्दै गरेका बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेपछि स्थानीय यतिबेला साँझ पर्न नपाउँदै झ्यालढोका थुनेर घरभित्र बस्न बाध्य छन् । अहिले चितुवा प्रभावित क्षेत्रका अधिकांश बस्ती साँझ ५ नबज्दै सुनसान हुन्छन् । पहिले घरको कामधन्दा भ्याएर वन जंगलमा घाँसदाउराका लागि जाने स्थानीय अहिले वनजंगलको छेउछाउ जान पनि डराउने गरेका छन् । ‘दिउँसै बाहिर निस्कन डर छ’, भीमसेनथुम्की सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्षसमेत रहेकी बोहोरा भन्छिन्, ‘पहिले साँझ परेपछि सबै मिलेर सुखदुःखको कुरा गर्न कति रमाइलो हुन्थ्यो तर अहिले त्यो समय रहेन । चितुवाको कारणले घरमा आउने पाहुनालाई पनि दिउँसोको समयमै बोलाउनुपर्ने बाध्यता आइलागेको छ ।’


भानु–२ फुस्रेटारका ७१ वर्षीय सुर्जकुमार श्रेष्ठले शौचालयको व्यवस्था घरभित्रै गरेको बताउँछन् । ‘घरभन्दा अलिक पर शौचालय छ,’ उनले भने, ‘घरमा बुढाबुढी मात्र छौं । रातिको समय शौच लाग्यो भने बाहिर निस्कनै डर लाग्छ । त्यसैले घरभित्रै एउटा कुनामा शौचको व्यवस्था मिलाएको छु ।’ घरको आँगनमा सबै वरपरका छिमेकी मिलेर गफ गरेको विगतलाई सम्झँदै श्रेष्ठले त्यो अवस्था हराएको बताए । नरभक्षी चितुवा चाँडै नियन्त्रण नगरिए ५ नबज्दै बस्ती सनुसान हुने अवस्था रहेको उनले बताए । पछिल्लो समय सडक तथा खेतबारीमा बच्चासहितको चितुवा दिउँसै हिंड्न थालेपछि स्थानीय झनै आतंकित छन् । करेसाबारीमा तरकारी टिप्न जान पनि डर लाग्ने श्रेष्ठले बताए ।


लमजुङको सुन्दरबजार घर भई भानु–२ माइती भएकी आसना खानलाई माइती आउन पहिला जस्तो उत्साह छैन । ‘डर र त्रासपूर्ण वातावरणमा आउनुपर्छ । पहिले सबै दिदीबहिनी भेट हुन्थ्यो, रमाइलो हुन्थ्यो,’ उनले भनिन्, ‘साँझ नपर्दै घर ड्यामडुम पारेर बस्नुपर्ने अवस्था छ । घरमा हुँदा साझपख माइती गाउँबाट कसैले फोन गरे पनि चितुवाले के गर्‍यो भन्ने सोचेर पहिल्यै मन डराउँछ ।’


चितुवाले गोठमा बाँधेका गाई, बाख्रा पनि खाइदिने गरेको छ । घरपालुवा जनवार त खायो खायो, मान्छेलाई समेत आक्रमण गरी ज्यान लिन थालेपछि आफूहरू कता जाने के गर्ने अवस्थामा पुगेको भानु–१ का अध्यक्ष प्रेमबहादुर लामाले बताए । ‘साँझ र बिहानमा एक्लै बाहिर हिंड्न सक्ने अवस्था छैन,’ उनले भने । चितुवाको आक्रमणबाट ६ बालबालिकाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । पहिलोपटक २०७४ फागुन १ मा भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले मारेको थियो । पछिल्लोपटक यही कात्तिक ११ मा भानु–२ फुरसेटारका ७ वर्षीय ऋतिक रोकाको ज्यान गएको छ । यस्तै यो अवधिमा चितुवाले करिब ७० घरपालुवा जनावर खाएको डिभिजन वन कार्यालयले जनाएको छ ।


चितुवाको कारणले विद्यालय जानआउन पनि डर भएको भानु–१ का १६ वर्षीय प्रितम परियारले बताए । ‘४/५ बजेतिर स्कुल छुट्टी हुन्छ । चितुवाले पनि ५ र ६ बजेतिर बालबालिका खाँदै आएको छ, त्यही भएर एक्लै हिंड्न पनि डर लाग्छ’ उनले भने । परियार विद्यालयबाट घर गएपछि घरभित्रै बसिरहने बताउँछन् । पहिले बेलुकीपख खेल्ने गरेकामा अहिले भने वञ्चित भएको उनले जनाए । चारवटै वडामा ४ हजार ३ सय १० घर र साढे २७ हजार जनसंख्या छ । चितुवाका कारण स्थानीयको दैनिकी पानीपधेरो, घाँसदाउरा गर्नेदेखि बालबालिकालाई विद्यालय पठाउन र ल्याउने कार्यमा समेत असर परेको भानु–१ भीमसेनथुम्की सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर थापा बताउँछन् । ‘विद्यालय जंगलको छेउमा छन्,’ उनले भने, ‘विद्यालयबाट छुट्दा ढिलै हुन्छ । विद्यार्थी घर फर्किन पनि नसक्ने अवस्था रह्यो ।’


चितुवा आतंक बढेसँगै सरोकारवाला निकायले नियन्त्रण प्रयास जारी राखेका छन् । वनमा बनाइएको परम्परागत काठको खोरमा बाख्रासहित थापिएको पासोमा २ भाले चितुवा परेका र तिनलाई अन्यत्र लगिएको छ । ३ चितुवा मृत अवस्थामा भेटिए पनि अझै बालबालिकालाई आक्रमण गर्न छाडेको छैन । यस क्षेत्रमा चितुवाको संख्या यकिन हुन सकेको छैन र कुन चितुवा नरभक्षी हो भन्ने पनि पत्तो नलाग्दा नियन्त्रणमा लिन गाह्रो भएको छ । जिल्ला प्रशासनले सम्भव भएसम्म सुरक्षित रूपमा नियन्त्रणमा लिने, नभए मार्नेसम्मको निर्देशन सुरक्षा निकायलाई दिएको छ । यस क्षेत्रमा अहिले १९ जनाको विशेष सुरक्षा दस्ता परिचालित छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रण गर्न नसकिएपछि गृह मन्त्रालयसँग सार्पसुटरसहित विशेष सुरक्षा दस्ता र प्रभावित वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको बताए ।


यस्तै, आफ्ना नगरबासीलाई चितुवको आक्रमणबाट जोगाउन तत्काल र दीर्घकालीन योजना बनाएको नगरप्रमुख उदयराज गौलीले बताए । उनले भने, ‘तत्कालिक उपायका लागि आफ्ना घर वरपरका झाडी फाँडी सरसफाइ गर्न र जनचेतनामूलक सूचना प्रवाह गरिएको छ । दीर्घकालीन समाधानका लागि जंगलमा मृग, खरायो छोड्ने, जंगली फलफूल जंगलमै लगाउने तयारी भएको छ भने नरभक्षी भएको चितुवा पहिचान गरी सम्भव भए सुरक्षित नत्र मार्नेसम्मको योजना बनाइएको छ ।’ नगरवासीको बिमा कार्यक्रमको तयारी पनि गरिएको गौलीले बताए ।


फलामको खोरमा चितुवालाई नियन्त्रण गर्न नसकेपछि परम्परागत काठको खोरमा बाख्रासहितको पासो थापिएको डिभिजन वन कार्यालय प्रमुख केदार बरालले बताए । उनले भने, ‘चितुवा प्रभावित वडाको सामुदायिक वन क्षेत्रमा ९ काठको खोर, २ आधुनिक खोर बनाइएको छ ।’ वन्यजन्तु विज्ञ डा. नरेश सुवेदीले चितुवाको आनीबानी पहिचान गरी नियन्त्रणमा लिनुपर्ने बताए । ‘चितुवालाई मार्न भन्दा जीवितै नियन्त्रणमा लिने प्रयास गरिनेछ,’ उनले भने ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?