‘मृत्यु पथ’ बन्दै ग्रामीण सडक

घनश्याम खड्का

(म्याग्दी) — ग्रेड तथा घुम्ती नमिलेका साँघुरा ग्रामीण सडक यात्राको सुरक्षित मार्ग नभइ यात्रुको ‘मृत्यु पथ’ बन्दै गएका छन् । जिल्लाको पश्चिम मालिका गाउँपालिकामा पछिल्लो ३ दिनमा भएका २ दुर्घटनामा ६ जनाको अकालमा ज्यान गएको छ । उपभोक्ता समिति र डोजरका अपरेटर ‘प्राविधिक’ भै गाउँ–गाउँमा सडक पुर्‍याउने लहरसँगै बर्सेनि मानवीय क्षति हुने गरी ठूला दुर्घटना भइरहेका छन् । 

शुक्रबार मालिका–२ रुमको ताक्सेमा साँघुरो उकालो सडकमा यात्रु भार तान्न नसक्दा बोलेरो जिप दुर्घटना हुँदा सवार २ को घटनास्थलमै मृत्यु भयो । आइतबार साँघुरो सडकको घुम्तीमा बस मोड्न नसक्दा माइक्रो बस सडकदेखि तल खस्दा ४ को मृत्यु भयो । ‘जिल्लाका प्रायः सवारी/सडक दुर्घटनामा चालकको लापरबाहीभन्दा सडकको अवस्था बढी दोषी छ । अझ दक्ष मिस्त्री नहुँदा जीर्ण सवारी साधन पनि उस्तै दोषी छन्,’ प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘जनप्रतिनिधि, प्राविधिक र उपभोक्ता सबैको ध्याउन्न सडक/ट्याक खोल्ने मात्र छ, यात्रुको सुरक्षा र सडकको गुणस्तरमा पटक्कै चासो देखिन्न ।’

‘सडक निर्माणमा ध्यान पुर्‍याउन नसक्दा वा लापरबाहीले बर्सेनि ठूलो मानवीय क्षति व्यहोर्नुपरेको स्थानीयले बताए । ‘गाउँका सडक आफ्नै मृत्युपथ भएका छन्’ नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले भने, ‘गुणस्तरीय र मापदण्ड अनुसारको सडक निर्माणमा नागरिक तहबाटै ठूलो दबाब जरुरी देखिएको छ ।’ उपभोक्ता समिति जुनसुकै अपारदर्शी भएको र सडकको गुणस्तरमा ध्यान नदिएको उनले आरोप लगाए ।

जिल्लाका सबै ६ स्थानीय तहको चालु आवको बजेटमा सडकलाई प्राथमिकता दिइएको छ । मालिकाले ६ मिटरभन्दा साँघुरा सडकमा लगानी नगर्ने नीति लिएको छ । तर, पनि सोही गापामा दुई दुर्घटना साँघुरो सडककै कारण भएको छ । गाउँपालिकाले चालु वर्षमा सडक स्तरोन्नति गर्न ५ करोड बजेट विनियोजन गरेको छ । जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएर गाउँतर्फ मोटरबाटो उकालो लाग्न थालेपछि ०६५ देखि हरेक वर्ष यहाँका सडकमा ठूलो मानवीय क्षति हुने गरी सडक दुर्घटना भइरहेको छ ।

प्रहरी अभिलेखअनुसार जिल्लामा पछिल्लो ४ महिनामा ३ दुर्घटनामा ५ पुरुष र ३ महिलाको ज्यान गएको छ । ४० घाइते भएकोमा ७ जनाको अवस्था अझै गम्भीर छ । आइतबार मालिका–७ विममा भएको बस दुर्घटनामा घाइते ३१ मध्ये ८ जनालाई पोखरा रिफर गरिएको छ ।

तथ्याङ्कअनुसार जिल्लामा पहिलो मानवीय क्षति हुनेगरी ०६५ असोज १६ मा बेनी–दरवाङ सडकको तोलावाङमा नम्बरको बस दुर्घटनामा पर्दा तीनयात्रुको ज्यान गएको थियो । ०६६ साउन १२ मा सोही सडकको डम्बरामा माइक्रोबस दुर्घटनामा पर्दा ७ यात्रुले ज्यान गुमाएका थिए । त्यसैगरी ०६७ असोज १९ मा बेनी–जोमसोम सडकको बाँदरजुङमा जिप दुर्घटनामा १४, ०६८ साउन ७ मा बेनी–गलेश्वर खण्डमा ट्याक्सी दुर्घटनामा ८ जनाको ज्यान गएको थियो । ०६८ असोजमा बेनी–दरवाङ सडकको रणवाङमा मिनीबस सडकबाट खस्दा १३, ०७० कात्तिक १४ मा बेनी–पर्वत लेकफाँट–नागी सडकको खोलाखेत सडक खण्डमा जिप खस्दा १४, ०७१ असोजमा तिप्ल्याङ–राम्चे सडकको रिमा खण्डमा जिप खस्दा १३ र ०७२ कात्तिकमा बेनी–बरंजा सडकको थामडाँडामा मिनीमाइक्रो बस खस्दा दुई बालकसमेत तीनजनाको अकालमा ज्यान गएको थियो । ०७४ मा ८ वटा सवारी दुर्घटनामा ३ महिला, २ बालबालिका समेत १२ जनाको ज्यानगएको थियो । ०७५ मा ४ सवारी दुर्घटनामा ३ महिला समेत ५ जनाको र चालु आवको पहिलो चार महिनामा ३ दुर्घटनमा ८ जनाको ज्यान गएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ ०९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दंग पाका पुस्ता

हरिराम उप्रेती

(गोरखा) — ५ दशक अघिसम्म उपभोग्य सामग्री लिन धार्चे गाउँपालिका–५ लप्सीबोटका गजमान गुरुङ नुवाकोटको त्रिशूली बजार पुग्थे । ‘नजिक बजार थिएन,’ उनले भने, ‘ओढारमा बस्दै खोले खाँदै नुवाकोट पुग्थ्यौँ ।’ गोरखा आरुघाट, धादिङको सल्यानटार हुँदै नुवाकोटको त्रिशूली पुगेर खर्च लिएर फर्किएको ८० वर्षीय गजमानको मानसपटलमा अझै ताजै छ । 

नुन, तेल, चामल र लुगा लिएर फर्कंदा लडेर घाइते बनेपछि भने गुरुङ यसरी पैदलयात्रा गर्न सकेनन् । उनी शारीरिक रूपमा अपांग छन् । करिब ३८ वर्षको उमेरमा खर्च लिएर फर्किंदै गर्दा लडेर खोंचमा खसेपछि खुट्टामा समस्या देखिएको उनले बताए । ‘साउने संक्रान्तिका लागि खर्च लिन साथीसहित गएको थिएँ, एकबोरा चामल पिठ्युमा थियो, लापुको भीरकुनानेर चिप्लिएर खोंचमा पुगेछु,’ उनले सम्झिए, ‘खोचमा झरेको मान्छे त्यो बेला बाँच्छ भनेर कसैले सोचेनन् रे, सँगै गएका साथीले खोचबाट उद्घार गरेर घर पुर्‍याए, खुट्टा र कम्मरको भाग साह्रै दुख्यो, गाउँकै धामीसँग उपचार गराएँ ।’ गाउँमा स्वास्थ्यचौकी थिएन । उपचारका लागि सहर झर्न सकिएन । ‘धामीले जडीबुटी लगाएर सिन्काले बेरेर राखे,’ उनले भने, ‘अढाई वर्षपछि अलि अलि–हिँड्न सक्ने भएँ ।’ अहिले उनी घरायसी कामबाहेक गाउँ डुल्नसम्म सक्दैनन् । सहारा चाहिन्छ । दैनिक उपभोग्य सामग्री खरिदका ज्यानको बाजी लगाएर पैदलयात्रा गर्नुपर्ने बाध्यता अहिले हटेको छ । अहिले कच्ची भए पनि गाउँमा मोटरबाटो पुगेको छ । किराना पसल खुलेका छन् । गाउँमै स्वास्थ्य चौकी छ । ‘पहिले बजार पुग्नै दुःख थियो, ३/४ दिन हिँडे गाडी देख्न पाइन्थ्यो,’ उनले थपे, ‘अहिले गाउँ–गाउँमा कच्ची भए पनि सडक आयो, ती जमाना कहाँ पुगे ।’

लप्सीबोटकै ८५ वर्षीय जितबहादुर गुरुङ पनि यतिबेला दंग छन् । उनी दैनिक उपभोग्य सामग्री खरिदका लागि ११–१२ वर्षकै उमेरदेखि त्रिशूली बजार जान्थे । पाँच दशक अघिसम्म चाडबाड नजिकिँदै गर्दा यहाँका स्थानीयलाई बजार नझरी सुखै थिएन । ‘अहिले एकै दिनमा गाडी मोटरसाइकल गाउँमा आइपुग्छ, ट्र्याक्टर चलेको छ,’ उनले भने, ‘त्यो बेला हिँडेर काठमाडौं पुग्न ७–८ दिन लाग्थ्यो, अहिले जमाना फेरिएको छ ।’

समय परिवर्तनसँगै सुख बढेको उनले बताए । ‘त्यो बेला चामलको भात खान चाडबाड कुर्नुपर्थ्यो, खोले खाएर यो उमेर भयो,’ उनले भने, ‘अहिले पैसा भए जे खान पनि पाइन्छ, बुढेसकाल लाग्यो, स्वास्थ्यले खान मन लागेको कुरा खान नपाइने, जान मन लागेको ठाउँमा हिँड्न नसकिने ।’ दुर्गमको ठाउँ भएकाले यस्तो दुःख खेप्नुपरेको उनको भनाइ छ । ‘लाहुरेको भारी बोकेर त्यो बेला एक रुपैयाँ ज्याला पनि लिएको छु,’ जितबहादुर भन्छन्, ‘अहिले भएको भए हजार भन्थें, अहिले लाखको कुरा गर्नै छाडे करोडका कुरा गर्ने जमाना आयो ।’

पृथ्वीराजमार्गको ट्र्याक खुलेपछि २०३२ सालबाट यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री लिन त्रिशूली पुग्न परेन । यहाँका स्थानीय उपभोग्य सामग्री खरिदका लागि तनहुँको आँबुखैरेनी जान थाले । राजमार्गको ट्र्याक खोल्दा यहाँका केही स्थानीय मदजुरीसमेत गर्थे । ३ दिनको पैदलयात्रा गरे गोरखा सदरमुकाम र आँबुखैरेनीसम्म पुगिने स्थानीय उत्तरकुमारी गुरुङले सुनाइन् । ‘आलु बोकेर जान्थ्यौं, बेच्थ्यौं, चामल लिएर फर्किन्थ्यौं,’ उनले भनिन् । दिनभर मेलापात गरेर ३ रुपैयाँ ज्याला पाइने र सोही रकम संकलन गरेर उपभोग्य सामग्री खरिदका लागि पुग्ने गरेको उनले सुनाइन् । ‘गाउँमा धान खेती नहुने, खानेकुरा केही पाइन्थेन, बजार जानैपर्ने बाध्यता थियो,’ उनले भनिन् ।

अहिले गाउँमा उत्पादित आलु बिक्री गर्न पिठ्यूँमा बोकेर बजार झर्नु पर्दैन । ‘१५ पाथीदेखि एक मुरीसम्म आलु बोकेर जान्थ्यौँ, हिंडेर तीन दिनमा गोरखा बजार पुगिन्थ्यो,’ गुम्दाकी सुमती गुरुङले भनिन्, ‘आलु किन्नुहुन्छ भन्दै बजार घुमाउँदा एक दिन बढी खर्च लाग्थ्यो, केही वर्षअघि खच्चड आयो, खच्चडले बोकाएर बिक्रीका लागि लान्थ्यौं, अहिले त गाउँमै ट्र्याक्टर लिएर आलु किन्न आउँछन् ।’

अहिले गुम्दाका किराना पसलमा आवश्यक सामग्री पाइन्छ । चार–पाँच घण्टा पैदल हिँडे आरुघाट बजार पुगिन्छ । नजिकै माछाखोला बजार छ । दुर्गमवासीलाई लक्षित गरी माछाखोलामा खाद्य संस्थानले सहुलियत दरमा चामल उपलब्ध गराउँदै आएको छ । तिब्बत सीमा लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्न काम सुरु भएको छ । समय परिवर्तनसँगै विकासका कामको सुरुवात देखेका पाका पुस्ता दंग छन् ।

गोरखाका धार्चे गाउँपालिका–७ लापुस्थित खानीगाउँमा गफिँदै पाका पुस्ता । तस्बिर : हरिराम/कान्तिपुर

प्रकाशित : कार्तिक १९, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT