२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सिउरुङमा बन्यो क्होइँबो धीं

कान्तिपुर संवाददाता

(लमजुङ) — गुरुङको प्ये (शास्त्र) र छ्या (संस्कार) सिक्ने र सिकाउने पाठशालाका रूपमा चिनिएको क्होइँबो धीं निर्माणमा जिल्लाका गुरुङ समुदाय एकजुट भएका छन् । सदरमुकाम बेंसीसहरमा तमु प्ये ल्हे संघ जिल्ला कार्य समितिले क्होइँबो धीं निर्माण गरिरहेको समय मर्स्याङदी गाउँपालिका–३ सिउरुङबासीले पनि बनाएका छन् । क्होइँबो धींमा गुरुङ समुदायका पुरोहित घ्याब्रे, पच्यु, बोन्पो लम आदि सिकाइन्छ । पुरोहित गुरुङ समुदायको जन्मदेखि मृत्यु संस्कारका लागि चाहिन्छ ।

सिउरुङमा बन्यो क्होइँबो धीं

गुरुङ समुदायका हरेक संस्कारमा प्ये मौखिक पढिन्छ । मृत्यु संस्कारमा दिनरात पढ्नुपर्ने शास्त्र मौखिक भएपछि यसलाई सिक्ने र सिकाउने ठाउँको रुपमा क्होइँबो धींको आवश्यक परेको स्थानीयले बताए । तमु प्ये ल्हु संघ सेरे नाँसा (सिउरुङ गाउँ) इकाई क्होइबो धीं निर्माण समितिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार देशविदेशमा रहेका स्थानीयको सहयोगमा क्होइँबो धीं निर्माण गरिएको हो । यसबाट गुरुङ जातिको धर्म, इतिहास, शास्त्र, संस्कार, संस्कृति, भाषा सिक्न र सिकाउन मद्दत पुग्छ । यसबारे अध्ययन गर्न पनि क्होइँबो धींले सहयोग गर्छ ।


क्होइँबो धीं निर्माण समितिका सचिव गणेशबहादुर गुरुङका अनुसार गुरुङ जातिले सदियौंदेखि कूल धर्म ‘बोन’ मान्दै आएको छ । नयाँ पुस्ता धेरैले यसबारे ज्ञान नभएको र नयाँ पुस्तामा धर्म, संस्कारसंस्कृति, भाषा हस्तान्तरण गर्न क्होइँबो धीं आवश्यक परेको उनले बताए । ‘क्होइँबो धींमा हामी पुरोहितका शिष्य उत्पादन गर्छौं’ उनले भने । कोषाध्यक्ष शान्ताकाशी गुरुङले १६ लाख ५२ हजार ६ सय ५२ रुपैयाँमा क्होइँबो धीं निर्माण गरिएको बताइन् ।


तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष मिलबहादुर गुरुङले बेंसीसहरमा क्होइँबो धीं निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए । यसअघि घलेगाउँमा क्होइँबो धीं निर्माण गरिएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले संस्कार र संस्कृतिबिना मानिसका हरेक कार्य अपुरो र अधुरो हुने भन्दै क्होइँबो धीं निर्माणकार्य गाउँगाउँमा सुरु गरिएको बताए ।


प्रकाशित : कार्तिक १९, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?